close

‘सुधन गुरुङको बैंक विवरण सीआईबीले लिक गरेको होइन, भ्रम फैलाउनेलाई कारबाही हुन्छ’

टेकपाना टेकपाना

बैशाख १२, २०८३ ९:४७

‘सुधन गुरुङको बैंक विवरण सीआईबीले लिक गरेको होइन, भ्रम फैलाउनेलाई कारबाही हुन्छ’

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निवर्तमान गृहमन्त्री सुधन गुरुङको बैंक विवरण मिडियालाई उपलब्ध गराएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको स्पष्टीकरण दिएको छ । पछिल्लो समय ‘गृह मन्त्रीको नबिल बैंकको डिटेल सीआईबी प्रमुखले मिडियामा दिएको प्रमाण आयो’ भन्दै सामाजिक सञ्जालमा अफवाह फैलिएपछि सीआईबीले त्यसको खण्डन गरेको हो । 

यस्ता भ्रामक सूचना पोस्ट तथा शेयर भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको ब्युरोले जनाएको छ । सीआईबीले भनेको छ, “केन्द्रीय अनुसन्धान ब्युरोबाट हालसम्म पूर्व गृहमन्त्री सुधन गुरुङको कुनै प्रकारको बैंक विवरण माग नगरिएको तथा उक्त विषय यस ब्युरोको हालको अनुसन्धानसँग सम्बन्धित नभएको हुँदा सामाजिक सञ्जालमा त्यस्ता भ्रामक तथा आधारहीन सूचना पोस्ट तथा शेयर गरी यस ब्युरो तथा ब्युरो प्रमुखप्रति नकारात्मक सन्देश फैलाउने कार्य नगर्न/नगराउन हुन अनुरोध गरिन्छ ।”

ब्युरोको आग्रहलाई बेवास्ता गरी कसैले अफवाह फैलाउने काम जारी राखेमा कानुनी कारबाही हुने चेतावनी दिइएको छ । सीआईबीले विज्ञप्तिमा थपेको छ, “कोही कसैले त्यस्ता गैरकानूनी गतिविधि गरेको पाएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।”

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ १०:१९