हिजो आफैँले पत्रकारलाई धम्क्याएका हर्क साम्पाङ आज प्रहरीकहाँ, दाहालले सम्झाए विगतको ‘पीडा’
चैत १६, २०८२ २०:५४
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएपछि एक वर्षअघि उनीबाटै ‘पीडित’ भएका पत्रकार गोपाल दाहालले ‘जे रोप्यो त्यही फल्ने’ भन्दै विगतको घटना स्मरण गराएका छन् । साम्पाङले सोमबार टिकटकर सुनिता खड्काविरुद्ध किटानी जाहेरी दिएको सन्दर्भमा पत्रकार दाहालले फेसबुकमा लामो स्टाटस लेख्दै साम्पाङकै कारण आफू कार्यक्षेत्रबाट विस्थापित हुनुपरेको अनुभव पोखेका छन् ।
खोज पत्रकार दाहालले साम्पाङलाई सम्बोधन गर्दै लेखेका छन्, “एउटा भनाइ छ नि, जे रोप्यो त्यही फल्छ । यी नानीले पनि तपाईंले हिँडेकै बाटो पहिल्याइन्, जुन गलत बाटो थियो ।”
दाहालले साम्पाङ र उनको परिवारलाई आएको धम्कीप्रति दुःख व्यक्त गरे । साथसाथै साम्पाङकै समर्थकहरूले आफूलाई जिउँदै श्रद्धाञ्जली दिएको र ज्यान मार्ने धम्की दिएको समयमा प्रहरीले कुनै सहयोग नगरेको गुनासो गरेका छन् ।
साम्पाङलाई लक्षित गर्दै उनले लेखेका छन्, “तपाईंका समर्थकहरूले ज्यान मार्ने धम्की दिए, परिवारलाई पनि धम्की दिए । यहाँ लेख्न नसकिने शब्दहरु प्रयोग गरेर कति गाली गरे, जीउँदैमा श्रद्धाञ्जली दिएको हेर्ने अवसर पाइयो ।”
२०८१ मङ्सिरमा खोज पत्रकारिता केन्द्र (खोपके) का लागि दाहालले ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचारमा साम्पाङको कार्यशैली र विगतका केही विवादास्पद पाटोहरू समेटिएका थिए ।
समाचार प्रकाशित भएलगत्तै तत्कालीन मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत ‘तँ मुलाको यस्तो बेइजत गर्छु कि शिर ठाडो पारेर हिँड्न सक्दैनस्’, ‘तेरो खोज पत्रकारिताको अन्त्य गरिदिन्छु’, ‘ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन !’ लगायतका अभिव्यक्तिसहित सार्वजनिक धम्की दिएका थिए । त्यतिबेला नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै साम्पाङको हर्कतलाई प्रेस स्वतन्त्रतामाथिको ज्यादती भन्दै भर्त्सना गरेको थियो ।
पत्रकार दाहालले त्यसबेला इलाका प्रहरी कार्यालय धरान र साइबर ब्युरोमा जाहेरी दिँदा पनि साम्पाङका समर्थकहरूमाथि कुनै कारबाही नभएको उल्लेख गरेका छन् । “फाइल नै बनाएर पठाइयो तर अहँ केही भएन । तपाईं त मान्य (सांसद) भइहाल्नु भयो, तपाईंका गालीवादीहरु पनि अझै उसैगरि गाली गरिरहेकै छन् । बरु म उल्टै कार्यक्षेत्र छाडेर विस्थापित हुनुपर्यो,” दाहालले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, “यस्तो अवस्थामा आफू र परिवारलाई पर्ने मानसिक तनावको अनुभव गरेको छु । तपाईंले यस्तो अवस्था भोग्नु नपरोस् ।”
पछिल्लो अध्यावधिक: चैत १६, २०८२ ०:३७
