डेटा सेन्टरको नाममा सिलिकन भ्यालीलाई जलविद्युत् बेच्दा वास्तविक लाभ नेपालले नपाउन सक्छ
बैशाख २८, २०८३ ९:४९
केही महिनाअघिको कुरा हो, नेपालमा काम गर्ने एक जना असल नियतका डेभलपमेन्ट कन्सल्टेन्टले मलाई नेपाल ग्रिन कम्प्युट (वातावरणमैत्री डेटा सेन्टर) का लागि किन एकदमै उपयुक्त छ भनेर बुझाए । यहाँको प्रशस्त जलविद्युत्, चिसो पहाडी हावापानी र विश्वका दुई ठुला डिजिटल अर्थतन्त्रको बीचमा रहेकोले यो देश उपयुक्त हो भन्ने उनको तर्क थियो । यो एक हिसाबले सही पनि हो । तर, यी सबै कुरा मिलेर अन्त्यमा कस्तो नतिजा निस्कन्छ भन्ने कुरा बुझ्न भने उनी चुकेका थिए ।
यो प्रस्तावलाई सरल रूपमा भन्दा विदेशी कम्पनीलाई यहाँ डेटा सेन्टर बनाउन दिने, त्यसलाई नेपालकै जलविद्युत्ले चलाउने, विदेशी लगानी भित्र्याउने र यसलाई ग्रिन नाम दिने । सुन्दा यो जित जस्तो लाग्छ, तर व्यक्तिगत रूपमा मलाई लाग्छ, यो जित होइन ।
ग्रिन कम्प्युटमा ‘ग्रिन’ शब्दले लगभग पूर्ण रूपमा बिजुलीको स्रोतलाई मात्र बुझाउँछ । बाँकी सबै कुरालाई हिसाबकिताबबाट बाहिर राखिन्छ । खासमा डेटा सेन्टर पानीको अत्यधिक उपभोगकर्ता हुन् । ठुला हाइपरस्केल पुर्वाधारले चिसो बनाउन प्रतिदिन एक करोड लिटरसम्म पानी खपत गर्न सक्छन् ।
नेपाल गम्भीर मौसमी जल सङ्कटको सामना गरिरहेको छ र जलविद्युत् प्रणालीलाई पानी खुवाउने नदी तिनै हुन्, जसमाथि शताब्दीयौँदेखि कृषक समुदाय पनि निर्भर छन् । कसैले पनि यो पानीको ट्रेड-अफ (विनिमय) को बारेमा कुरा गरिरहेको छैन । भन्नुको अर्थ डेटा सेन्टर चलाउन पानी प्रयोग गर्दा कृषि र स्थानीयलाई कति घाटा लाग्छ वा नेपालले के गुमाउनुपर्छ भन्ने विषयमा भने कसैले पनि कुरा गरिरहेको छैन ।
त्यस बाहेक यसमा इम्बेडेड कार्बन (सामान बनाउँदा र ढुवानी गर्दा लाग्ने लुकेको कार्बन) को अर्को ठुलो समस्या पनि छ । भवन बनाउन प्रयोग हुने सिमेन्ट र डन्डी, अनि ट्रक र जहाजबाट ओसारिने ठुल्ठुला सर्भर मसिनले पनि प्रदूषण बढाइरहेका हुन्छन् । ती सर्भर हरेक तीनदेखि पाँच वर्षमा काम नलाग्ने हुन्छन् र फेरिरहनुपर्छ ।
यसले गर्दा विद्युतीय फोहोरको डङ्गुर लाग्छ । नेपालमा यस्ता पुराना मसिन वा हार्डवेयरलाई प्रशोधन गरेर पुनः प्रयोग गर्ने कुनै गतिलो व्यवस्था छैन । त्यसैले यो विद्युतीय फोहोर अन्ततः देशकै कुनै कुनामा थुप्रिनेछ, जहाँ सायद ती विदेशी लगानीकर्ताको आँखा पुग्नेछैन । नेपालमा अरू धेरै कुरा राम्रा होलान्, तर फोहोर व्यवस्थापन वा रिसाइकल गर्ने प्रणाली भने हाम्रो राम्रो छैन ।
