close

टेकपाना एआईमा नयाँ अपडेट, अब च्याटबटमा जस्तै अन्तरक्रियात्मक शैलीमा समाचार पढ्न पाइने

टेकपाना टेकपाना

चैत २२, २०८२ २०:३३

टेकपाना एआईमा नयाँ अपडेट, अब च्याटबटमा जस्तै अन्तरक्रियात्मक शैलीमा समाचार पढ्न पाइने

 

काठमाडौँ । टेकपानाले आफ्नो एआई फिचरलाई थप परिमार्जित गरेको छ । नयाँ युजर इन्टरफेससहित प्रयोगकर्तालाई प्रयोग गर्न थप सहज बनाउन ‘एआई समरी’ फिचरमा सुधार गरिएको हो ।

टेकपानाको यसअघिको एआई फिचरले कुनै पनि समाचारलाई सटीक रूपमा सारांश निकाल्ने र त्यससँग सम्बन्धित अन्य समाचार फेला पार्न सघाउँदै आएको थियो । तर यसअघिको भर्सनमा सम्बन्धित समाचार खोज्न र सम्बन्धित प्रश्नहरू थाहा पाउन केही जटिलता देखिएकाले त्यसैलाई परिमार्जन गर्दै अहिले च्याटबट शैलीमा एआई फिचर उपलब्ध गराइएको हो ।

अब हरेक समाचारको तलपट्टि ‘Ask TechPana AI about this article’ नामक बटन देख्न सकिनेछ । त्यसमा ट्याप गरेपछि एउटा च्याट इन्टरफेस खुल्छ । जहाँ तपाईँले पढ्न लागेको समाचारको शीर्षक र त्यसभन्दा तलपट्टि तत्कालै उक्त समाचारको सारांश बुँदागत रूपमा देखिन्छ ।

अझ तलपट्टि ‘भ्यु रिकमेन्डेड आर्टिकल्स’ लेखिएको बटन राखिएको छ । त्यसमा ट्याप गर्दा उक्त समाचारसँग कुनै न कुनै रूपमा जोडिएका समाचार वा लेख देखिन्छन् । त्यसमध्ये कुनै समाचार वा लेखमा ट्याप गर्दा दुई समाचारबिचको कनेक्सन (सम्बन्ध) समेत देख्न सकिन्छ ।

त्यस्तै तलपट्टि रहेको ‘रिड फुल आर्टिकल’ बटनमा ट्याप गर्दा उक्त समाचार पूर्ण रूपमा खुल्छ । साथै ‘ह्वाट पिपुल आस्क अबाउट दिस आर्टिकल’ को अप्सनमा ट्याप गर्दा उक्त समाचारसँग सम्बन्धित सम्भावित प्रश्नहरू आउँछन् र ती प्रश्नहरूमा ट्याप गर्दा एआईले उत्तर देखाउँछ । अर्थात् यसले प्रश्नोत्तरको शैलीमा समाचारको विषयवस्तुलाई सहज किसिमले बुझ्न सघाउँछ । अन्तिममा 'Articles you might be interested in' भन्ने विकल्प देखिन्छ । त्यसमा क्लिक गर्दा एआईले नै तपाईंलाई रुचिकर लाग्न सक्ने थप समाचारहरू सुझाउँछ । 

यो अपडेटमार्फत टेकपानाले आफ्नो एआई फिचरलाई थप अन्तरक्रियात्मक बनाउन खोजेको छ । हाल च्याटबक्समा निश्चित विकल्प उपलब्ध भए पनि निकट भविष्यमा प्रयोगकर्ताले आफैँले उक्त एआईसँग सम्बन्धित प्रश्न सोध्न सक्ने गरी तयार पार्ने टेकपानाको तयारी रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८२ २०:४६