सडकबिचमै जोखिमपूर्ण तरिकाले टिकटक बनाउने युवतीलाई ट्राफिक प्रहरीले गरायो सचेत
बैशाख १६, २०८३ १८:१८
काठमाडौँ । सडकको बीच भागमा सवारी आवागमन नै अवरुद्ध हुने गरी असुरक्षित तरिकाले टिकटक भिडिओ बनाएकी युवतीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सचेत गराएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका-११ की भावना पुन मगरलाई प्रहरीले सम्झाइबुझाइ गरी छोडेको हो ।
मगरले “आफ्नो सोच नसोच पर, यति सारो घमन्ड नगर” बोलको गीतमा सडकको बीचमै नृत्य गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडिओमा उनको पछाडिबाट एउटा माइक्रो बस छतमा यात्रुहरू राखेर आइरहेको र बाटो छेकेका कारण चालकले युवतीलाई जेनतेन छलेर गाडी अघि बढाएको देखिन्थ्यो । उनले यस्ता कैयन् भिडिओ आफ्नो टिकटक आईडीबाट अपलोड गरेकी छन् ।
अत्यन्तै साँघुरो र जोखिमपूर्ण सडकमा गरिएको यस्तो लापरबाहीले दुर्घटनाको उच्च जोखिम निम्त्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमार्फत आएका गुनासाहरूलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालको निर्देशनमा मगरलाई बोलाएर सचेत गराइएको हो । यसरी टिकटक बनाउँदा आफ्नो र यात्रुको ज्यान जोखिममा परेको भन्दै प्रहरीले उनलाई आगामी दिनमा यसो नगर्न चेतावनी दिएको छ ।
मगरले आफ्नो गल्ती स्वीकार गर्दै अबदेखि सडकमा यस्ता जोखिमपूर्ण गतिविधि नगर्ने प्रतिबद्धता गरेकी छिन् ।
त्यस्तै, भिडिओमा छतमा यात्रु बोकेको देखिएको लु.प्र. ०१–००१ ख १०६४ नम्बरको गाडीका चालकलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सम्झाएको छ । अर्को पटक यस्तै घटना दोहोरिएमा सवारी नियमानुसार कडा कानुनी कारबाही गरिने प्रहरीको चेतावनीपछि चालकले अबदेखि छतमा यात्रु नराख्ने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८३ १८:३२
