फेसबुक फ्रेन्ड रिक्वेस्ट पठाउनेसँग बिहे गरी क्यानडा जाने प्रलोभनमा पर्दा युवतीले गुमाइन ९ लाख
साउन १२, २०८३ ८:१४
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा जाने र राम्रो आम्दानी गर्ने सपना बुनेकी एक नेपाली युवती सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले थापेको जालमा परेकी छन् । फेसबुकमा फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेर सुरु भएको सामान्य कुराकानी अन्ततः विवाह गरी क्यानडा लैजाने र मासिक चार लाख रुपैयाँसम्म कमाइ हुने प्रलोभनसम्म पुग्दा ती युवतीले आठ लाख ७९ हजार रुपैयाँ गुमाउनुपरेको हो ।
ठगिएको थाहा पाएपछि पीडित सबनम ढकाल (परिवर्तित नाम) ले प्रहरीमा उजुरी दिएकी थिइन् । जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले गरेको प्राविधिक अनुसन्धान पुरा गरेको छ । सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ठगी सम्बन्धी कसुरमा अभियोग पत्र समेत दायर गरेको हो ।
अभियोग पत्रमा रूपन्देहीका ३७ वर्षीय भिम जीके र अर्घाखाँचीका ६५ वर्षीय राजेन्द्रबहादुर रजालीलाई प्रतिवादी बनाइएको छ । जसको बैंक खाता र इसेवा वालेट प्रयोग गरी ठगीको रकम भुक्तानी लिइएको थियो ।
यसरी बुनियो जाल
वैदेशिक रोजगारीको खोजीमा रहेकी सबनमले सामाजिक सञ्जाल फेसबुकमा नबु क्षेत्री नामक अकाउन्टबाट आएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेकी थिइन् । सामान्य चिनजानपछि उनीहरूबिच टिकटकमा जोडिए र त्यहीं कुराकानी हुन थाल्यो । कुराकानीकै क्रममा 'नबु क्षेत्री'ले आफू डिभोर्सी पुरुष भएको, क्यानडाको पीआर रहेको र आफूसँग विवाह गरेर क्यानडा गएमा मासिक ४ लाख रुपैयाँसम्म आम्दानी हुने प्रलोभन देखाए । सबनमलाई उनले सजिलै विश्वासमा पारे ।
त्यसपछि नबु क्षेत्रीले ह्वाट्सएपमा कुरा गर्न भन्दै सबनमको मोबाइल नम्बर मागे । सबनमले आफ्नो नम्बर उपलब्ध गराएपछि उनले ह्वाट्सएपमा फोन गरी आफू हाल तीन महिनाका लागि नेपाल आएको बताए ।
भिसा प्रक्रिया अगाडि बढाउन भन्दै 'नबु क्षेत्री'ले सुरुमा ७ लाख रुपैयाँ लाग्ने र बाँकी रकम आफैँले ब्यहोर्ने आश्वासन दिए । उनले रकम जम्मा गर्नका लागि प्रतिवादी राजेन्द्र बहादुर रजालीको नाममा रहेको सिटिजन्स बैंकको खाता नम्बर पठाए । सबनमले सो खातामा विभिन्न मितिमा रकम जम्मा गरिन् ।
तर, केही समयपछि 'रकम नपुगेको' भन्दै थप ४ लाख रुपैयाँ जम्मा गर्न दबाब दिइयो । यस पटक रकम पठाउनका लागि अर्का प्रतिवादी भिम जीकेको इसेवा नम्बर उपलब्ध गराइयो र सबनमले त्यसमा पनि विभिन्न मितिमा रकम जम्मा गरिन् ।
रकम बुझिसकेपछि पनि जालझेल रोकिने छाँट थिएन । 'तपाईंको भिसा प्रोसेस भइसकेको छ तर केही कागजात अझै मिलेन, थप रकम जम्मा गर्नुस्, नभए पहिला भएको खर्च समेत फिर्ता हुँदैन' भन्दै सबनमलाई त्रास देखाइयो । यो परिबन्धमा परेर सबनमले कूल ८ लाख ७९ हजार रुपैयाँ विभिन्न खातामा पठाइसकेकी थिइन् । पछि आफू ठगिएको थाहा पाएपछि उनले साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।
यो ठगी प्रकरणमा पीडितलाई पूर्ण विश्वास दिलाउन क्यानेडियन कम्पनीहरूको नक्कली अफर लेटर र वर्क एग्रिमेन्ट समेत प्रयोग भएको पाइएको छ । साइबर ब्युरोले प्राविधिक तथा डिजिटल पक्षलाई समेटेर यो घटनाको विस्तृत अनुसन्धान गरेको छ । अनुसन्धानकै क्रममा ब्युरोले २ जुलाई २०२६ मा ह्वाट्सएप इंकलाई आवश्यक विवरण उपलब्ध गराउन पत्राचार समेत गरेको थियो ।
यसका साथै सिटिजन्स बैंक इन्टरनेसनल र इसेवा प्रालिबाट प्राप्त बैंक स्टेटमेन्ट र भौचरहरूलाई प्रमुख प्रमाणका रूपमा सङ्कलन गरिएको छ । आरोपी प्रतिवादीहरूको विवरण माग गर्न राष्ट्र बैंक, नेपाल टेलिकम र भूमिसुधार व्यवस्थापन तथा अभिलेख विभागलाई समेत पत्राचार गरिएको थियो ।
अभियोग पत्र दायर हुँदाका बखत दुवै प्रतिवादीहरू भिम जीके र राजेन्द्रबहादुर रजाली फरार रहेका छन् । रूपन्देही बुटवलका भिम जीके र अर्घाखाँची सितगंगाका राजेन्द्रहादुर रजालीलाई पक्राउ गर्न अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ ।
अनुसन्धानका क्रममा प्राप्त भएको सीआरएस अभिलेख अनुसार ६५ वर्षीय रजाली विरुद्ध जिल्ला प्रहरी कार्यालय रूपन्देही मार्फत बैंकिङ कसुर मुद्दा समेत दर्ता भई अनुसन्धान/कारबाहीको प्रक्रियामा रहेको खुलेको छ ।
ठगी गर्ने मुख्य योजनाकार 'नबु क्षेत्री' भनिने अज्ञात व्यक्तिको भने यकिन नामथर र वतन खुल्न बाँकी छ । निजको पहिचान खुलेपछि र यस घटनामा अन्य कोही संलग्नता फेला परेमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दावी (पूरक अभियोग पत्र) लगिने अभियोग पत्रमा उल्लेख छ ।
८ साउनमा काठमाडौं जिल्ला अदालतमा दर्ता अभियोग पत्रमा प्रतिवादी विरुद्ध कडा कानुनी सजाय र क्षतिपूर्तिको मागदाबी लिइएको छ ।प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको ठगी कसुरमा सोही संहिताको उपदफा (३) को खण्ड (ग) अनुसार अधिकतम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना गर्न माग गरिएको छ ।
त्यस्तै मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादी राजेन्द्रबहादुर रजालीको तर्फबाट ५ लाख ५१ हजार रुपैयाँ र भिम जीकेको तर्फबाट ३ लाख २८ हजार रुपैयाँ गरी कूल ८ लाख ७९ हजार रुपैयाँ पीडित सबनम ढकाललाई भराइदिन मागदाबी गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८३ ८:१४
