close

स्वागत नगरेको झोकमा हेडमास्टरलाई हप्काएपछि रास्वपा सांसद पोखरेलको सामाजिक सञ्जालमा आलोचना

टेकपाना टेकपाना

बैशाख १२, २०८३ १२:१३

स्वागत नगरेको झोकमा हेडमास्टरलाई हप्काएपछि रास्वपा सांसद पोखरेलको सामाजिक सञ्जालमा आलोचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ओखलढुङ्गाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले जिल्लाको एक विद्यालयमा पुग्दा प्रधानाध्यापक आफूलाई स्वागत गर्न नआएको झोकमा सार्वजनिक रूपमै आक्रोश पोखेपछि उनी चौतर्फी विवादमा तानिएका छन् । आफू २९ वर्षसम्म नेपाल सरकारको विशिष्ट श्रेणी (प्रहरीको उच्च ओहदामा) मा बसेर काम गरेको अनुभव सुनाउँदै उनले मर्यादा र प्रोटोकलको विषय उठाएर प्रधानाध्यापकलाई थर्काएका थिए । 

उक्त घटनाको भिडिओ सार्वजनिक भएसँगै रास्वपाकै सांसद, नेता, अन्य राजनीतिकर्मी र सर्वसाधारणले उनको पदीय घमन्डको आलोचना गरेका छन् भने विवाद बढेपछि पोखरेलको सचिवालयले प्रष्टीकरण दिएको छ । 

सार्वजनिक भएको भिडिओमा सांसद पोखरेल निकै आक्रोशित मुद्रामा प्रस्तुत भएका छन् । विद्यालयमा पुग्दा शिक्षकले चिठ्ठी बनाइराखेको र भित्रै आउन अनुरोध गरेको स्पष्टीकरण दिँदा पोखरेलले त्यसलाई अस्वीकार गरेका छन् ।

उनले भनेका छन्, “तपाईं कर्मचारी हो । म रिटायर्ड विशिष्ट श्रेणीको कर्मचारी हुँ । म माननीय नभए पनि तपाईंले रेस्पेक्टको लागि... एउटा जिल्लाको एउटा माननीय आउँदा खेरिभित्र हेडमास्टर चुप्प लागेर बस्ने ?”

()

उनले शिक्षकलाई राजनीतिक रूपमा पूर्वाग्रही भएको आरोप लगाउँदै विद्यालयले “माननीय आउँदा हाम्रो ध्यान नपुगेकोमा खेद प्रस्ताव पास गर्छु भनेर खेद प्रस्ताव पास गर्नुस् अनि मात्रै तपाईंको विद्यालयमा छिर्ने” भन्दै ढिपी कसेका छन् । भिडिओमा उनले आफूले ५० औँ हजार पेन्सन खाने गरेको र आफूलाई झारपात वा सामान्य कर्मचारी आएजस्तो व्यवहार गरिएको भन्दै थर्काएका छन् ।

त्यसैगरी, भिडिओमा स्थानीय युवाहरूले आक्रोशित हुँदै “हामी त पब्लिक हो नि त । उहाँको कारणले गर्दा के हामीले केही बोल्न पाउँदैनौ ? पब्लिकको कुरा नसुन्ने ?” भन्दै प्रतिवाद गरेको र एक शिक्षकले व्यंग्यात्मक शैलीमा “५ भोटले हो, अर्कोचोटि हेरौँला नि त” भनेको पनि सुनिन्छ ।

यस घटनालाई लिएर रास्वपाकै सांसद गणेश कार्कीले आफ्नै सहकर्मी पोखरेललाई लक्षित गर्दै व्यङ्ग्य गरेका छन् । कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “मलाई माननीय भनेको राम्रो सुनिँदैन । आवश्यक नै भयो भने म सांसद भन्दा भयो बरु । यही सांसद पद पनि बढीमा ५ वर्ष हो, के बानी पार्नु र ! अनि ‘हजुर एक भोट दिनुस्’ भन्दै हजारौँ नमस्ते गरेको दुई महिना पनि भएको छैन, के बिर्सिनु ? भुईँ नछोडौँ न है ।’

त्यसैगरी, रास्वपाबाट ०७९ को चुनाव लडेका कलाकार हिमेश पन्तले लेखेका छन्, “रास्वपा सांसद विश्वराज पोखरेलले गेटसम्म स्वागत गर्न नआएको भन्दै हेडमास्टरलाई थर्काएछन् ! रास्वपाले कारवाही गरेन भने पतनको बाटो भोलीदेखी नै सुरु हुन्छ । “जनताको सेवक” भनेर भोट माग्ने, अनि विद्यालय पुग्दा आफूलाई राजा जस्तो स्वागत खोज्ने ?? सम्मान कमाइन्छ, जबर्जस्ती गराइँदैन !”

