close

ज्ञानेन्द्र शाहीले ‘कठघरा’ मा विनयजङ्ग बस्नेतसँग कमेडी गरेँ भनेको भिडिओको के हो वास्तविकता ?

टेकपाना टेकपाना

चैत ९, २०८२ २२:४२

ज्ञानेन्द्र शाहीले ‘कठघरा’ मा विनयजङ्ग बस्नेतसँग कमेडी गरेँ भनेको भिडिओको के हो वास्तविकता ?

काठमाडौँ । टेलिभिजन कार्यक्रम ‘कठघरा’ मा आफूले इन्डियन एरोनटिक्समा काम गर्ने अवसर पाएको भन्दै मजाक गरेको अभिव्यक्ति दिएपछि ज्ञानेन्द्र शाही विवादित भएका छन् । १८ मार्चमा प्रसारण भएको रियालिटी कार्यक्रम ‘कठघरा’ को तेह्रौँ एपिसोडमा अतिथिका रूपमा जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद ज्ञानेन्द्र शाही उपस्थित भएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक्ला प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका शाहीलाई कार्यक्रम सञ्चालक टीकाराम यात्रीले शाहीमाथी शैक्षिक योग्यताका बारेमा झुटा कुरा बोलेको आरोप लाग्ने गरेको भन्दै प्रश्न गरेका थिए । शाहीले  सुरुवाती दिनमा दिल्लीमा चार्टेड अकाउन्टेन्सी (सीए) उत्तीर्ण गरेको, नासाबाट छात्रवृत्ति पाएको बताउँदै आफ्ना शैक्षिक योग्यताका बारेमा किन अतिरञ्जना गरेको भन्दै प्रश्न गरेका हुन् । प्रश्न सोध्ने क्रममा प्रस्तोता टीकाराम यात्रीले एउटा भिडिओसमेत प्रस्तुत गरेका थिए । 

उक्त भिडिओमा शाहीले खादा र माला लगाएको देखिएका छन् । उक्त पुरानो भिडिओमा शाही बोलिरहेको सुन्न सकिन्छ । जहाँ शाहीले भनेका छन्, “इन्डियन एरोनटिक्समा मैले पनि त्यहाँ पनि काम गर्ने अवसर पाएको थिएँ, तर मैले पछि गरिन त्यहाँ । जुन अहिले उडिसामा छ । जसमा तपाईँको अग्नि ५ बनायो । त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि ५। तर मैले त्यतिखेर जब गरिन त्यो । कारण किनभने अर्काका देशका लागि म हतियार बनाउँदिन, किनभने नेपाल चाहिन्छ ।” 

उक्त भिडिओ ह‍ेरेपछि ‘कठघरा’ कार्यक्रममा शाहीले विनयजङ्ग बस्नेतसँग कमेडी गरेको भिडिओ भाइरल गराइएको दाबी गरेका छन् । विश्वास नलागे बस्नेतलाई ल्याएर ‘कठघरा’ कार्यक्रममा उभ्याउन सक्ने बताएका छन् ।

शाहीले भनेका छन्, “यो चाहिँ विनयजङ्ग बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडिओ बाहिर ल्याइदिएको हो । है ! तपाईँले विनयजङ्ग बस्नेतलाई ल्याएर यहाँ उभ्याउन सक्नुहुन्छ । अब खिचेर क-कसले हाल्दियो त मेरो बाउको के गयो । हैन, यो चाहिँ आधिकारिक हैन है । किनभने मैले आज यहाँ आएर उभिएर बताउनुपर्छ ।” 

कार्यक्रममा शाहीले नासामा छात्रवृत्ति पाएको कुरा पनि सत्यता नभएको, तर सीए भने पढेको बताएका छन् । सीएको “ग्रुप १ कटाएको तर ग्रुप २ बाँकी रहेको” उनले बताएका छन् । आमाको मृत्युपछि नेपाल फर्किएर अध्ययनलाई निरन्तरता दिन नसकेको दाबी उनले गरेका छन् । 

विनयजङ्ग बस्नेतको सार्वजनिक रूपमा आपत्ति 

‘कठघरा’को उक्त एपिसोड प्रिमियर भएपछि शाहीले कमेडी गरेको भनेका व्यक्ति विनयजङ्ग बस्नेतले सार्वजनिक रूपमा आपत्ति जनाइरहेका छन् । कठघराको उक्त विवादपछि विनयजङ्ग बस्नेतले टेलिफोन सम्पर्क गरेर ज्ञानेन्द्र शाहीलाई स्पष्टीकरण सोधेको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल टेलिफोन सम्पर्कको क्लिपमा शाहीले बस्नेतलाई कार्यक्रममा भनिएजस्तै मजाक गरेको बताउन भनेका छन् । 

