close

फेसबुकबाटै युवतीलाई बलात्कार र हत्याको धम्की दिने नरदीप पुजाराको फेसबुक पेज ‘गायब’, कहिले पर्छन् पक्राउ ?

टेकपाना टेकपाना

चैत २३, २०८२ २३:१३

फेसबुकबाटै युवतीलाई बलात्कार र हत्याको धम्की दिने नरदीप पुजाराको फेसबुक पेज ‘गायब’, कहिले पर्छन् पक्राउ ?

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी एक युवतीलाई सार्वजनिक रूपमा बलात्कार र हत्याको धम्की दिएको आरोप लागेका नरदीप पुजाराको फेसबुक पेज गायब भएको छ । ५ लाख ५१ हजारभन्दा बढी फलोअर रहेको उक्त पेज साइबर ब्युरोमा किटानी जाहेरी परेपछि र प्रहरीले प्राविधिक अनुसन्धान सुरु गरेलगत्तै हटेको हो ।

पुजाराले आफ्नो पेज आफैँ निष्क्रिय पारेका हुन् वा फेसबुकले कारबाही स्वरूप हटाएको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन । यद्यपि, प्रहरीले पुजाराको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलिपकुमार गिरीका अनुसार अमिशालाई विभिन्न तवरबाट धाकधम्की दिने र साइबर बुलिङ गर्ने २२ ओटा अकाउन्ट पहिचान भइसकेका छन् । उनले भने, “हामीले उनीहरूलाई लोकेट गरिसकेका छौँ र थप अनुसन्धानको प्रक्रिया अगाडि बढेको छ ।”

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सडक आन्दोलनमा उत्रिएकी युवती अमिशा पराजुलीलाई लक्षित गरी पुजाराले अत्यन्तै अश्लील, अपाच्य र हिंसात्मक भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओमा उनले अमिशालाई ‘कुनै दिन गल्ली र बाटोमा बलात्कृत भई मारिएको अवस्थामा फेला पर्ने’ भन्दै खुल्लमखुल्ला चेतावनी दिएका थिए । यस विषयमा गत बुधबार टेकपानाले पहिलोपटक समाचार प्रकाशित गरेको थियो ।

आफूविरुद्ध गम्भीर साइबर बुलिङ र ज्यान मार्ने धम्की आएपछि अमिशाले आइतबार साइबर ब्युरोमा पुगेर पुजाराविरुद्ध किटानी जाहेरी दर्ता गराएकी छिन् । ब्युरोले अमिशालाई गालीगलौज गर्ने र मानसिक तनाव दिने पुजारासहित अन्य २२ ओटा फेसबुक अकाउन्टमाथि पनि अनुसन्धान सुरु गरेको छ ।

पुजाराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन शाहको समर्थन गर्ने बहानामा भ्युज र रिच कमाउने लोभले तल्लो स्तरको गालीगलौज गर्ने गरेको पाइएको छ । उनी विशेषगरी रास्वपा वा अन्य समसामयिक विषयमा फरक मत राख्ने महिलालाई अश्लील शब्द प्रयोग गरी अपमानित गर्ने गर्थे ।

पुजाराको यस्तो हर्कत यो पहिलो होइन । यसअघि उनले कलाकार नवीना सिलवाल (खुइली) लाई पनि अपाच्य शब्द प्रयोग गरी अपमानित गरेका थिए । त्यस्तै, नेपालगञ्जमा भएको एक युवतीको मृत्युको संवेदनशील घटनालाई लिएर प्रहरीको अनुसन्धानलाई नै चुनौती दिँदै र धार्मिक दङ्गा भड्काउने उद्देश्यले उग्र भिडिओ बनाएका थिए । प्रहरीले पटक-पटक सचेत गराउँदा पनि उनले सामाजिक सद्भाव र कानुनी मर्यादाको धज्जी उडाउँदै आएका थिए ।

पुजाराको यो कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को प्रत्यक्ष उल्लङ्घन हो । उक्त कानुन अनुसार इन्टरनेटमा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री राख्ने, कसैप्रति घृणा वा द्वेष फैलाउने र महिलालाई अपमान गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यदि कसैले यस्तो अपराध दोहोर्‍याएमा सजायको डेढी (१.५ गुणा) बढी सजाय हुने प्रावधान छ ।

अमिशालाई लक्षित गरी बनाइएको भिडिओको कमेन्ट बक्समा पुजाराकै उक्साहटमा परेर अन्य प्रयोगकर्ताले समेत अश्लील गालीगलौज गरेका थिए । ती प्रमाण पनि अमिशाले ब्युरोमा उपलब्ध गराएकी छिन् । सोही आधारमा अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८२ २३:१३