अब एन्ड्रोइड फोनमा समेत थर्डपार्टी एप डाउनलोड गाह्रो हुने, गुगलले ल्यायो २४ घण्टा कुर्नुपर्ने नयाँ नियम
चैत ६, २०८२ ८:५०
काठमाडौँ । गुगलले एन्ड्रोइड इकोसिस्टमलाई थप सुरक्षित बनाउन र प्रयोगकर्ताहरूलाई स्क्याम (ठगी) बाट जोगाउन एउटा नयाँ र केही जटिल प्रक्रियाको रूपमा 'एड्भान्स्ड फ्लो' सार्वजनिक गरेको छ । यो नयाँ नियम लागु भएपछि अपरिचित वा प्रमाणीकरण नभएका डेभलपरहरूबाट एप इन्स्टल गर्न (जसलाई साइडलोडिङ भनिन्छ) प्रयोगकर्ताहरूले एक विशेष र समय लाग्ने प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।
गुगलका एन्ड्रोइड एप सुरक्षा निर्देशक म्याथ्यु फोरसिथका अनुसार एन्ड्रोइडले सधैँ खुलापन र सुरक्षा दुवैलाई प्राथमिकता दिँदै आएको छ । हालैका वर्षहरूमा सोसल इन्जिनियरिङ र स्क्यामका घटनाहरू तीव्र रूपमा बढेका छन् ।
ग्लोबल एन्टी-स्क्याम अलायन्स (GASA) को २०२५ को प्रतिवेदन अनुसार ५७ प्रतिशत वयस्कहरू स्क्यामको शिकार भएका छन्, जसका कारण विश्वभरका उपभोक्ताहरूले ४४२ अर्ब अमेरिकी डलर गुमाउनुपरेको छ । स्क्यामरहरूले प्रायः पीडितलाई फोनमै राखेर डर देखाउँदै सुरक्षा सेटिङहरू बन्द गर्न र वैधानिक नभएका सफ्टवेयरहरू इन्स्टल गर्न बाध्य पार्ने गर्छन् । यही समस्यालाई सम्बोधन गर्न गुगलले 'एड्भान्स्ड फ्लो' ल्याएको हो ।
यो एक पटक मात्र गर्नुपर्ने प्रक्रिया हो, जसमा मुख्य गरी २४ घण्टाको प्रतीक्षा अवधि (waiting period) अनिवार्य गरिएको छ । यसका चार वटा चरणहरू तय गरिएका छन् । जसअनुसार पहिलो प्रयोगकर्ताले सुरुमा सिस्टम सेटिङमा गएर 'डेभलपर मोड' सक्रिय गर्नुपर्छ । यसले अनजानमा हुने 'वन-ट्याप' बाईपासलाई रोक्छ । दोस्रोमा प्रयोगकर्तालाई कसैले फोन वा रिमोट एक्सेस मार्फत सेक्युरिटी सेटिङ बन्द गर्न निर्देशन दिइरहेको छैन भन्ने कुराको सुनिश्चितताका लागि एउटा जाँच गरिन्छ । जसलाई Confirming no coaching नाम दिइएको छ ।
त्यस्तै प्रयोगकर्ताले आफ्नो फोन रिस्टार्ट गर्नुपर्छ, जसले स्क्यामरले प्रयोग गरिरहेको कुनै पनि सक्रिय फोन कल वा रिमोट एक्सेसलाई काटिदिन्छ । चौथो अर्थात् सबैभन्दा महत्त्वपूर्ण चरण हो, २४ घण्टाको प्रतीक्षा अवधि । प्रयोगकर्ताले एक दिन (२४ घण्टा) कुर्नुपर्ने हुन्छ । यो समय स्क्यामरको 'तत्काल गर्नुपर्ने' भन्ने दबाबलाई तोड्न र प्रयोगकर्तालाई सोच्न समय दिनका लागि राखिएको हो ।
प्रतीक्षा अवधि सकिएपछि प्रयोगकर्ताले अन्तिम चरणको रूपमा आफ्नो बायोमेट्रिक (औँठाछाप वा फेस अनलक) वा पिन प्रयोग गरी आफू नै यो परिवर्तन गर्न चाहने व्यक्ति हो भन्ने पुष्टि गर्नुपर्छ । त्यसपछि मात्र अनभेरिफाइड डेभलपरका एपहरू ७ दिनका लागि वा सधैँका लागि इन्स्टल गर्न सकिनेछ ।
गुगलले सबैका लागि एउटै नियम व्यावहारिक नहुने भन्दै विद्यार्थी र सौखिन (hobbyist) डेभलपरहरूका लागि 'लिमिटेड डिस्ट्रिब्युसन अकाउन्ट' को व्यवस्था पनि गरेको छ । यस अन्तर्गत कुनै पनि सरकारी परिचयपत्र वा दर्ता शुल्क बिना नै २० वटासम्म डिभाइसमा आफ्ना एपहरू परीक्षणका लागि शेयर गर्न सकिनेछ ।
यो नयाँ 'एड्भान्स्ड फ्लो' आगामी अगस्ट महिनादेखि उपलब्ध हुनेछ । सेप्टेम्बर २०२७ देखि ब्राजिल, इन्डोनेसिया, सिङ्गापुर र थाइल्याण्डका डेभलपरहरूका लागि सरकारी परिचयपत्र सहितको अनिवार्य प्रमाणीकरण लागु हुनेछ भने सन् २०२७ देखि यो नियम विश्वभर लागु हुनेछ ।
यद्यपि गुगलको यो कदमको डेभलपर कम्युनिटीमा आलोचना पनि भइरहेको छ । 'किप एन्ड्रोइड ओपन' अभियानले यसलाई एन्ड्रोइडको खुलापन र गोपनीयतामाथिको प्रहार भनेको छ । कतिपय डेभलपरहरूले यसलाई गुगलको 'अत्यधिक हस्तक्षेप' भन्दै यसले विश्वभरको स्वतन्त्र मोबाइल कम्प्युटिङलाई निषेध गर्ने चेतावनी दिएका छन् । तर गुगलले भने यो केवल पावर प्रयोगकर्ताहरूका लागि एउटा सुरक्षित विकल्प मात्र भएको दाबी गरेको छ ।
पछिल्लो अध्यावधिक: चैत ६, २०८२ ८:५०
