close

पीडीएफ फाइल एडिटिङका सम्पर्ण आवश्यकता पुरा गर्ने निःशुल्क टुल

टेकपाना टेकपाना

बैशाख ४, २०८३ १२:५४

पीडीएफ फाइल एडिटिङका सम्पर्ण आवश्यकता पुरा गर्ने निःशुल्क टुल

काठमाडौँ । लामो समयदेखि एडोबी एक्रोब्याट जस्ता कर्पोरेट सफ्टवेयरहरूले कागजात व्यवस्थापनमा राज गरिरहेका छन् । जसमा महँगो वार्षिक लाइसेन्स वा मासिक सब्सक्रिप्सनको भार समेत हुन्छ । कहिलेकाहीँ मात्र कागजात फेरबदल गर्नुपर्नेहरूका लागि यस्तो सब्सक्रिप्सन अनावश्यक र कष्टप्रद आर्थिक बोझ पनि हो ।

धेरै पीडीएफ रिडरहरूले आफूलाई नि:शुल्क भनेर प्रचार गरे तापनि तिनीहरूले डकुमेन्ट खोल्न र हेर्न मात्र दिन्छन् । तर फाइल घुमाउने (rotate), दुईवटा फाइल जोड्ने (combine) वा संवेदनशील जानकारी लुकाउने (black out) जस्ता आधारभूत कार्यहरू गर्न खोज्दा प्रयोगकर्ताले पेवाल (paywall) को सामना गर्नुपर्छ ।

सफ्टवेयर कम्पनीहरूले 'सब्स्क्रिप्सन-वन्ली' मोडेल अपनाएर सामान्य सुविधाहरूलाई पनि सधैँ पैसा तिर्नुपर्ने प्रणालीमा ढालेका छन् । दैनिक काम वा अध्ययनका लागि मानिसहरूलाई सामान्यतया फाइल विभाजन गर्ने (splitting), कागजातहरू जोड्ने (merging) वा हस्ताक्षर गर्ने सुविधा मात्र चाहिन्छ । जबकि प्रिमियम प्याकेजका धेरै सुविधाहरू प्रयोग विहीन रहन्छन् । कम्पनीहरूले नि:शुल्क भ्युअरलाई 'डिजिटल ट्रोजन हर्स' को रूपमा प्रयोग गरी प्रयोगकर्ताको पीसीमा प्रवेश गर्छन् र समयसीमाको चापमा रहेका प्रयोगकर्तालाई सब्सक्रिप्सन लिन बाध्य पार्छन् । यो व्यापारिक मोडेलले आधारभूत डिजिटल प्रोडक्टिभिटीलाई बन्धक बनाएको छ ।

यस्तोमा आज हामी तपाईँलाई एउटा त्यस्तो पीडीएफ एडिटर टुलको बारेमा बताउँदै छौँ, जुन पूर्णतः निःशुल्क रूपमा उपलब्ध छ । जसको नाम हो, टाइनीवाउ (TinyWow) ।

टाइनीवाउले ब्राउजरमै चल्ने पीडीएफ टुलहरूको सम्पूर्ण सेट प्रदान गर्दछ । जसका लागि कम्प्युटरमा कुनै हेभी सफ्टवेयर इन्स्टल गर्नु पर्दैन । यो विज्ञापन-सपोर्ट गर्ने (ad-supported) मोडेलमा आधारित छ । जहाँ केही सामान्य विज्ञापनहरू हेरेर वा क्याप्चा (CAPTCHA) पुरा गरेर व्यावसायिक स्तरका सुविधाहरू नि:शुल्क प्राप्त गर्न सकिन्छ । यसमा प्रयोगकर्ताले कुनै खाता नखोली वा लग-इन नगरी सिधै काम सुरु गर्न सक्छन् ।

यसको सहयोगमा धेरै रिपोर्टहरूलाई सेकेन्डभरमै एउटै डकुमेन्टमा मर्ज गर्न वा ठुलो फाइलबाट निश्चित पृष्ठहरू मात्र निकाल्न सकिन्छ । फ्रिल्यान्सर र व्यवसायीहरूले प्रिन्ट र स्क्यान नगरी ब्राउजरबाटै कन्ट्रयाक्ट (सम्झौतापत्र) मा हस्ताक्षर गर्न सक्छन् ।

पीडीएफबाट वर्डमा परिवर्तन गर्दा यसले मौलिक ढाँचा र स्वरूपलाई कायम राख्छ । ईमेलमा पठाउनका लागि ठुला फाइलहरूको साइज गुणस्तरमा सम्झौता नगरेरै घटाउन सकिन्छ । साथै अपलोड र प्रोसेसिङ गरिएका सबै फाइलहरू एक घण्टा भित्र सर्भरबाट स्थायी रूपमा हटेर जाने कम्पनीको दाबी छ ।

वेबमा आधारित यो टुल यात्राको समयमा वा तत्काल सम्पादनका लागि, जस्तै आवेदन बुझाउनुअघि बायोडेटा र कभर लेटर मिलाउन अत्यन्त उपयोगी छ । यद्यपि, अनलाइन एडिटरहरूमा फाइल अपलोड गर्दा हुने सुरक्षा जोखिम र प्राविधिक सीमाहरूलाई भने ध्यान दिनुपर्छ । कडा सुरक्षा आवश्यकता भएकाहरूका लागि भने PDFArranger वा LibreOffice Draw जस्ता अफलाइन ओपन-सोर्स विकल्पहरूमा जान सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८३ १२:५४