सामााजिक सञ्जाल र डिजिटल वालेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा २६ वर्षीय युवक पक्राउ
चैत ६, २०८२ १४:५४
सांकेतिक तस्बिर
काठमाडौँ । सामाजिक सञ्जाल र अनलाइन भुक्तानी प्लेटफर्म प्रयोग गरी अवैध रूपमा अनलाइन जुवा (सट्टेबाजी) खेलाएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा बस्ने २६ वर्षीय मोहन लुइँटेल रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मङ्गलबार उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित शिवचोकबाट नियन्त्रणमा लिएको थियो ।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेका लुइँटेलको साथबाट बरामद गरिएका डिजिटल डिभाइसहरूको सूक्ष्म अनुसन्धान गर्दा सट्टेबाजीको रहस्य खुलेको हो । अनुसन्धानका क्रममा उनले ‘गेम रुम’, ‘गेम भल्ट’, ‘जुवा’ र ‘लस भेगास’ जस्ता विभिन्न अनलाइन बेटिङ साइटमार्फत मानिसलाई डिजिटल वालेट खोल्न लगाउने गरेको पाइएको छ । यसरी वालेट खोल्न लगाई विदेशी भुक्तानी सङ्कलन गरेर उनले अनलाइन जुवा खेलाउने गरेको प्रहरी उपरीक्षक भट्टको भनाइ छ ।
प्रहरीले पक्राउ परेका लुइँटेलको साथबाट सट्टेबाजीमा प्रयोग गरिएका डिभाइस, सवारीसाधन र नगद समेत बरामद गरेको छ । बरामद सामग्रीमा कन्सिस्टेन्ट, डेल र एमएसआई कम्पनीका एक-एक थान गरी जम्मा तीन थान कम्प्युटर मोनिटर तथा हाइड्रियो मोडलको एक थान सीपीयू रहेका छन् । यसैगरी एप्पल कम्पनीको एउटा आईप्याड र एउटा कालो रंगको आईफोन पनि बरामद गरिएको छ । यसका साथै हिरो एक्सपल्स मोटरसाइकल र नेपाली नगद ३६ हजार रुपैयाँ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका मोहन लुइँटेलमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अगाडि बढाउन उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत ६, २०८२ १५:११
