close

पर्यटकको खानामा विष मिसाएर ‘फेक रेस्क्यु’ गरिएको मिडियाको दाबी भ्रामक: सीआईबी

टेकपाना टेकपाना

चैत २१, २०८२ १२:११

पर्यटकको खानामा विष मिसाएर ‘फेक रेस्क्यु’ गरिएको मिडियाको दाबी भ्रामक: सीआईबी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्यटकीय क्षेत्रमा पर्यटकको खानामा विषाक्त वस्तु मिसाएर बिरामी बनाई ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरिएको भन्ने दाबीलाई भ्रामक बताएको छ । विगत केही समयदेखि स्वदेशी तथा विदेशी सञ्चार माध्यम एवं सामाजिक सञ्जालमा गाइडले नै पर्यटकको खानामा विषाक्त पदार्थ मिसाएर बिरामी बनाउने र हेलिकोप्टरमार्फत उद्धार गरी बीमा रकम ठगी गर्ने गरेको भन्ने समाचार सम्प्रेषण भएकोमा ब्युरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो । 

हालसम्मको अनुसन्धानका क्रममा कुनै पनि पर्यटकको खानामा विष वा अन्य विषाक्त वस्तु मिसावट गरिएको तथ्य फेला नपरेको उल्लेख गर्दै सीआईबीले यस्ता अपुष्ट र अप्रमाणित विषयवस्तुलाई उद्धृत गरी भ्रम नछर्न समेत सबैमा आग्रह गरेको छ ।

सीआईबीले विज्ञप्तिमा भनेको छ, “हालसम्मको अनुसन्धानको क्रममा विषाक्त चिजवस्तु मिसावट गरिएको भन्ने तथ्य नदेखिएको र सोही अप्रमाणित विषयवस्तु उद्धृत गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार माध्यम/Facebook Page समेतमा अत्यन्त भ्रामक र तथ्यहीन समाचार प्रकाशन गर्नु गराउनु गैर कानूनी कार्य भएको हुँदा यस्ता किसिमका समाचार प्रकाशन एवं सम्प्रेषण नगर्न नगराउन हुन केन्द्रीय अनुसन्धान ब्युरो सबैमा अनुरोध गर्दछ ।”

खानामा विष मिसाइएको तथ्य फेला नपरे पनि ‘फेक रेस्क्यु’ का नाममा ठुलो परिमाणमा बीमा रकम ठगी भएको विषयमा भने प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको छ । सीआईबीको प्रारम्भिक अनुसन्धान अनुसार यस प्रकरणमा झन्डै तीन अर्ब रुपैयाँ बराबरको शंकास्पद बीमा दाबी गरिएको पाइएको छ । ठगी गर्ने गिरोहले खानामा विष हाल्ने भन्दा पनि पर्यटकीय क्षेत्रमा पर्यटकलाई ‘डर देखाउने र किर्ते कागजात’ तयार पार्ने विधि अपनाएको देखिएको छ । 

खासगरी हिमाली क्षेत्रमा पर्यटकलाई सामान्य लेक लाग्दा वा सामान्य बिरामी पर्दा पनि अवस्था गम्भीर रहेको भन्दै त्रसित बनाउने र जबर्जस्ती हेलिकोप्टर मगाउन बाध्य पार्ने गरिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

सीआईबीका अनुसार एउटै उडानमा धेरै जना पर्यटकलाई उद्धार गरिए पनि प्रत्येक पर्यटकको छुट्टाछुट्टै चार्टर उडान भएको नक्कली विवरण र बिल तयार पारी बीमा कम्पनीसँग रकम दाबी गर्ने गरिएको पाइएको छ । यस सङ्गठित ठगी प्रकरणमा केही अस्पतालको समेत मिलेमतो रहेको सीआईबीले जनाएको छ । 

निश्चित अस्पतालसँगको सेटिङमा उद्धार गरिएका पर्यटकलाई भर्ना गर्ने र सामान्य उपचारलाई पनि जटिल देखाई नक्कली मेडिकल रिपोर्ट बनाएर मोटो रकम असुल गर्ने गरिएको देखिएको छ । यस प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न कम्पनीका सञ्चालक तथा व्यवस्थापकलाई पक्राउ गरी ‘राष्ट्रहित प्रतिकूलको कसुर’ र ‘किर्ते’ मुद्दामा अनुसन्धान अघि बढाएको छ भने थप केही अस्पताल र हेलिकोप्टर कम्पनीहरू समेत अनुसन्धानको घेरामा रहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत २१, २०८२ १३:३४