सेना र नेतृत्वविरुद्ध भ्रामक सूचना फैलाउनेलाई कानुनी दायरामा ल्याउने जङ्गी अड्डाको चेतावनी
बैशाख १२, २०८३ ११:३४
काठमाडौँ । नेपाली सेनाले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सैन्य संगठन र यसको नेतृत्वविरुद्ध भ्रामक सूचना फैलाउने व्यक्तिहरूलाई प्रचलित कानुनको दायरामा ल्याउने चेतावनी दिएको छ । पछिल्लो समय सेना र सैन्य नेतृत्वलाई लक्षित गरी तथ्यहीन सूचना एवं नकारात्मक अभिव्यक्तिहरू प्रसारण भइरहेको भन्दै सेनाले त्यस्ता उच्छृङ्खल र अराजक गतिविधि गर्नेहरूको सूक्ष्म निगरानी भइरहेको जानकारी दिएको हो ।
जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार एक प्रेस नोट जारी गर्दै त्यस्ता गतिविधिमा संलग्नहरूलाई कानुन बमोजिम कारबाही गरिने स्पष्ट पारेको हो । निर्देशनालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, “नेपाली सेना र सम्बन्धित निकायले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्ति प्रचलित कानुनको दायरामा रहने व्यहोरा समेत स्मरण गराइन्छ ।”
सेनाले कपोकल्पित सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने हुँदा त्यस्ता आधारहीन सामग्री प्रसारण नगर्न र नगराउन सबैलाई सचेत गराएको छ। साथै, सेनाले आम जनमानसलाई यस्ता आधारहीन र द्वेषपूर्ण समाचार तथा टीका–टिप्पणीको पछि नलाग्न र त्यस्ता सूचनामा विश्वास नगर्न समेत अनुरोध गरेको छ।
“आधिकारिक सूचनाको लागि नेपाली सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र वेबसाइटमा सम्प्रेषण गरिएका सूचनाका साथै जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्नुहुन अनुरोध गरिन्छ,” प्रेस नोटमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ ११:५५
