close

प्रहरी संगठनको बदनाम गराउन व्यापारीलाई फोन गरी फेक अडियो बनाउने सई निलम्बनमा

टेकपाना टेकपाना

बैशाख ८, २०८३ ११:२५

प्रहरी संगठनको बदनाम गराउन व्यापारीलाई फोन गरी फेक अडियो बनाउने सई निलम्बनमा

 

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) सागर शमशेर ज.ब.रा. निलम्बनमा परेका छन् । आफ्नो कार्यालय प्रमुख र प्रहरी संगठनलाई नै बदनाम गराउने उद्देश्यले गलत क्रियाकलाप गरेको पाइएपछि उनलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

जबराले एक जना अमुक व्यापारीलाई आफैँले फोन गरी बनावटी कथा रचेर अडियो बनाएको र सो अडियोलाई सार्वजनिक मिडियामार्फत प्रसारण गर्न लगाएको मधेश प्रदेश प्रहरी कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी उपरीक्षक तथा सहायक प्रवक्ता भेषराज रिजालका अनुसार ज.ब.राले प्रहरी आचरण विपरीत कार्य गरी संगठनको छवि धमिल्याउन खोजेकाले उनलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम निलम्बन गर्न प्रक्रिया अगाडि बढाइएको हो ।

“आफ्नै कार्यालय प्रमुख र संगठनलाई बदनाम गराउने बदनियतले कानुन विपरीतका सामग्री बनाई सार्वजनिक गरेको पाइएकाले निजलाई कारबाहीको दायरामा ल्याइएको हो,” उनले भने ।

यस घटनाका सम्बन्धमा मधेश प्रदेश प्रहरी कार्यालयले आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको जनाएको छ । घटनाको सत्यतथ्य विवरण छानबिनपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ।

साथै, प्रदेश प्रहरी कार्यालयले यस्ता भ्रामक र तथ्यहीन सूचनाको पछि नलाग्न र त्यस्ता कुरामा विश्वास नगर्न आम सञ्चार माध्यम तथा सर्वसाधारणमा हार्दिक अपिलसमेत गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ ११:२५