‘यहाँ श्रम अनलाइन फारम भरिन्छ’ भन्दै प्रचार गर्न नपाइने, सामग्री हटाउन विभागको निर्देशन
चैत २७, २०८२ १३:२३
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरी निजी क्षेत्रबाट सञ्चालित विभिन्न फर्म तथा संस्थाहरूले गरिरहेको प्रचारप्रसारमा रोक लगाएको छ । एक सूचना जारी गर्दै विभागले विभाग आसपास र अन्य स्थानमा रहेका साइबर सेन्टर, तालिम केन्द्र र इन्स्टिच्युटहरूलाई आगामी ३० चैतभित्र त्यस्ता सामग्री हटाउन निर्देशन दिएको हो ।
केही साइबर सेन्टर र संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता शब्द प्रयोग गरी सेवाग्राहीलाई आकर्षित गर्ने, भ्रममा पार्ने र बिचौलियाका रूपमा रकम असुल गर्ने गरेको गुनासो प्राप्त भएपछि यो कदम चालिएको विभागले जनाएको छ ।
“श्रम स्वीकृति सम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग र तोकिएका श्रम कार्यालयहरूबाट मात्र हुने व्यवस्था छ,” विभागद्वारा जारी सूचनामा भनिएको छ, “यस्ता कार्यमा भ्रम सिर्जना गर्ने गरी राखिएका बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स र भित्ते लेखन लगायतका सामग्री २०८२ चैत ३० गते सोमबारभित्र अनिवार्य रूपमा हटाउन निर्देशन दिइन्छ ।”
विभागले तोकिएको समयभित्र त्यस्ता सामग्री नहटाएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।
पछिल्लो अध्यावधिक: चैत २७, २०८२ १३:३४
