close

नासाले सार्वजनिक गर्‍यो आर्टेमिस चन्द्र मिसनको क्रममा आईफोन १७ प्रो म्याक्सबाट खिचिएका तस्विर

टेकपाना टेकपाना

चैत २३, २०८२ १३:५

नासाले सार्वजनिक गर्‍यो आर्टेमिस चन्द्र मिसनको क्रममा आईफोन १७ प्रो म्याक्सबाट खिचिएका तस्विर

काठमाडौँ । नासाले आर्टेमिस-२ (Artemis II) चन्द्र मिसनका क्रममा आईफोन १७ प्रो म्याक्सबाट खिचिएका तीनवटा तस्विर सार्वजनिक गरेको छ । ५ अप्रिल, २०२६ मा सार्वजनिक गरिएका यी तस्विरहरूले प्रविधि र अन्तरिक्ष अन्वेषणलाई आपसमा जोडेका छन् ।

गत फेब्रुअरीमा नासाले आईफोनलाई अन्तरिक्षको कक्षमा विस्तारित प्रयोगका लागि पूर्ण रूपमा योग्य (qualified) भएको घोषणा गरेको थियो । रिपोर्टका अनुसार ओरायन (Orion) अन्तरिक्ष यानमा रहेका चारै जना चालक दलका सदस्यहरूलाई उनीहरूको व्यक्तिगत तस्विर र भिडिओ खिच्नका लागि आईफोन १७ प्रो म्याक्स उपलब्ध गराइएको छ ।

आईफोन १७ प्रो म्याक्सबाट खिचिएको तस्विर (वाइजम्यान)

सार्वजनिक गरिएका तस्विरहरूमा मिसन कमाण्डर रिड वाइजम्यान र मिसन विशेषज्ञ क्रिस्टिना कोच ओरायन यानको मुख्य क्याबिनको झ्यालबाट पृथ्वीलाई हेरिरहेको देख्न सकिन्छ । फ्लिकर डेटाका अनुसार यी तस्विरहरू २ अप्रिलमा, जुन मिसनको दोस्रो दिन थियो, आईफोन १७ प्रो म्याक्सको फ्रन्ट क्यामेरा प्रयोग गरेर खिचिएका हुन् । मिसनका अन्य तस्विरहरू भने निकोन डी-५, निकोन जी-९ र गोप्रो हिरो-४ ब्ल्याक जस्ता क्यामेराहरूबाट खिचिएका छन् ।

आईफोन १७ प्रो म्याक्सबाट खिचिएको तस्विर (कोच)

आर्टेमिस-२ सन् १९७२ पछिको नासाको पहिलो मानवसहितको चन्द्र मिसन हो । यो चालक दल सोमबार चन्द्रमाको अर्को छेउ (far side) मा पुग्ने अपेक्षा गरिएको छ । जसले मानव जातिले पृथ्वीबाट यात्रा गरेको अहिलेसम्मकै सबैभन्दा टाढाको दूरीको कीर्तिमान तोड्नेछ । यद्यपि ओरायन यान चन्द्रमामा अवतरण गर्न सक्षम छैन । यो १० अप्रिलमा पृथ्वीमा फर्कने तालिका रहेको छ ।

निकोन डी-५ बाट खिचिएको तस्विर 


 

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ १३:१४