उता, स्वतन्त्र सांसद महावीर पुनले प्रतिक्रिया दिँदै लेखेका छन्, “म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पऱ्यो कि त सारा जनताले फिर्ता बोलाउनु पऱ्यो ।”

यो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सर्वसाधारणले पोखरेलको रवैयाको चर्को आलोचना गर्दै विभिन्न टिप्पणी गरेका छन् ।

कन्टेन्ट क्रियटर सरोज कार्कीले लेखेका छन्, “माननीय ज्यु, जनतालाई अहिले नै “म माननीय” , “मलाई सम्मान गर” भन्दै ठुलो नपल्टिनुहोस् । नमस्कार गर्दै, काममा सघाउदै, साईनो गाँस्दै, खुट्टै ढोग्दै भोट माँग्न आउने दिन केहि वर्षमा फेरी आउछ । धरातल बिर्सनु भयो भने इतिहास हेर्नुहोस्ः ४-५ पटक प्रधानमन्त्री भईसकेको व्यक्तिहरुलाई जनताले कहाँ पुर्याए ? राजगद्दीमा बसेका राजालाई जनताले कहाँ पुर्याए ? तपाईँ माननीय त एक सांसद हो । २७५ मध्येको एक । कार्यकालः ५ वर्ष । सम्मान माग्ने होइन कमाउने कुरा हो !” 

त्यस्तै सुधिर बश्याल नामका फेसबुक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, “त्यही भएर राजनिती र पेशा अलग हुन् । यिनी पेशा बाट आएका यिनीसँग अझै नि आफ्नै पुलिसका तल्ला तहका कर्मचारीलाई थर्काएझैं गरेका छन् । राजनैतिक मान्छे भएको भए यसो गर्थेनन होला ।” तेजराज गुरुङले लेखेका छन्, “हैन यस्ता सांसदलाई के भन्नू हिजोको दिन मा भोट माग्न यिनै हेडमास्टरलाई नमस्कार गर्दै मलाई जिताई दिनु हजुर भनेको बिर्सनु भयो कि क्या हो ? स्कुलमा हेडमास्टर भनेको के हो भन्ने कुरो पनि नबुज्ने … कसरी सांसदसम्म पुगे भन्ने कुरो सबै जनतालाई थाहा छ ! धेरै चुरिफुरी नगरे हुन्छ ! पाच बर्षपछि को कुरो पनि बिचार गर्नु सांसद ज्यु !”

यसैगरी शिव चन्द्रले लेखेका छन्, “मान' भन्ने कुरा मागेर पाइने कुरै होइन, यो त अरुले स्व-स्फुर्त दिए मात्र पाइने कुरा हो । खै कुरो बुझ्या माननीय ज्यू ! हेडमास्टर भनेको विद्यार्थीको मात्र हैन मास्टरको पनि मास्टर हो ‘Give respect take respect !’” प्रतीक ढकालले आश्चर्य प्रकट गर्दै लेखेका छन्, “म माननीय हुँ, भन्दै हिँड्नु त मरेकै जुनी हो नि ! ‘माननीय’ त अरूले पो मानेर भनिदिनु पर्छ त ! जम्मा ५ भोटले मात्र जितेका मेरा मित्र ‘विश्वराज पोखरेल’जीले यसो गर्नुहोला भन्ने त मेरो कल्पनामा पनि थिएन !”

बिनिता खत्रीले विगतको अनुभव सुनाउँदै लेखेकी छन्, “केही वर्ष अघि मैले एउटा महत्वपूर्ण कामका लागि फोन गर्दा उहाँ सांसद हुनुहुन्छ भन्ने थाहा थिएन । सामान्य रूपमा कुरा राख्दा उहाँको व्यवहार निकै रूखो थियो-पहिला “म सांसद हुँ” भन्नुभयो, अनि कुराकानी नै असहज भयो । त्यो बेला शक्ति भनेको अहंकार जस्तो लाग्थ्यो ।” 

सामाजिक सञ्जाल रेडिट (रेडिट २)मा पनि सांसद पोखरेलले रवाफ देखाएको भन्दै आलोचना भइरहेको छ । 

भिडिओ भाइरल भई चर्को आलोचना हुन थालेपछि सांसद पोखरेलको सचिवालयका तर्फबाट भानु दाहालले फेसबुकमा प्रष्टीकरण सार्वजनिक गरेका छन् । 

सचिवालयले भनेको छ, “उक्त क्लिपका कारण घटनाको वास्तविकता पूर्ण रूपमा प्रष्ट नभई भ्रम सिर्जना भएको देखिन्छ ।” सचिवालयका अनुसार सांसद पोखरेल विद्यालय पुग्दा प्रधानाध्यापक भित्रै रहेको र कार्यालय सहयोगीमार्फत बाहिर कुर्सी दिएर कुर्न लगाइएको थियो ।

“माननीयज्यूले धैर्यतापूर्वक केही समय प्रतीक्षा गर्नुभयो । तर लामो समयसम्म पनि प्रधानाध्यापक उपस्थित नभएपछि पुनः बोलाउन पठाइएको थियो । त्यसपछि पनि निक्कैबेर नआएपछि माननीयज्यू विद्यालय परिसरबाट बाहिर निस्कनु भएको थियो,” प्रष्टीकरणमा भनिएको छ, “पछि प्रधानाध्यापकज्यू हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माननीयज्यूसँग माफी माग्नुभयो । त्यसपछि सबैजना पुनः भित्र गई आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा आवश्यक छलफल तथा संवाद सम्पन्न भएको थियो ।”

सचिवालयले शिक्षालयमा दलगत स्वार्थ हाबी भएको भन्दै आफ्नो विचार फरक भएको कारण कसैलाई अपमान गर्नु सम्पूर्ण जिल्लाबासीको सम्मानमाथिको आघात भएको जिकिर गरेको छ । यद्यपि, भिडिओमा देखिएको सांसद पोखरेलको शैली र उनले बोलेका शब्दहरूलाई लिएर नागरिक स्तरबाट भइरहेको आलोचना भने रोकिएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ १३:१२