आफू अमेरिकी आर्मी भएको बताउँदै टिकटकबाट नेपाली महिला ठगी गरेको आरोपमा स्याङ्जाका १ युवक पक्राउ
चैत ६, २०८२ १०:३७
काठमाडौँ । आफूलाई अमेरिकी सेना बताएर सामाजिक सञ्जालमार्फत महिलाहरूलाई ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका घर भएका ३४ वर्षीय भेषराज वाग्ले रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौँको चन्द्रागिरि नगरपालिका-७, थानकोटबाट मङ्गलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार वाग्लेले अनलाइनमा आफ्नो नाम ‘विशाल थापा क्षेत्री’ बताउने गरेका थिए । उनले विशेषगरी महिलाहरूलाई लक्षित गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
यसरी गर्थे ठगी
काठमाडौँ प्रहरीका अनुसार आरोपी वाग्लेले सुरुमा सामाजिक सञ्जाल टिकटक मार्फत महिलाहरूसँग चिनजान गर्थे । त्यसपछि उनीहरूसँग ह्वाट्सएप नम्बर मागेर नेपाली नम्बर ‘+९७७९७१३५८८१७७’ बाट कुराकानी गर्थे ।
कुराकानीका क्रममा उनले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको र हाल बिदामा नेपाल आएको भन्दै महिलाहरूलाई विभिन्न प्रलोभनमा पार्थे । त्यसपछि आफूले ल्याएका सामानको भन्सार/कर तिर्नुपर्ने बहाना बनाउँदै आफ्नो बैङ्क खाताको लिमिट सकिएको भन्दै सम्पर्कमा आएका महिलाहरूसँग रकम माग्थे । रकम पाएपछि सम्पर्क विहीन हुन्थे ।
प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेका वाग्लेलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

पछिल्लो अध्यावधिक: चैत ६, २०८२ १०:३८
