‘म तिमीलाई मन पराउँछु’ भन्दै पार्सल पठाएको नाटक गरी एक महिलाबाट २ लाख ठगी गर्ने इलामका युवक पक्राउ
बैशाख १२, २०८३ १०:२३
काठमाडौँ । सामाजिक सञ्जाल टिकटकबाट एक महिलाको दुई लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले इलाम फाकफग्तुम-६ का २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिमलाई अनलाइन ठगीको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लिम्बुले सामाजिक सञ्जाल टिकटकमा आफ्नो नाम रोहन राजपुत राखेका थिए । एक नेपाली महिलासँग साथी बनेर कुराकानी गर्दै जाने क्रममा उनले ‘म तिमीलाई मन पराउँछु’ भनी प्रलोभनमा पारे । आफूले यूएस डलर, गरगहना लगायतका विभिन्न उपहार डीएचएल मार्फत पठाएको र सामान काठमाण्डौको एयरपोर्टमा रहेको डीएचएल कम्पनीको शाखामा आइपुगिसकेको बहाना उनले बनाए ।
उक्त सामान बुझ्नको लागि तिमीले भन्सार शुल्क र कर बापतको रकम भने तिर्नुपर्ने भनेर ह्वाट्सएप ९७००४३५३३१ बाट सम्पर्क गरे र विभिन्न बैंक खातामा जम्मा दुई लाख रुपैयाँ रकम पठाउन लगाए । अन्ततः ती महिलाले पार्सल पठाइदिएको नाममा आफू ठगिमा परेको चाल पाइन् र प्रहरीमा उजुरी दिइन् ।
प्रहरी टोलीले अनुसन्धानका क्रममा उक्त ठगी कार्यमा संलग्न रहेको पाइएपछि ८ वैशाखमा थेगिमलाई नियन्त्रणमा लिई ठगी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाएको हो । उनले ह्वाट्सएपबाट ४० भन्दा बढी महिलालाई सम्पर्क गरेको विषय प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ १०:२३