बस्नेतले आफूलाई साथ दिएर ‘कमेडी कुरा हो’ नभनेमा आफ्नो मान्छे होइन भन्ने सोच्ने भन्दै शाहीले घुर्क्याएका छन् । 

भाइरल भिडिओ क्लिपमा विनयजङ्ग बस्नेतले सोधेका छन्, “अब के गर्ने त मैले ल भन ।” जवाफमा शाहीले भनेका छन्, “जे भन्नु ज्ञानेन्द्रले भनेको कुरा सही हो भन्दिने सकियो । अरू केही लामो कुरै छैन ।” 

बस्नेतले थप प्रश्न गरेका छन्, “उसले भनेको कुरा सहि हो भन्दिने मैले ? शाहीले जवाफ दिएका छन् “अँ, ज्ञानेन्द्रले जुन भनेको थियो सही हो, हाम्रो कमेडी गरेको हो त्यतिखेर । यत्ति भन्दिए पुग्यो, सक्कियो, कसैले सोध्यो भने ।” 

यस्तै बस्नेतले पत्रकार सम्मेलन समेत गर्दै शाहीको दाबी सत्यता नरहेको दाबी गरेका छन् । कार्यक्रममा त्यसरी आफ्नो नाम लिएकोमा चित्त नबुझेको उनले बताएका छन् । १९ मार्चमा भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् । युवराज खत्रीको ‘पीएनपी मिडिया’मा सार्वजनिक शाहीको अन्तर्वार्ताको क्लिप कठघरामा देखाइएको जानकारी पत्रकार सम्मेलनमा उनले दिएका हुन् । उक्त अन्तर्वार्ता आफूसँग मजाक गरेको विषय नभएको उनले स्पष्टीकरण दिएका छन् । 

के हो भिडिओको वास्तविकता ?

‘इन्डियन एरोनटिक्स’मा अफर आएको भन्दै मजाक गरेको भन्ने ज्ञानेन्द्र शाहीको दाबी साँचो नभएको भनेर बस्नेतले विभिन्न मिडियामा अन्तर्वार्ता दिएको पाइएपछि हामीले ‘कठघरा’ कार्यक्रममा देखाइएको भिडिओको स्क्रिनशट लिएर गुगल रिभर्स इमेज सर्च गर्‍यौँ । खोज्ने क्रममा पीएनपी मिडियाको लोगो सहितको सोही क्लिप फेला पर्‍यो । 

त्यसपछि हामीले ‘PNP Media ज्ञानेन्द्र शाही’ सर्च गर्‍यौँ । “विचरा माननीय ज्ञानेन्द्र शाही ज्युले कमेडी गरेको खिचेर यसरी बदनाम गर्ने को होला ? हतियारवाला पुरा भिडियो >>>>” क्याप्सनसहित १९ मार्च बिहान ९:०९ मा सार्वजनिक गरेको भिडिओ फेला पर्‍यो । 

Pnpkhabar.com’ नामको फेसबुकबाट सार्वजनिक उक्त भिडिओमा ‘कठघरा’ कार्यक्रमको शाहीको क्लिप र पुरानो भिडिओको क्लिप राखिएको छ । उक्त भिडिओको क्याप्सनमा राखिएको युट्युब भिडिओको लिङ्क खोलेर हेर्दा ६ वर्ष पुरानो अन्तर्वार्ताको क्लिप रहेको पाइयो । 

“बाँचेर फर्किए भन्दै बा-आमा भेट्दा खुशी भए ज्ञानेन्द्र शाही” शीर्षकमा १० जुन २०१९ मा “PNP MEDIA PVT LTD” ले सार्वजनिक गरेको भिडिओ राखिएको पाइएको हो । उक्त भिडिओको क्लिप नै कठघरामा प्रसारण गरेको क्लिप रहेको पाइएको छ । भिडिओको ८:४२ मिनेटदेखि उक्त क्लिप सुन्न सक्नुहुन्छ । 

उक्त क्लिपमा शाहीले दिल्लीमा सीए भएर अडिटको काम गरेको देखि ‘इन्डियन एरोनटिक्स’ बाट समेत आफूले अफर पाएको दाबी गरेका छन् । 

उक्त अन्तर्वार्ता पीएनपी मिडियाका लागि मनोज खड्काले लिएका हुन् । ललितपुरको महालक्ष्मीस्थित चागाँथलीमा लिइएको उक्त अन्तर्वार्तामा ज्ञानेन्द्र शाही ११ वर्षसम्म डेरा बसेको घरबेटीहरूसँग देखिएका छन् । अन्तर्वार्ता लिएको समय शाही जेलबाट रिहाइ भए लगत्तैको भएको बताइएको छ । 

