close

गुगल जेमनाईमा आयो ‘पर्सनल इन्टेलिजेन्स’ फिचर, अब आफ्नो डेटाअनुसार व्यक्तिगत जवाफ पाइने

टेकपाना टेकपाना

बैशाख २, २०८३ १७:८

गुगल जेमनाईमा आयो ‘पर्सनल इन्टेलिजेन्स’ फिचर, अब आफ्नो डेटाअनुसार व्यक्तिगत जवाफ पाइने

काठमाडौँ । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स जेमनाई (Gemini) मा ‘पर्सनल इन्टेलिजेन्स’ (Personal Intelligence) फिचर विश्वव्यापी रूपमा उपलब्ध गराउन थालेको छ । मङ्गलबार एक औपचारिक घोषणा गर्दै गुगलले अमेरिकापछि अन्य देशका प्रयोगकर्ताहरूका लागि यो फिचर ल्याएको जनाएको हो ।

यद्यपि हालका लागि युरोपेली आर्थिक क्षेत्र (EEA), स्विट्जरल्याण्ड र संयुक्त अधिराज्य (बेलायत) मा भने यो सेवा उपलब्ध हुने छैन । यो फिचरले प्रयोगकर्तालाई उनीहरूका गुगल अकाउन्टहरू जस्तै जिमेल, क्यालेन्डर, ड्राइभ र अन्य वर्कस्पेस एपहरूका साथै गुगल फोटोज, युट्युब, सर्च र म्याप्सलाई जेमनाईसँग जोड्ने अनुमति दिन्छ । यी एपहरूमा भएका टेक्स्ट, तस्बिर र भिडिओहरूमा पहुँच बनाएर जेमनाईले प्रयोगकर्ताको व्यक्तिगत आवश्यकता र रुचिअनुसारका जवाफहरू दिनेछ । यसका लागि प्रयोगकर्ताले हरेक पटक विस्तृत जानकारी दिइरहनु पर्दैन ।

गुगलका अनुसार पर्सनल इन्टेलिजेन्सले दैनिक जीवनका धेरै कार्यहरूलाई सहज बनाउनेछ । उदाहरणका लागि तपाईँले हालै खरिद गरेका सामान, मनपर्ने ब्रान्ड र शैलीका आधारमा जेमनाईले उपयुक्त विकल्पहरू सुझाउनेछ । जस्तै, तपाईँले नयाँ सुनौलो जुत्ता किन्नुभएको छ भने त्यससँग मेल खाने गरी सुनौलो हार्डवेयर भएका झोलाहरू यसले सिफारिस गर्न सक्छ ।

तपाईँले कुन मोडेलको सामान कहिले किनेको भन्ने कुरा बिर्सनुभयो भने पनि जिमेलमा रहेका बिलका आधारमा जेमनाईले सम्बन्धित डिभाइसको समस्या समाधान गर्ने सटीक तरिकाहरू बताइदिनेछ ।

त्यस्तै हवाई यात्राका क्रममा तपाईँको विमान अवतरण र अर्को उडानको समय, गेटहरू बिचको दूरी र तपाईँलाई मनपर्ने खानाको आधारमा जेमनाईले विमानस्थलमै कहाँ खाने भन्ने योजना बनाइदिनेछ ।

कुनै पनि सहर (जस्तै थाइल्यान्ड) का 'टप १०' सूचीको सट्टा तपाईँको रुचि र विगतका मनपर्ने ठाउँका आधारमा लुकेका पर्यटकीय स्थलहरू र स्थानीय खानाहरूको सिफारिस गर्नेछ ।

यसैगरी तपाईँलाई थाहा नभएका तर तपाईँको रुचि (जस्तै प्रकृति र पढाइ) सँग मिल्ने कविता लेखन जस्ता नयाँ क्रियाकलापहरू पनि यसले सुझाउन सक्छ ।

यो फिचर पूर्ण रूपमा 'अप्ट-इन' (Opt-in) हो । अर्थात् प्रयोगकर्ताले चाहेमा मात्र यसलाई सक्रिय गराउन सक्छन् । प्रयोगकर्ताले कुन-कुन एपको पहुँच जेमनाईलाई दिने भन्ने कुरा जुनसुकै बेला छनोट गर्न वा परिवर्तन गर्न सक्छन् । साथै 'टुल्स मेनु' (Tools menu) मा रहेको नयाँ 'टगल' मार्फत यसलाई बन्द गर्न पनि सकिन्छ ।

जेमनाईले आफ्ना जवाफहरूको स्रोत पनि देखाउनेछ, ताकि प्रयोगकर्ताले विवरणहरू प्रमाणित गर्न सकुन् ।

जेमनाईले सधैँ तपाईँको डेटाको सही सन्दर्भ बुझ्न नसक्ने कुरा पनि गुगलले स्पष्ट पारेको छ । यसले कहिलेकाहीँ पूर्ण रूपमा असम्बन्धित विषयहरू बिच सम्बन्ध जोड्न सक्छ । विशेष गरी सम्बन्ध विच्छेद (Divorce) जस्ता पारिवारिक परिवर्तन वा रुचिका सूक्ष्म भिन्नताहरू बुझ्न यसलाई कठिन हुन सक्छ ।

उदाहरणका लागि यदि तपाईँको गल्फ कोर्सका सयौँ तस्बिरहरू छन् भने जेमनाईले तपाईँलाई गल्फ मनपर्छ भन्ने ठान्न सक्छ । तर वास्तविकतामा तपाईँ आफ्नो छोरालाई माया गर्ने भएकाले उसलाई साथ दिन त्यहाँ जानुभएको हुन सक्छ । यस्तो अवस्थामा प्रयोगकर्ताले 'मलाई गल्फ मन पर्दैन' भनेमा जेमनाईलाई सच्याउन सक्नेछन् ।

हालका लागि यो सुविधा गुगल एआई प्लस, प्रो र अल्ट्रा ग्राहकहरूलाई दिइएको छ भने फ्रि प्रयोगकर्ताहरूले आगामी केही हप्ताभित्र यो सेवा प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले यसलाई जेमनाई एप वा वेब संस्करणबाट प्रयोग गर्न सक्नेछन् ।

कसरी प्रयोग गर्ने ? 

जेमनाईमा पर्सनल इन्टेलिजेन्स प्रयोग गर्न सबैभन्दा पहिला जेमनाईको मोबाइल एप वा वेबसाइट खोल्नुहोस् र त्यहाँ Personal Intelligence उपलब्ध भए नभएको यकिन गर्नुहोस् ।

 

यदि तपाईंको जेमनाईमा यो फिचर आइसकेको छ भने त्यसमा क्लिक गर्नुहोस् र Connected Apps मा क्लिक गर्नुहोस् । 

अब त्यहाँबाट गुगल वर्कस्पेस (जिमेल, गुगल क्यालेन्डर, गुगल डक्स, गुगल ड्राइभ, गुगल किप र गुगल टास्क), गुगल फोटोज, गुगल सर्च, युट्युब, युट्युब म्युजिक, गिटहब जस्ता एपहरू मध्ये कुन कुनको एक्सेस जेमनाईलाई दिन चाहनु हुन्छ, त्यसको टोगल बटन अन गर्नुहोस् र एप कनेक्ट गर्नुहोस् । 

यति गरेपछि अब जेमनाईले व्यक्तिगत किसिमको प्रतिक्रिया दिनको लागि तपाईंले प्रयोग गर्ने विभिन्न एपहरूको डेटा लिनेछ । 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १७:८