close

भिडिओ भाइरल भएपछि वृद्ध आमामाथि निर्घात कुटपिट गर्ने छोरा पक्राउ

टेकपाना टेकपाना

चैत १०, २०८२ २३:५७

भिडिओ भाइरल भएपछि वृद्ध आमामाथि निर्घात कुटपिट गर्ने छोरा पक्राउ

काठमाडाै । झापाको भद्रपुर नगरपालिका-८, क्याम्पस मोडमा आफ्नै ७९ वर्षीया वृद्ध आमामाथि निर्घात कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय यशिस घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मदिराको नशामा लठ्ठिएर घर आएका यशिसले सोमबार आमा चन्द्रमायामाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

"घरमा आमा र छोरा मात्रै बस्दै आएका थिए । उनीहरूबिच पहिले पनि पटक–पटक झगडा हुने गरेको पाइएको छ," डीएसपी खड्काले भने ।

"घटनापछि प्रहरी टोली पुग्दा घाइते आमाले छोराको मायाले गर्दा सुरुमा सत्य लुकाउन खोजेकी थिइन् । उनले आफू आफैँ लडेको भन्दै छोरालाई बचाउन खोजे पनि कुटपिटपछिको भिडिओ सार्वजनिक भएपछि यशिसलाई पक्राउ गरेका हाैँ," उनले भने ।

हिरासतमा रहेका यशिषलाई बुधबार अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइने खड्काले बताए ।

कुटपिटबाट घाइते भएकी वृद्ध आमाको उद्धार गरी आवश्यक उपचार र संरक्षणको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस घटनालाई गम्भीरताका साथ लिँदै अभद्र व्यवहार कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा बैसाखीको सहारामा रहेकी वृद्ध आमालाई भुइँमा पछारेर छोराले निर्दयी ढंगले कुटपिट गरेको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०८२ ०:९