गुगल मेसेजमा आयो 'ट्रास' फोल्डर, अब झुक्किएर डिलिट भएका मेसेज ३० दिनसम्म फिर्ता ल्याउन सकिने
चैत २८, २०८२ १७:३२
काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगल मेसेजमा 'ट्रास' (Trash) फोल्डर फिचर रोलआउट गरेको छ । प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण कुराकानीहरू झुक्किएर डिलिट हुनबाट बचाउने एउटा 'सेफ्टी नेट' (सुरक्षा कवच) को रूपमा यो महत्त्वपूर्ण सुविधा थपिएको हो ।
यसअघि गुगल मेसेजमा कुनै पनि कुराकानी डिलिट गर्दा ती मेसेजहरू तुरुन्तै र स्थायी रूपमा फोनबाट हट्ने गर्थे । यसले गर्दा प्रयोगकर्ताहरूले झुक्किएर डिलिट गरेका महत्त्वपूर्ण जानकारी वा मेसेजहरू पुनः प्राप्त गर्न असम्भव थियो । धेरै प्रयोगकर्ताहरूले यसअघि मेसेजहरू सुरक्षित राख्न 'आर्काइभ' फिचर प्रयोग गर्दै आएका थिए । तर अब डिलिट गरिएका मेसेजहरूका लागि पनि सुरक्षाको अर्को तह थपिएको छ ।
नयाँ अपडेट अनुसार जब प्रयोगकर्ताले कुनै मेसेज वा च्याट थ्रेड डिलिट गर्दा गुगल मेसेजले उक्त मेसेज ३० दिनसम्म ट्रास फोल्डरमा सुरक्षित रहनेछ । यो ३० दिनको 'ग्रेस पिरियड'पछि मात्र मेसेजहरू स्थायी रूपमा मेटिनेछन् ।
यद्यपि, 'एन्ड्रोइड गो' भर्सनका डिभाइस प्रयोग गर्नेहरूका लागि भने यो अवधि केही छोटो बनाइएको छ । डिभाइसको स्टोरेज (स्पेस) बचत गर्नका लागि एन्ड्रोइड गो प्रयोगकर्ताका मेसेजहरू ट्रास फोल्डरमा ७ दिनसम्म मात्र रहनेछन् ।
ट्रास फोल्डर कहाँ खोज्ने ?
प्रयोगकर्ताहरूले यो नयाँ फोल्डरलाई सजिलै फेला पार्न सक्नेछन् । त्यसका लागि गुगल मेसेज एप खोलेर माथिल्लो दायाँ कुनामा रहेको आफ्नो प्रोफाइल तस्बिर (Account Menu) मा ट्याप गर्नु पर्ने हुन्छ । त्यहाँ 'आर्काइभ्ड' (Archived) अप्सनको ठिक मुनि नयाँ 'ट्रास' (Trash) फोल्डर देखा पर्नेछ ।
यो फोल्डरभित्र प्रत्येक कुराकानीमा कतिवटा मेसेजहरू छन् भन्ने विवरण पनि देख्न सकिनेछ । प्रयोगकर्तासँग त्यहाँबाट सबै मेसेजहरू एकै पटकमा 'डिलिट अल' (Delete all) गर्ने वा व्यक्तिगत कुराकानीहरूलाई पुनः मुख्य च्याट सूचीमा फर्काउने (Restore) विकल्प हुनेछ ।
एउटा चाखलाग्दो कुरा के छ भने यदि ट्रास फोल्डरमा रहेको कुनै कुराकानीमा नयाँ मेसेज आयो भने एपले मुख्य च्याट सूचीमा केवल त्यो नयाँ मेसेज सहितको नयाँ थ्रेड देखाउनेछ । पुराना डिलिट गरिएका मेसेजहरू भने ३० दिनको अवधि नसकिउन्जेल ट्रास फोल्डरमै रहनेछन् ।
यो सुविधा गुगल मेसेजको स्टेबल भर्सन 20260327_00_RC00 सँगै विश्वभरका प्रयोगकर्ताहरूका लागि उपलब्ध हुन थालेको छ । यदि तपाईँको फोनमा यो फिचर देखिएको छैन भने प्ले स्टोरमा गई एप अपडेट गर्न र आफ्नो फोनको सफ्टवेयर अपडेट भएको सुनिश्चित गर्न सुझाव दिइएको छ ।
गुगल मेसेजले पछिल्लो समय साना तर अत्यन्तै उपयोगी सुविधाहरू थप्दै आफूलाई थप पूर्ण बनाउँदै लगेको छ । सामसङ मेसेजलाई प्रतिस्थापन गर्ने र १० अर्बभन्दा बढी डाउनलोडको आँकडा पार गर्ने क्रममा रहेको यो एपमा ट्रास फोल्डरको आगमनलाई प्रयोगकर्ताहरूले निकै सकारात्मक रूपमा लिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत २८, २०८२ १७:३४