बिजुलीको विषयलाई गहिराइमा पुगेर हेर्ने हो भने यो तर्क पनि फिक्का साबित हुन्छ । नेपालमा बिजुली बढी उत्पादन हुन्छ भन्ने कुरा साँचो हो । तर, मेरो अनुभवमा यो वर्षायाममा मात्रै हो । हिउँदको सुक्खायाममा खोलामा पानी घट्दा आज पनि घरपरिवार र उद्योगले बिजुलीको अभाव भोग्नै पर्छ ।
यदि नेपालले विदेशी कम्पनीका यी डेटा सेन्टरलाई बिजुली दियो भने, त्यही बिजुली राम्रो मूल्यमा भारतलाई बेच्न सकिँदैन । त्यस्तै देशमै केही उत्पादन गर्छु भनेर लागिपरेका स्वदेशी उद्योगले पनि त्यो बिजुली पाउँदैनन् । न त अझै मट्टीतेलको टुकी बालेर बसिरहेका कर्णालीका दूरदराजका घरमा त्यो बिजुली पुर्याउन नै सकिन्छ ।
नेपालले के बिर्सनु हुँदैन भने यो देशले विगतका केही दशक चरम लोडशेडिङमा गुजारेको छ । अवस्था यति दयनीय थियो कि काठमाडौँमै पनि दिनको १६/१७ घण्टासम्म बत्ती जान्थ्यो । त्यतिबेला मानिसको मुखमा ‘बत्ती गयो’ भन्ने शब्द सधैँ झुन्डिन्थ्यो । मलाई याद छ, बत्ती कहिले आउँछ भनेर थाहा पाउन म आफैँ ‘बत्ती आयो’ एप प्रयोग गर्थेँ । यति लामो सङ्घर्षपछि त्यो अन्धकार युगको अन्त्य गरेर बल्लतल्ल जम्मा भएको बिजुली आफ्नै देशका लागि नभई विदेशीका सर्भर चलाउन दिनु भनेको ‘उल्टो दिशामा हिँड्नु’ जस्तै हो ।
यी डेटा सेन्टरले ‘रोजगारी सिर्जना गर्छन्’ भन्ने तर्क सुन्दा सबैभन्दा लोभलाग्दो लाग्छ । तर गहिराइमा गएर हेर्दा सबैभन्दा छिटो खोक्रो साबित हुने कुरा पनि यही हो । एउटा ठुलो डेटा सेन्टरमा मुस्किलले केही दर्जन मानिसले मात्र स्थायी जागिर पाउँछन्, त्यो पनि सुरक्षा गार्ड र सामान्य मर्मतसम्भारको काममा । राम्रो तलब हुने मुख्य प्राविधिक काम त विशेषज्ञले नै गर्छन्, जो प्रायः विदेशी नै हुन्छन् ।
उनीहरूले ठुलो लगानी ल्याउने कुरा साँचो हो । तर त्यो पैसा तुरुन्तै विदेश तिरै फर्किन्छ । किनभने त्यो पैसा अमेरिका वा एसियाका अन्य देशबाट सर्भर मसिन किन्न र सफ्टवेयरको लाइसेन्सको पैसा तिर्नमै सकिन्छ । यस्ता कम्पनीलाई नेपाल ल्याउन सरकारले करमा अनेकौँ छुट दिन्छ, जसले गर्दा देशले पाउने भनिएको राजस्व पनि गुम्न पुग्छ ।
अन्त्यमा के हुन्छ भने नेपालले आफ्नो जग्गा दिन्छ, बिजुली दिन्छ, राजनीतिक रूपमा साथ दिन्छ र प्रसारण लाइन अर्थात् पूर्वाधार पनि दिन्छ । तर, यसबाट हुने सम्पूर्ण नाफा भने सरासर विदेशतिरै जान्छ ।
