close

सांसद ट्रोल भएपछि रविको प्रतिक्रिया- ‘हामी सेवक हौँ, मालिक हुन खोज्नेका लागि रास्वपामा ठाउँ छैन’

टेकपाना टेकपाना

बैशाख १४, २०८३ १८:५९

सांसद ट्रोल भएपछि रविको प्रतिक्रिया- ‘हामी सेवक हौँ, मालिक हुन खोज्नेका लागि रास्वपामा ठाउँ छैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीका सांसद र नेताहरूलाई जनताको मालिक नभई सेवक बन्न सचेत गराएका छन् । ओखलढुङ्गाका एक प्रधानाध्यापकलाई हप्काएको विषयमा सामाजिक सञ्जालमा सांसद विश्वराज पोखरेलको आलोचना भइरहेका बेला लामिछानेले यस्तो बताएका हुन् ।

सांसद पोखरेललाई लक्षित गर्दै सभापति लामिछानेले भने, “जसलाई मालिक हुन मन छ, त्यसका लागि रास्वपा होइन । हामी सेवक हौँ र त्यसको हेक्का सबैलाई हुनुपर्छ ।” उनले अगाडि भने, “मालिक हुन मन हुनेहरूका लागि अरू नै ठाउँ होला, रास्वपाका सबै साथीहरूले यसै कुरालाई ध्यानमा राख्नुपर्छ ।”

सांसद पोखरेलले आफ्नो व्यवहारप्रति सार्वजनिक रूपमा माफी मागिसकेकाले तत्कालका लागि परिस्थिति केही सहज भएको लामिछानेको भनाइ छ । यद्यपि, पार्टीको आन्तरिक विधिअनुसार यस विषयलाई अनुशासन आयोगले हेरिरहेको उनले जानकारी दिए । “पार्टीको अनुशासन आयोग छ, हामी यसलाई (घटनालाई) हेर्दैछौँ,” उनले भने ।

ओखलढुङ्गाको एक विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकलाई हप्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सांसद पोखरेलले शनिबार मात्रै विज्ञप्ति जारी गरी माफी मागेका थिए । 

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ १९:१७