काठमाडौँ । पूर्वमन्त्री एवम् सांसद महावीर पुनले आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएको एक फेसबुक पेजले भ्रामक सामग्री सम्प्रेषण गरिरहेको भन्दै सर्वसाधारणलाई सचेत गराएका छन् । बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पुनले ‘Dr. Mahabir Pun Supporter’ नामक पेजबाट प्रसारित सामग्रीहरू आफ्नो नभएको स्पष्ट पारेका हुन् ।
पुनले लेखेका छन्, “Dr. Mahabir Pun Supporter भन्ने फेसबुक पेजले मैले भन्दै नभनेको कुराहरु मैले नै भनेको भनेर लेखेको छ । कसैले पनि त्यसलाई शेयर नगर्नु होला ।” उनले आफ्नो आधिकारिक फेसबुक पेज पहिचान गर्नका लागि नामको छेउमा नीलो टिक भएको र प्रोफाइल तस्बिरमा आफूले सेतो टिसर्ट लगाएको जानकारी समेत दिए ।
उनले आफ्नो आधिकारिक फेसबुक पेज पहिचान गर्नका लागि नामको छेउमा नीलो टिक भएको र प्रोफाइल तस्बिरमा आफूले सेतो टिसर्ट लगाएको जानकारी समेत दिए । उनले अर्को पोस्टमा लेखेका छन्, “सावधान हुनुहोस् भन्ने सुचना: कसैले Dr. Mahabir Pun Supporter भन्ने फेसबुक पेज खोलेर मेरो इमेल [email protected] भनेर राखेको रहेछ । त्यो मेरो इमेल होइन । सो पेजमा मैले नभनेका कुराहरु पनि राखेको छ । सो पेज बाट सावधान रहनु होला ।”
दुई लाख ५८ हजारभन्दा बढी फलोअर रहेको उक्त नक्कली पेजको पृष्ठभूमि शङ्कास्पद देखिएको छ । पेजको ट्रान्सपरेन्सी विवरण अनुसार यो पेज ११ जुन २०२४ मा ‘Gagan Comedy CUBE’ को नामबाट सिर्जना गरिएको थियो । पछि १६ सेप्टेम्बर २०२५ मा नाम परिवर्तन गरी ‘Gagan’ राखियो भने १६ नोभेम्बर २०२५ मा पुनः नाम बदलेर ‘Dr. Mahabir Pun Supporter’ बनाइएको देखिन्छ ।
सार्वजनिक व्यक्तिको नाम प्रयोग गरी भ्रम फैलाउने उद्देश्यले यो पेज खोल्ने र नाम परिवर्तन गर्ने गरिएको देखिन्छ । पछिल्लो समयमा समाजमा चर्चित व्यक्तिहरूको साखलाई प्रयोग गरेर फेसबुकमा इन्गेजमेन्ट बढाउने र पैसा कमाउने (कन्टेन्ट मोनिटाइजेसन) धन्दामा यस्ता पेजहरू सक्रिय रहेको देखिएको छ ।
कसरी सुरक्षित रहने ?
रिपोर्ट गर्नुहोस्: यदि तपाईंको फेसबुक फिडमा यस्तो भ्रामक पोस्ट आइरहेको छ भने तत्काल पेजको प्रोफाइलमा गएर Report Page मा क्लिक गरी Fake Page वा Scam/Misleading को रूपमा रिपोर्ट गर्नुहोस् ।
आधिकारिक स्रोत मात्र विश्वास गर्नुहोस्: कुनै पनि राजनीतिक वा सामाजिक समाचारका लागि आधिकारिक सञ्चारमाध्यम वा सम्बन्धित व्यक्तिको आधिकारिक आईडी मात्र हेर्नुहोस् ।
सावधानी अपनाउनुहोस्: धेरैजसो एआई सिर्जित फोटोहरूमा मानिसका औँलाहरू, अनुहारका रेखा वा ब्याकग्राउन्ड अलि अस्वाभाविक देखिन्छन् । यस्ता साना कुरामा ध्यान दिएर भ्रमबाट बच्न सकिन्छ ।
डिजिटल साक्षरता: ‘लाइक गर्नुहोस्’, ‘कमेन्ट गर्नुहोस्’ भन्दै जनताको भावनामा खेल्ने फेसबुक पेज लगायत अन्य सामाजिक सञ्जाल अकाउन्टबाट सधैँ टाढै रहनुहोस् ।
पछिल्लो अध्यावधिक: चैत १८, २०८२ ९:१८
