हर्क साम्पाङले उजुरी दिने बताएपछि टिकटकरको जवाफ: आवेगमा धम्की दिएँ होला, तर सांसदले पनि मुख सम्हाल्नुपर्छ
चैत १६, २०८२ १२:४८
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिने बताएपछि टिकटकर सुनिता खड्काले आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । आफूले आवेगमा आएर धम्कीपूर्ण अभिव्यक्ति दिएको स्वीकार गर्दै उनले सांसद साम्पाङलाई पनि जथाभाबी नबोल्न सुझाव दिएकी हुन् ।
टिकटकर खड्काले सामाजिक सञ्जालमा भिडिओ राख्दै साम्पाङको अभिव्यक्तिको आलोचना गरेकी छिन् । साम्पाङले प्रधानमन्त्रीलाई लक्षित गर्दै ‘मापसे र लापसे चेक गर्छु’ भनेको दाबी गर्दै उनले भनिन्, “एउटा सांसद जस्तो मान्छेले जनताले जिताएर पठाएको प्रधानमन्त्रीलाई मापसे र लापसे चेक गर्छु भन्नु कतिसम्म जायज हो ? मैले हिजो आवेगमा आएर बोलेँ, गल्ती गरेँ होला । तर, सांसद भएर हर्क साम्पाङजीले पनि अलिकति मुख जोगाएर राख्नुपर्छ । जनता फ्रस्ट्रेसनमा भइरहेको बेला जथाभाबी बोल्नु हुँदैन ।”
आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता नभएको स्पष्ट पार्दै खड्काले देशले न्याय पाओस् र राम्रो दिशातिर जाओस् भनेर मात्र रास्वपालाई समर्थन गरेको बताएकी छिन् । खड्काले टिकटकमार्फत ज्यान मार्ने धम्की दिएको भिडिओ सार्वजनिक गरेपछि सांसद साम्पाङले आफूले प्रतिपक्षको भूमिका निर्वाह गरिरहँदा रास्वपाका समर्थकबाट ज्यान मार्ने र घर जलाउने धम्की आएको दाबी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “यही हो त रास्वपा समर्थकको लाइन ? आजै सीआईबीमा उजुरी लगाउँदैछौँ । हेरौँ, सीआईबीले काम गर्छ कि गर्दैन ! सरकारको एकपक्षीय दादागिरी रहे देशलाई अराजकताले निल्नेछ ।”
यस विषयलाई लिएर सामाजिक सञ्जालमा पनि बहस सुरु भएको छ । साम्पाङलाई दिइएको धम्कीको विरोध गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, "यदि हर्कको कमजोरी छ र उसले गल्ती गर्छ भने विरोध गर्नैपर्छ । तर, मन परेन भन्दैमा ज्यान मार्ने धम्की दिनु कतिको जायज छ ? पहिलेको सरकारले बोल्न दिएन, अब फेरि नयाँ सरकारले यस्तै गर्छ भने पुरानो र नयाँमा के फरक ?”
केहीले भने सांसद साम्पाङले आफूलाई नकारात्मक टिप्पणी गर्ने वा धम्की दिने प्रयोगकर्तालाई सोझै रास्वपा कार्यकर्ता भन्न नहुने तर्क गरेका छन् ।
पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १२:४८
