close

फ्याक्टचेक: नेपालमा २५० र २००० का नोट ल्याउन लागिएको दाबी मिथ्या, एआई निर्मित तस्बिरहरू भाइरल

टेकपाना टेकपाना

चैत १०, २०८२ १०:२३

फ्याक्टचेक: नेपालमा २५० र २००० का नोट ल्याउन लागिएको दाबी मिथ्या, एआई निर्मित तस्बिरहरू भाइरल

 

काठमाडौँ । नेपाल सरकारले २५० रुपैयाँ र २००० रुपैयाँका नोट ल्याउन लागेको भन्दै सामाजिक सञ्जालमा नयाँ नोटका तस्बिर भाइरल भइरहेका छन् । जसमा बाघ र बुद्ध देखिने २५० रुपैयाँको नोट र गाई र गैँडा भएको देखिने २००० रुपैयाँको नोट रहेका छन् । 

टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट २५० र २००० नोट ल्याउन लागिएको दाबी र तस्बिर मिथ्या सूचना रहेको पाइएको छ । एआई तस्बिरको प्रयोग गरेर सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको हो । 

दाबी 

फेसबुक प्रयोगकर्ता ‘मनोज तामाङ’ले २२ मार्च दिउँसो १:४१ मा नेपालमा २५० रुपैयाँको नोट ल्याउने तयारी गरिएको दाबी सहितको पोस्ट गरेका छन् । पोस्टमा उनले लेखेका छन्, “रु.२५० को नयाँ नोट नेपालमा ल्याउने तयारी॥” पोस्टमा २५० रुपैयाँका नोटको तस्बिर देख्न सकिन्छ, ती नोटमा गौतम बुद्ध र बाघको आकृति प्रयोग गरिएको छ । 

उक्त पोस्टलाई यो सामग्री तयार पार्दा सम्ममा १८ हजारभन्दा धेरैले रियाक्ट गरेका छन् भने ४७९ पटक शेयर गरिएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

अनुसन्धान 

सामाजिक सञ्जालमा २५० रुपैयाँको नोट ल्याउने तयारी बालेन सरकारले गरेको दाबी सहितका विभिन्न पोस्टहरू सार्वजनिक गरेको पाइयो । फेसबुक प्रयोगकर्ता ‘Roshan Xettri’ ले २२ मार्च राति ९:३५ मा पोस्ट गर्दै यस्तो दाबी गरेका छन् । 

उनले क्याप्सनमा लेखेका छन्, “रु.२५० को नयाँ नोट नेपालमा ल्याउने तयारी  - बालेन सरकार सही की गलत ?” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट । 

सामाजिक सञ्जाल फेसबुकका कयौँ ग्रुपहरूमा २५० रुपैयाँको नोट ल्याउने तयारी गरेको दाबी सहित विभिन्न प्रयोगकर्ताले तस्विरहरू शेयर गरेको फेला पर्‍यो । हेर्नुहोस् स्क्रिनरेकर्ड । 

 

अनुसन्धानका क्रममा २००० का नोट ल्याउने तयारीसहितको दाबी गरिएको पोस्ट पनि फेला पर्‍यो । २२ मार्च दिउँसो १:२५ मा ‘Khabar Bulletin Tv’ ले उक्त दाबी सहित पोस्ट गरेको छ । पोस्टको क्याप्सनमा लेखिएको छ, “नेपालमा रु.५०० र १००० को नोट बन्द गरेर रु.२००० को नयाँ नोट नेपालमा ल्याउने तयारी!🇳🇵” । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।  

 

नेपालमा ५०० र १००० को नोट बन्द गर्ने तयारी’ सम्बन्धी उक्त पोस्टको दाबी टेकपानाको तथ्यजाँचबाट यसअघि नै मिथ्या पुष्टि भइसकेको छ । हामीले भाइरल २५० र २००० का नोटको तस्बिरहरूलाई नियालेर हेर्‍यौँ । २५० र २००० का नोटहरू नियालेर हेर्दा अक्षरहरू अस्पष्ट भएको देखियो । 

२५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैङ्क भन्दा तल्लपट्टि लेखिएका अक्षरहरू अस्पष्ट छन् । ‘गभर्नर’ शब्द पनि बिग्रिएको छ भने तस्बिरको दायाँ भागको पुछारमा जेमनाई एआईको लोगो देखिएको छ । 

२००० को नोटमा रोमन अङ्ग्रेजीमा “Ek SINGHE GAINDA” लेखिएको छ । त्यसपछि लेखिएको ‘NATIONAL PARK’ को अगाडि चितवन राष्ट्रिय निकुञ्जको नाम लेख्न खोजेको जस्तो देखिन्छ । तर बिग्रिएर EKtllTWAN NATIONAL PARK भएको छ । नोटमा नेपालीमा लेखिएका अक्षरहरू पनि अशुद्ध र अस्पष्ट छन् । तस्बिरको दायाँ भागको पुछारमा जेमनाई एआईको लोगो देखिएको छ । 

हामीले उक्त तस्बिरहरूलाई एआई डिटेक्सन टुल ‘हाइभ मोडेरेसन’ मा राखेर जाँच गर्‍यौँ । उक्त तस्बिरहरू ९९.९ एआई निर्मित भएको हुनसक्ने निष्कर्ष निकाल्यो । 

 

 

गुगल डिपमाइन्डको सिन्थआईडी डिटेक्सन टुलमा राखेर जाँच गरेर हेर्दा भाइरल भइरहेका दुवै नोटका तस्विर गुगल एआई प्रयोग गरेर सिर्जना तथा सम्पादन गरिएको देखियो । 

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुरु प्रसाद पौडेललाई पनि नेपाल राष्ट्र बैङ्कले २५० र २००० का नोटहरू छाप्न लागेको हो भनेर टेलिफोन सम्पर्क गरेर बुझ्यौँ । उनले यी नोटहरू छाप्ने कुनै तयारी नभएको स्पष्ट पारे । उनले भने, “२५० र २००० को नोट छापेको सूचनामा कुनै सत्यता छैन ।”

दाबी

नेपालमा २५० र २००० रुपैयाँका नयाँ नोटहरू ल्याइदै । 

दाबीकर्ता

फेसबुक प्रयोगकर्ताहरू ‘मनोज तामाङ’, ‘Roshan Xettri’, र फेसबुक पेज ‘Khabar Bulletin Tv’ लगायतका  सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य

भाइरल भएका २५० र २००० का नोटका तस्बिरहरू एआईको प्रयोग गरेर बनाइएका हुन् । तस्बिरको दायाँ भागको पुछारमा जेमनाई एआई को लोगो प्रस्ट देखिन्छ । नोटमा लेखिएका अक्षरहरू अस्पष्ट छन् । ‘हाइभ मोडेरेसन’ र गुगल डिपमाइन्डको सिन्थआईडी डिटेक्सन जस्ता एआई डिटेक्सन टुलले ती तस्बिरहरू एआईबाट बनाइएको निष्कर्ष निकालेका छन् । 

त्यस्तै राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले २५० र २००० का नोट छाप्ने कुनै पनि तयारी नभएको र सामाजिक सञ्जालमा फैलिएको सूचनामा कुनै सत्यता नभएको पुष्टि गरेका छन् । 

निष्कर्ष

नेपालमा २५० र २००० का नयाँ नोट ल्याउन लागिएको र पुराना नोट बन्द गर्न लागिएको भन्ने दाबी मिथ्या हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८२ १०:२३