भिडिओमा ज्ञानेन्द्र शाहीका घरबेटी सम्पत्ति र पृष्ठभूमिमा एक महिला देखिएको छिन् । उक्त भिडिओमा विनयजङ्ग बस्नेत देखिएका छैनन् भने उनको बारेमा शाहीले केही कुरा पनि गरेका छैनन् । 

शाहीले ‘कठघरा’ कार्यक्रममा भनेजस्तो मजाक पनि उक्त भिडिओमा भएको छैन । जेलबाट भर्खरै फर्किएको बताइएको शाहीले आफ्नो विगत गम्भीर भएर बताइरहेका छन् । 

जहाँ शाहीले भनेका छन्, “त्यहाँ दिल्लीमा जाँदा खेरी एउटा के फिलिङ्ग्स हुन्थ्यो भनेपछि म एउटा अडिट गर्थेँ एउटा अडिट फर्ममा । अनि त्यो अडिट फर्ममा गैसकेपछि साथीहरुसँग जानुभा' त्यहाँ गएपछि के हुन्थ्यो भने बारम्बार म एउटा काम गर्थेँ एउटा ठाउँमा । मैले तपाईँको इन्डियन एरोनटिक्समा मैले पनि त्यहाँ पनि काम गर्ने अवसर पाएको थिएँ, तर मैले पछि गरिन त्यहाँ । जुन अहिले उडिसामा छ । जसमा तपाईँको अग्नि फाइभ बनायो । त्यतिखेर म सेलेक्टेड पर्सन हो इन्डियाको अग्नि ५ को । तर मैले त्यतिखेर जब गरिन त्यो । कारण किनभने अर्काका देशका लागि म हतियार बनाउँदिन किनभने नेपाल चाहिन्छ ।

…..त्यतिखेर के भयो भने एउटा जर्साब हुनुहुन्थ्यो त्यहाँको जर्नल... होइन जर्साब हुनुहुन्थ्यो । अनि जहिले पनि अब हामी त्यहाँ अडिट गरेपछि हतियारहरू एम १६ भयो, एम १६ इन्डियामा छैन, एसएलआरहरू यो आधुनिक हतियारहरूको सबै अडिट हुन्थ्यो । अनि जहिले पनि सा'ब भन्थ्यो, उले आएर गेटमा मलाई लगेर जान्थ्यो भित्र । सँगै बस्थ्यौँ, खाना सँगै खान्थ्यौँ । सात/आठ दिन अडिट गरिसकेपछि एक दिन उसले प्रश्न चिह्न खडा गर्यो के ।

के भन्यो भने 'आप किधर के है ?' भन्यो मलाई । ‘हिमाञ्चल के है या उत्तराखण्ड के है या हिमाञ्चल के है या दार्जिलिङ के है ?' भनेर भन्यो अब सेतो फेस देखेर होला उसले । भनेपछि मैले भने ‘नहि हम नेपाल के है'। उसको पहिलो जवाफ के थियो थाहा छ ? ‘नेपाली भि सीए होते है ?’ भन्या थ्यो के । उसको मतलब नेपाली भनेको नोकरी गर्नलाई र दासै बन्नलाई गरेको भन्ने एउटा कन्सेप्ट बिल्ड अप छ । आज पनि तपाईँको विदेशमा जानुस् नेपाली भनेको गोर्खाली भनेर यहाँ सान गर्छौँ नि, त्यो सान सबै हराउँछ । अर्काका देशमा नोकरीको काम गर्दा खेरी त्यो गोर्खालीको महसुस हुन्छ ? त्यो हुँदैन ।”

त्यसपछि हामीले शाही पक्राउ परेको सोही समय ताकाका समाचारहरू खोज्ने प्रयास गर्‍यौँ । खोज्ने क्रममा ‘नागरिक न्युज’ ले ७ जुन २०१९ अर्थात् २४ जेठ २०७६ मा ज्ञानेन्द्र शाही रिहा भएको जानकारीसहित समाचार सार्वजनिक गरेको फेला पर्‍यो । 

“सर्वोच्चको आदेशमा ज्ञानेन्द्र शाही रिहा” शीर्षकमा सार्वजनिक भएको समाचारमा १५ जेठमा कर्णाली प्रदेशबाट पक्राउ परेका शाही ९ दिनपछि रिहा गर्न सर्वोच्चले आदेश दिएको उल्लेख छ । पीएनपीमा सार्वजनिक ज्ञानेन्द्र शाहीको भिडिओ २०७६ साल जेठमा पक्राउ परेर ज्ञानेन्द्र शाही रिहा भएपछि पक्राउ परेपछिको अनुभव सुनाउँदै दिएको अन्तर्वार्ताको क्लिपको हो ।

पछिल्लो अध्यावधिक: चैत ९, २०८२ २३:०