सर्वोच्च अदालतका सबै किसिमका आदेश अब सोही दिन वेबसाइटमा आउने, यस्तो छ हेर्ने तरिका
साउन ११, २०८३ १९:४४
काठमाडौँ । अब सर्वोच्च अदालतबाट हुने जुनसुकै आदेशको चिर्कटो सार्वजनिक रूपमा हेर्न सकिने भएको छ । सोमबार (११ साउन) देखि सर्वोच्चले आदेश भएको दिन नै यसको फाइल अपलोड गर्न सुरु गरेदेखि अब जोसुकैले पनि आदेश हेर्न मिल्ने भएको हो ।
यसअघि सर्वोच्चले मुद्दाको फैसलामात्र वेबसाइटमा सार्वजनिक गर्दै आएको थियो । अबदेखि भने सबै इजलासबाट हुने आदेशहरू सार्वजनिक गर्ने अभ्यास सुरु गरेको सर्वोच्चका प्रवक्ता सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले बताए । उनका अनुसार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको निर्देशन अनुसार सो अभ्यास सुरु गरिएको हो ।
उनले भने, “आजदेखि सर्वोच्चबाट यो अभ्यास सुरु गरेको छ । अब यसलाई बिस्तारै तल्लो तहका अदालतहरूमा पनि लागु गरिन्छ ।”
पहिलो दिन भएकाले सोमबार भने सबै आदेशहरू अपलोड भने नभएको उनले बताए ।
“प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासबाट भएका केही आदेशहरू र न्यायाधीश विनोद शर्माको इजलासले गरेको आदेशहरूका फाइल वेबसाइटमा सार्वजनिक भएको छ । अब विस्तारै सबै इजलासको आदेश राख्छौँ । सबै इजलासको आदेश वेबसाइटमा राख्न चाहिँ केही दिन लाग्न सक्छ ।”
कसरी हेर्न सकिन्छ आदेश ?
-
सबैभन्दा पहिला सर्वोच्च अदालतको वेबसाइट ‘https://supremecourt.gov.np/’ मा जानुहोस् ।
-
त्यसपछि वेबसाइटको माथिल्लो भागमा रातो पृष्ठभूमिमा सेतो अक्षरमा लेखिएको ‘दैनिक पेसी सूची’मा क्लिक गर्नुहोस् ।

-
अब मुद्दाको पेसी मिति र इजलास रोज्नुहोस् र ‘खोज्ने’ मा क्लिक गर्नुहोस् ।

-
त्यसपछि इजलास र न्यायाधीशहरूको सूची खुल्छ । त्यसलाई स्क्रोल गर्दा तल्लोपट्टि आफूले रोजेको इजलास र रोजेको दिनमा भएका विभिन्न पेसीको विवरण खुल्छ ।
-
अब आफूलाई जुन पेसीको फैसला चाहिएको छ त्यसमा हेर्नुको सबैभन्दा दायाँतर्फ आदेश फैसलाको किसिम र ‘फाइल हेर्नुहोस्’ अप्सन देखिन्छ । ‘फाइल हेर्नुहोस्’ मा क्लिक गर्नुहोस् ।

-
यति गरेपछि अब आदेशको पीडीएफ फाइल खुल्छ । जहाँबाट आदेश पढ्न सकिन्छ भने डाउनलोड गर्ने समेत विकल्प पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ १९:४४
