काठमाडौँको सडकमा भारतीय गाडीको हर्कत, झ्यालमै भित्री वस्त्र सुकाएपछि ‘सिभिक सेन्स’ को प्रश्न
बैशाख २६, २०८३ २३:९
काठमाडौँ । राजधानी काठमाडौँको व्यस्त सडकमा गुडिरहेको एक भारतीय नम्बर प्लेटको कारको झ्यालमा भित्री वस्त्र सुकाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँको पुरानो बानेश्वर क्षेत्रमा देखिएको ‘यूपी ७९ एबी ८७४७’ (UP79AB8747) नम्बरको उक्त गाडीको दृश्यलाई लिएर अहिले सामाजिक सञ्जालमा ‘नागरिक चेतना’ (सिभिक सेन्स) को विषयमा बहस भइरहेको छ ।
टिकटकमा जेनिथ श्रेष्ठ (@shazenith) नामक प्रयोगकर्ताले बिहीबार ‘भारतीय नम्बर प्लेटको गाडीको चर्तिकला’ क्याप्सन राख्दै उक्त भिडिओ सुरुमा पोस्ट गरेका थिए । त्यसलगत्तै यो भिडिओ फेसबुक, इन्स्टाग्राम, एक्स, रेडिट लगायतका प्लेटफर्ममा फैलिएको छ । भारतमा टिकटक प्रतिबन्धित भएकाले धेरै नेपाली प्रयोगकर्ताले यसलाई फेसबुक र इन्स्टाग्राममार्फत भाइरल बनाएका छन् ।
भिडिओ बाहिरिएसँगै सार्वजनिक स्थलमा यस्तो हर्कत गर्नु ‘नागरिक चेतना’ को अभाव भन्दै भारतीय पर्यटकको आलोचना भएको छ । प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै कारबाहीको मागसमेत गरेका छन् ।
भिडिओमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, “मान्छे चाहिँ कार चढेर हिँड्या छ, तर सामाजिक चेतना भने शून्य ! अत्यन्तै लज्जास्पद र असभ्य हर्कत, सम्बन्धित निकायले यस्ता हर्कत गर्नेलाई कारबाही गर्न जरुरी छ !”
त्यस्तै अर्का प्रयोगकर्ताले आक्रोश पोख्दै भनेका छन्, “हो, दुनियाँमा सबैभन्दा कम सिभिक सेन्स भएको सायद यिनीहरू नै होलान् । नेपाल आउँदा जताततै फोहोर मात्र गर्ने प्रवृत्ति छ, जे होस् पाप र लुगा दुइटै बागमतीमै धोएर निस्किए जस्तो छ ।”
अन्तर्राष्ट्रिय अभ्यासमा यस्ता कार्य बर्जित रहेको भन्दै एक प्रयोगकर्ताले लेखेका छन्, “यसको प्रभावकारी कार्यान्वयनका लागि हामीले कानुनी ऐन र नीति बनाउनुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासमा यस्तो कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।”
कतिपयले भने यसलाई सामान्य रूपमा लिनुपर्ने तर्क गरेका छन् । रेडिटमा ‘@mirajadi’ नामका प्रयोगकर्ताले लेखेका छन्, “तपाईंहरू सडकमा अलपत्र बालबालिकालाई बेवास्ता गर्दै हिँड्नुहुन्छ । किनकि त्यहाँ उनीहरू धेरै छन्, तर गाडीमा लुगा सुकाएको देख्दा ‘ओहो ! यसलाई तत्काल कारबाही गर्नुपर्छ, कस्तो मान्छे होला’ भन्नुहुन्छ । यो कस्तो अचम्म हो ?”
त्यस्तै ‘@kirabee1’ ले टिप्पणी गरेका छन्, “यसमा के गल्ती छ म साँच्चै बुझ्दिनँ । उनीहरूले यात्रा गर्नुपर्ने थियो होला र लुगा सुकाउनु पर्ने बाध्यता थियो होला । उनीहरूलाई लाज लाग्नुपर्ने हो, लागेन, अरूलाई के असर गरेको छ र यसलाई ठुलो विषय बनाउनुपर्ने ?”
अर्का प्रयोगकर्ता ‘@littlespooky4real’ ले लेखेका छन्, “यो अलिकति असभ्य हुन सक्छ, तर यो ‘अपमानजनक’ कसरी भयो ? यसले कसको अपमान गरेको छ ? यो केवल अतिरञ्जना मात्र हो ।”
कतिपयले भने नेपाली समाजकै व्यवहारमाथि प्रश्न उठाएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “आफ्नो घरकाले २ इन्चको क*ट्टु लाएर बजार डुल्दा चुइक्क नबोल्ने चिसो भिजेको कपडा सुकाउँदा रोइलो गर्दै बसेका छन् । हो, पब्लिक स्थानमा त्यसो नगरेको भए हुने हो, तर आफ्नो पनि त हेर्नु पर्ला नि ?”
अर्का एक प्रयोगकर्ताले भारतका विभिन्न धार्मिक स्थलमा यस्तो दृश्य सामान्य रहेको भन्दै भनेका छन्, “भारततिर प्रायजसो धार्मिक स्थल घुम्न जाँदा यस्तो दृश्य जति पनि देख्न सकिन्छ, त्यहाँको लागि यो कुनै नौलो र अभद्र होइन । उनीहरूले नुहाए, लुगा गाडीमा सुकाए, यसमा तपाईंहरूको किन टाउको दुख्छ ?”
सडक अनुशासन र पर्यटकको व्यवहारलाई लिएर जनस्तरमा बहस भइरहँदा यस विषयमा आधिकारिक भनाइ बुझ्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन ।
पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ २३:३४
