सिंहदरबारको डिजिटल गेट पास प्रणाली पुनः सञ्चालनमा, नागरिक एपमार्फत यसरी लिनुहोस् सेवा
चैत १७, २०८२ १८:१५
काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश गर्ने प्रक्रियालाई प्रविधिमैत्री र झन्झटमुक्त बनाउन सरकारले नागरिक एपमार्फत डिजिटल गेट पास सुविधा पुनः सञ्चालनमा ल्याएको छ । २४ भदाैको आन्दोलनका क्रममा सिंहदरबारको गेटमा रहेका क्यूआर कोड स्क्यान गर्ने प्रणालीमा क्षति पुगेपछि अवरुद्ध भएको यो सेवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि पुनः सञ्चालनमा आएको हो ।
नागरिक एपका इन्जिनियर सन्तोष अर्यालका अनुसार बीचमा प्राविधिक कारणले यो सेवा रोकिएको थियो । "आन्दोलनका बेला सिंहदरबार गेटमा रहेका क्यूआर कोड स्ट्यान्ड जलेका थिए । जसले गर्दा स्क्यान गर्ने सुविधा अवरुद्ध भएको थियो," अर्यालले टेकपानासँग भने, "अहिले प्रधानमन्त्री कार्यालयले यसलाई तुरुन्त सञ्चालनमा ल्याउन निर्देशन दिएपछि सेवा पुनः सुचारु गरिएको हो । गेटमा नयाँ क्यूआर कोड स्ट्यान्ड टाँसिएका छन् र प्रहरीहरूलाई पनि यसबारे पुनः तालिम दिइएको छ ।"
यस प्रक्रियामा सेवाग्राहीले एउटा कुरामा भने विशेष ध्यान दिनुपर्ने इन्जिनियर अर्यालले बताए । नागरिक एपबाट सिधै क्यूआर स्क्यान गरेर मात्र प्रवेश पाइँदैन । सेवाग्राहीले पहिले एपमार्फत गेट पासका लागि आवेदन दिनुपर्छ ।
उक्त आवेदनलाई आफूले भेट्न खोजेको सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्री कार्यालयको सम्बन्धित शाखाले 'एप्रुभ' (स्वीकृत) गरिदिनुपर्छ । सम्बन्धित निकायले पास स्वीकृत गरेपछि मात्र गेटमा पुगेर क्यूआर स्क्यान गर्दा प्रवेश अनुमति प्राप्त हुनेछ ।
प्रवेशका लागि यस्तो छ प्रक्रिया:
१. मोबाइलमा रहेको नागरिक एपमार्फत आफूले जान चाहेको मन्त्रालय वा कार्यालयका लागि गेट पास आवेदन दिने ।
२. सम्बन्धित कार्यालयको शाखाबाट उक्त आवेदन स्वीकृत (Approve) भएको सुनिश्चित गर्ने ।
३. सिंहदरबार प्रवेशद्वारमा पुगेर त्यहाँ उपलब्ध रहेको क्यूआर कोड नागरिक एपमार्फत स्क्यान गर्ने ।
४. स्क्यान गरेपछि प्राप्त हुने डिजिटल गेट पास सुरक्षाकर्मीलाई देखाएर भित्र प्रवेश गर्ने ।
पछिल्लो अध्यावधिक: चैत १७, २०८२ १८:५८
