close

एसईई दिएका विद्यार्थीलाई रु. २० मै सिमकार्ड, दैनिक ५०० एमबी डेटा फ्री, रिचार्जमा बोनस सुविधा

टेकपाना टेकपाना

चैत २६, २०८२ १३:३९

एसईई दिएका विद्यार्थीलाई रु. २० मै सिमकार्ड, दैनिक ५०० एमबी डेटा फ्री, रिचार्जमा बोनस सुविधा

काठमाडौँ । नेपाल टेलिकमले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीका लागि ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ । विद्यार्थीलाई सञ्चार सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले ल्याइएको यो योजना २६ चैत २०८२ देखि २६ असार २०८३ सम्मसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ । 

यो अफर नयाँ सिम कार्ड लिन चाहने र पहिलेदेखि नै टेलिकमको सिम प्रयोग गरिरहेका दुवै प्रकारका विद्यार्थीका लागि केन्द्रित गरिएको छ । नयाँ सिम लिन चाहने विद्यार्थीले देशैभरका टेलिकम कार्यालयबाट मात्र २० रुपैयाँमा सिम प्राप्त गर्न सक्नेछन् । उक्त सिम कार्डमा ९.८ रुपैयाँ मेन ब्यालेन्स उपलब्ध हुनेछ, जसबाट कुराकानी गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सकिनेछ । 

सिम कार्ड सक्रिय भएको ३० दिनसम्म विद्यार्थीले दैनिक रूपमा टेलिकम नेटवर्कभित्र २० मिनेट कुराकानी गर्न, १० ओटा एसएमएस पठाउन र ५०० एमबी डेटा चलाउन पाउनेछन् । यी दैनिक सुविधा सोही दिनका लागि मात्र मान्य हुने टेलिकमले जनाएको छ ।

त्यस्तै यो अफरमा सहभागी भएका विद्यार्थीले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा प्रत्येक पटक बोनस सुविधा पाउनेछन् । यस अन्तर्गत ५०० एमबी डेटा, टेलिकम नेटवर्कभित्र ५० मिनेट कल र ५० ओटा एसएमएस बोनसको रूपमा प्राप्त हुनेछ । रिचार्जमा पाइने यस्तो बोनस सुविधा प्रयोग गर्नका लागि प्राप्त भएको मितिदेखि तीन दिनको समयसीमा तोकिएको छ ।

नयाँ सिम कार्ड प्राप्त गर्नका लागि विद्यार्थीले केही आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । यसका लागि एसईई प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा परिचय पत्रको फोटोकपी सहितको फारम भर्नुपर्नेछ । नयाँ सिम लिएपछि सुरुमा *1414# डायल गरी सिम सक्रिय गर्नुपर्नेछ । त्यसपछि एसईई अफर सुचारु गर्नका लागि *1600# डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर (अक्षर बाहेक) र जन्ममिति (YYMMDD format मा) राखेर पठाउनुपर्नेछ ।

पहिलेदेखि नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीले पनि सोही प्रक्रिया अपनाएर आफ्नो पुरानै नम्बरमा यो अफर सुचारु गर्न सक्नेछन् । यसका लागि पनि *1600# डायल गरी सिम्बोल नम्बर र जन्ममिति दर्ता गराउनुपर्नेछ ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८२ १४:३७