close

ई-बिडिङ वेबसाइट ह्याक गरेको आरोपमा राप्रपा नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

टेकपाना टेकपाना

बैशाख ११, २०८३ १९:४९

ई-बिडिङ वेबसाइट ह्याक गरेको आरोपमा राप्रपा नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार साँझ काठमाडौँस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।

बोलपत्र आह्वान गरिने ‘ई-बिडिङ’ वेबसाइटमा अनधिकृत पहुँच पुर्‍याएको पाइएपछि पाण्डेलाई पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले जानकारी दिए । "आरोपी पाण्डेसँग ई-बिडिङ’ वेबसाइटको युजरनेम र पासवर्ड रहेको भेटियो । अनधिकृत रूपले प्रणाली कब्जा गरेको पाइएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएका हाैँ," एआईजी डा. केसीले टेकपानासँग भने ।

प्रधानमन्त्री कार्यालय अन्तर्गत रहने सार्वजनिक खरिद अनुगमन कार्यालयको उक्त पोर्टल नियन्त्रणमा लिई आफ्नो कम्पनी कालिका कन्स्ट्रक्सनलाई ठेक्का पार्न पाण्डेले डकुमेन्टहरू हेरफेर गरेको प्रारम्भिक अनुसन्धानले देखाएको सीआईबीले जनाएको छ ।

पाण्डेलाई थप अनुसन्धानका लागि सीआईबीको नियन्त्रणमा राखिएको र यस प्रकरणमा अन्य व्यक्तिको संलग्नताबारे पनि खोजी भइरहेको एआईजी डा. केसीले जानकारी दिए ।

 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ १९:४९