दुर्गा प्रसाईं विरुद्ध जिल्ला अदालतमा मुद्दा, सामाजिक सञ्जालमार्फत निर्वाचन विरोधी गतिविधि गरेको आरोप
बैशाख ९, २०८३ १२:३९
काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गाप्रसाद प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले निर्वाचनको विषयमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको आरोपसहित मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।
२१ फागुन २०८२ का लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा प्रसाईले फेसबुक लगायतका सामाजिक सञ्जालमा विभिन्न श्रव्यदृश्य (भिडिओ) सामग्रीहरू सार्वजनिक गरेका थिए । ती भिडिओहरूमा उनले 'निर्वाचन हुन दिइँदैन', 'चुनाव गरिए देश टुक्रिन्छ', र 'मर्न तयार छु तर चुनाव हुन दिन्न' जस्ता उत्तेजक र भ्रामक कुराहरू बोलेको अभियोगपत्रमा उल्लेख छ ।
निर्वाचन आयोगले प्रसाईंका यी अभिव्यक्तिहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (ज) को उल्लङ्घन गरेको र निर्वाचन प्रक्रियालाई प्रभावित पार्न खोजेको भन्दै २३ माघ २०८२ मा साइबर ब्युरोलाई अनुसन्धान र कारबाहीका लागि पत्र पठाएको थियो ।
प्रसाईंले आफ्ना भिडिओहरूमा 'यो निर्वाचन नाटक हो र विदेशीको इशारामा गराउन लागिएको हो', 'हिन्दु अधिराज्य र राजसंस्था कायम नभएसम्म देशमा चुनाव हुँदैन र हुन दिइँदैन', 'चुनाव गरिएमा सिंहदरबार, सर्वोच्च अदालत जस्ता सम्पदा र उद्योगी व्यवसायीका घरमा आगो लगाइन्छ', '७५ जना बच्चाको रगतमा होली खेलेर सत्ता कू गरेर चुनाव गराइँदैछ', 'एक पटक मर्नु छ, म झुन्डिएर वा गोली खाएर मर्न तयार छु, तर चुनाव हुन दिन्न' जस्ता अभिव्यक्ति दिएका थिए ।
प्रहरी र सरकारी वकिल समक्ष दिएको बयानमा प्रसाईंले आफूले ती अभिव्यक्तिहरू दिएको स्वीकार गरेका छन् । उनले आफू ३४ वर्षदेखि मेडिकल व्यवसाय र राजनीतिक अभियानमा सक्रिय रहेको बताउँदै देशको वर्तमान अवस्था र विदेशी हस्तक्षेपको विरोधमा आफूले बोलेको दाबी गरेका छन् । उनले संविधानले दिएको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको माग गरेको जिकिर समेत उनले गरेका छन् ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा चलाइएको छ । उक्त दफा अनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्छ ।
प्रसाईंलाई २३ माघ २०८२को मितिमा काठमाडौँको दक्षिणकाली–१, चाल्नाखेलस्थित सुनील विष्टको घरबाट पक्राउ गरिएको थियो । उनी जमानीमा छुटिसकेका छन् । तर सम्पर्कमा नआएको भन्दै उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम कारबाही गर्न समेत अनुरोध गरिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ १२:५९
