close

ई-बिडिङ प्रणाली ह्याक गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसँगै व्यवसायी टंककुमार श्रेष्ठ पक्राउ

टेकपाना टेकपाना

बैशाख ११, २०८३ २२:५९

ई-बिडिङ प्रणाली ह्याक गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसँगै व्यवसायी टंककुमार श्रेष्ठ पक्राउ

काठमाडौँ । सरकारी बोलपत्र आह्वान गरिने ‘ई-बिडिङ’ (ई-जीपी) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व सहरी विकासमन्त्री विक्रम पाण्डेसँगै व्यवसायी टंककुमार श्रेष्ठ पनि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई शुक्रबार काठमाडौँका छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘ई-गभर्मेन्ट प्रोक्युरमेन्ट’ प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावहरू खोल्नुअगावै डकुमेन्ट परिवर्तन गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् भने श्रेष्ठ भिषण कन्स्ट्रक्सनका सञ्चालक हुन् ।

उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर अन्तर्गत अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइएको छ । प्रहरीले यो घटनालाई संगठित अपराध निवारण ऐन, २०७०' अन्तर्गत समेत राखेर अनुसन्धान अघि बढाएको छ ।

बोलपत्र प्रक्रियामा धाँधली गरी आफू अनुकूल ठेक्का पार्न सरकारी सिस्टममा अनधिकृत प्रवेश गरेको गम्भीर आरोप उनीहरूमाथि लागेको छ । यस प्रकरणमा अहिलेसम्म पाण्डे र श्रेष्ठसहित कुल ९ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ ९:४३