गायक ढकालको उजुरीपछि ‘केकाज अनलाइन’का सञ्चालकले मागे माफी- ‘डिप्रेसनमा छु, आवेशमा केके बोलेँ’
बैशाख २५, २०८३ १७:४४
काठमाडौँ । सामाजिक सञ्जालमार्फत आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएपछि ‘केकाज अनलाइन नेपाल’ का सञ्चालकले सार्वजनिक रूपमा माफी मागेका छन् ।
ढकालले बिहीबार दुई फेसबुक पेजविरुद्ध चरित्रहत्या र मानमर्दन गरेको आरोप लगाउँदै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए । त्यसपछि जापानमा रहेका ‘केकाज अनलाइन नेपाल’ का सञ्चालकले भिडिओ सन्देशमार्फत आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गरेका हुन् ।
उनले भिडिओमा आफू आवेशमा आएर केही शब्द बढी बोल्न पुगेको स्वीकार गर्दै भनेका छन्, “म अहिले डिप्रेसनको समस्याबाट गुज्रिरहेको छु । गल्ती स्वीकार गर्दै रामकृष्ण ढकाल सरसँग १० औँला जोडी हृदयदेखि नै क्षमा माग्दछु ।”
उनले आफू फेसबुकबाट आर्थिक लाभ लिन नभई आवेशमा आएर भिडिओ बनाएको दाबी गरेका छन् । “म एक गरिब परिवारको छोरा हुँ, जापानमा दुःखजिलो गरेर परिवार पाल्दै छु । फेसबुकबाट मेरो आम्दानी शून्य छ । म पीडामा रहेको बेला र हल्का तनाव भएको विकेन्डमा ड्रिङ्क्स गरेको अवस्थामा भिडिओ बनाएको हुँ,” उनले भनेका छन् ।
साथै, उनले ढकालसँग सम्बन्धित आपत्तिजनक भिडिओहरू हटाउन थालेको र आगामी दिनमा कसैलाई लक्षित गरेर गालीगलौज वा विवादास्पद राजनीतिक टिप्पणी नगर्ने प्रतिबद्धता समेत जनाएका छन् । “म एक श्रमिक हुँ, मेरो परिवारको बिचल्ली हुने डर छ । कृपया यस विषयलाई विवाद नबनाइदिनुहोला,” उनले आग्रह गरेका छन् ।
यता साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले गायक ढकालले दिएको उजुरी दर्ता भइसकेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । कानुनतः कसैको मानहानी वा चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु विद्युतीय कारोबार ऐन, २०६३ दफा ४७ अन्तर्गतको कसुर मानिन्छ । प्रहरीले उजुरीका आधारमा प्राविधिक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ १७:५८
