बोनसको लोभ देखाएर एनआईसी एसिया बैङ्कका ग्राहकको खाता रित्याउन ‘फिशिङ आक्रमण’, सचेत रहन आग्रह
बैशाख ४, २०८३ १५:५७
काठमाडौँ । पछिल्लो समय अनलाइन सर्वेक्षण र आकर्षक उपहारका नाममा फिशिङ आक्रमणका घटना बढेपछि एनआईसी एसिया बैङ्कले आफ्ना ग्राहकलाई सचेत गराएको छ । बैङ्कले बिहीबार सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न प्रलोभन देखाएर फैलाइएका भ्रामक प्रचारको पछि नलाग्न र आफ्नो व्यक्तिगत तथा वित्तीय जानकारी सुरक्षित राख्न विशेष आग्रह गरेको हो ।
ठगी गर्ने गिरोहले विशेषगरी सामाजिक सञ्जालमा एनआईसी एसिया बैङ्कको आधिकारिक लोगो र नाम प्रयोग गरेर ‘विशेष बोनस’ वा ‘उपहार’ को विज्ञापन गर्ने गरेका छन् । यस्ता विज्ञापनमा छोटो सर्वेक्षण पुरा गरे बापत १० हजार रुपैयाँसम्मको बोनस पाइने दाबी गरिएको हुन्छ । उक्त विज्ञापनमा राखिएको ‘Click to claim now’ जस्ता लिङ्क क्लिक गर्दा बैङ्कको आधिकारिक पोर्टलसँग मिल्दोजुल्दो देखिने नक्कली वेबसाइट खुल्छ, जहाँ प्रयोगकर्तालाई आफ्नो बैङ्क विवरण भर्न लगाइन्छ । यस्ता नक्कली वेबसाइटमा विवरण राख्नासाथ ग्राहकको बैङ्क खाता नै ह्याक हुने र मौज्दात रकम चोरी हुने उच्च जोखिम रहन्छ ।
यस्ता फिशिङ वेबसाइट केवल विवरण चोरीमा मात्र सीमित छैनन् । सर्वेक्षणका प्रश्नको उत्तर दिने क्रममा ती वेबसाइटमा रहेका खतरनाक कोड प्रयोगकर्ताको डिभाइसमा ‘रन’ हुन्छन्, जसका कारण मालवेयर वा भाइरस मोबाइल वा कम्प्युटरमा प्रवेश गर्न सक्छन् । यस्ता मालवेयरले प्रयोगकर्ताको डिभाइसको सम्पूर्ण पहुँच प्राप्त गरी संवेदनशील जानकारी, व्यक्तिगत फोटो र बैङ्किङ पासवर्ड हात पारेर दुरुपयोग गर्न सक्छन् । साथै, यस्ता गिरोहले थप बोनसको लोभ देखाएर प्रयोगकर्तालाई उक्त भ्रामक लिङ्क अरू व्यक्तिमा शेयर गर्न समेत प्रेरित गर्ने गरेको पाइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८३ १५:५७
