बागमती जस्तै कोशीमा पनि अनलाइनबाट सवारी कर तिरे ब्लुबुक नवीकरण नगरे पनि जरिबाना नलाग्ने
असार १६, २०८३ २३:३८
काठमाडौं । कोशी प्रदेशमा पनि बागमतीमा जस्तै अनलाइनबाट कर तिरेर ब्लुबुक नवीकरण गर्न नभ्याउने सवारी धनीलाई जरिबाना छुट हुने भएको छ । कोशी प्रदेश सरकारले ल्याएको आर्थिक ऐन, २०८३ ले सवारी कर भुक्तानीमा सेवाग्राहीलाई राहत दिएको हो ।
आर्थिक ऐनअनुसार, कुनै पनि सवारी धनीले तोकिएको म्यादभित्र राजस्व पोर्टल वा अनलाइन माध्यमबाट सवारी साधन कर भुक्तानी गरेको छ तर दर्ता किताब (ब्लुबुक) भौतिक रूपमा नवीकरण गराउन भ्याएको छैन भने त्यस्तो अवस्थामा सवारी साधन करमा कुनै जरिबाना लाग्ने छैन ।
यद्यपि, नवीकरण दस्तुरको हकमा भने तोकिए बमोजिमको जरिबाना लाग्न सक्नेछ । यसले अनलाइनबाट समयमै कर तिर्ने सेवाग्राहीलाई कर जरिबानाबाट ठुलो राहत दिएको छ भने प्रविधिको प्रयोगलाई थप बढावा दिएको छ ।
बागमती प्रदेशले भने अनलाइनबाटै सवारी कर तिरे यातायात कार्यालय गएर ब्लुबुक नवीकरण गराउनु नपर्ने व्यवस्था गरेको छ ।
पछिल्लो अध्यावधिक: असार १६, २०८३ २३:३८
