२५ हजार सेवाग्राहीलाई ड्राइभिङ लाइसेन्स बाँड्दै यातायात कार्यालय कञ्चनपुर, हेर्नुहोस् सूची
बैशाख २१, २०८३ २३:२२
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय, महेन्द्रनगर (कञ्चनपुर) ले सवारी चालक अनुमतिपत्रको वितरण सुरु गरेको छ । कार्यालयले नयाँ दर्ता, वर्ग थप, नवीकरण र प्रतिलिपिका लागि राजस्व बुझाएर पर्खाइमा रहेका सेवाग्राहीलाई आज (सोमबार) देखि लाइसेन्स वितरण गर्न थालेको हो ।
यातायात व्यवस्था विभागबाट स्मार्ट कार्ड छपाइ भई कार्यालयमा प्राप्त भएपछि वितरण थालिएको निमित्त कार्यालय प्रमुख ई. रविन्द्र चौधरीले जानकारी दिए । कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार सेवाग्राहीले आफ्नो लाइसेन्स लिन जाँदा केही अनिवार्य सर्तहरू पूरा गर्नुपर्नेछ ।
लाइसेन्स लिनका लागि सेवाग्राही स्वयं उपस्थित हुनुपर्नेछ । यसका साथै सेवाग्राहीले आफ्नो पुरानो लाइसेन्स वा राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा साथमै लिएर जानुपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयले सूचनासँगै एउटा ‘एक्सल शिट’ फाइलको लिङ्क पनि उपलब्ध गराएको छ । उक्त लिङ्कमा रहेको चेकलिस्टमा आफ्नो नाम र लाइसेन्स नम्बर हेरेर मात्र कार्ड लिन/बुझ्न आउन कार्यालयले सेवाग्राहीलाई अनुरोध गरेको छ ।
तर, उक्त सूची निकै जटिल तरिकाले राखिएको छ । झन्डै २५ हजार सेवाग्राहीको नाम जथाभावी तरिकाले राखिएको छ । यसले गर्दा सेवाग्राहीले आफ्नो नाम फेला पार्नै सकस परेको गुनासो गरेका छन् । सहजताका लागि टेकपानाले सेवाग्राहीको नाम क्रमशः अल्फाबेटिकल अर्डरमा मिलाएर राखेको छ ।
नियमित दिनमा कार्यालय समय (बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म) लाइसेन्स वितरण भइरहेको कार्यालयले जनाएको छ । यसका साथै सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै कार्यालयले आगामी सार्वजनिक बिदाका दिनमा पनि लाइसेन्स बाँड्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
कार्यालयको सूचना अनुसार २६ र २७ वैशाखमा सार्वजनिक बिदा परे पनि ती दिनहरूमा बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म स्मार्ट कार्ड वितरण गरिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख २२, २०८३ ११:२८