मेरो देश आयरल्याण्डले यी सबै कुरालाई (विदेशी डेटा सेन्टर र कर छुटको प्रस्ताव) ‘हुन्छ’ भन्यो । र त्यहाँको पछिल्लो १० वर्षको अवस्थाले हामीलाई एउटा गतिलो पाठ सिकाएको छ । आयरल्याण्डको हिसाबकिताब पूर्ण रूपमा गलत चाहिँ थिएन । त्यहाँ कम्पनीलाई १२.५ प्रतिशत मात्र कर्पोरेट कर (न्यूनतम कर) लाग्ने व्यवस्था गरियो । यसले देशमा डेटा सेन्टर त भरिए नै, सँगसँगै गुगल र मेटा जस्ता ठुला प्रविधि कम्पनीले आफ्नो युरोपेली मुख्यालय नै त्यहीँको राजधानी डब्लिनमा खोले । यसले आयरल्याण्डको अर्थतन्त्रलाई साँच्चै फाइदा पुर्यायो । तर, डेटा सेन्टरको कथा भने अर्कै छ ।
सन् २०१० को दशकमा आन्ध्र महासागरको चिसो हावापानी, युरोपेली बजारसम्मको पहुँच र त्यही सस्तो करको कारण आयरल्याण्ड युरोपकै डेटा सेन्टरको हब बन्यो । सन् २०१५ मा देशको कूल बिजुलीको करिब ५ प्रतिशत मात्र खपत गर्ने यी डेटा सेन्टरले सन् २०२३ सम्म आइपुग्दा २१ प्रतिशत बिजुली खान थाले । त्यहाँको राष्ट्रिय विद्युत् प्रसारण लाइन सञ्चालक एयरग्रिडका अनुसार सन् २०३० को मध्यसम्ममा देशको करिब एक तिहाइ बिजुली यिनै डेटा सेन्टरले सिध्याउनेछन् ।
एकातिर आयरल्याण्डले सन् २०३० सम्ममा ७० प्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्ने आफ्नै लक्ष्य राखेको छ । तर अर्कोतिर विदेशी सर्भरले बिजुली खाइदिँदा यो लक्ष्य नै धरापमा परेको छ । त्यहाँको बिजुलीको पूर्वाधारले यो चाप धान्नै सकेन । जसका कारण सन् २०२२ मा विद्युत् प्राधिकरणले राजधानी डब्लिनमा नयाँ डेटा सेन्टरलाई बिजुली जोड्न पूर्ण रूपमा रोक नै लगायो ।
यसको सबैभन्दा ठुलो मार सर्वसाधारणलाई परेको छ । पछिल्लो तथ्याङ्क (मे २०२६) का अनुसार युरोपेली सङ्घमै सबैभन्दा महँगोमा बिजुली आयरल्याण्डका जनताले किनिरहेका छन् । त्यहाँका नागरिकले युरोपको औसत मूल्यभन्दा झन्डै ४० प्रतिशत बढी रकम तिरिरहेका छन् । प्रति युनिट ४० सेन्टभन्दा बढी तिर्नुपर्दा एउटा सामान्य घरधुरीलाई बिजुलीको बिलमा मात्रै वर्षको करिब ४८० युरो (झन्डै ८२ हजार रुपैयाँ) थप आर्थिक भार परिरहेको छ ।
पानीको विषय पनि त्यहाँ अर्को ठुलो समस्या बन्यो । ग्रेन्ज क्यासल भन्ने ठाउँमा रहेको माइक्रोसफ्टको डेटा सेन्टर (पानी धेरै तानेको भनेर) यति धेरै विवाद र निगरानीमा पर्यो कि स्वच्छ वातावरणको अवस्था बुझ्न संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिनिधि आयरल्याण्ड पुग्दा, माइक्रोसफ्टले उनलाई आफ्नो डेटा सेन्टरभित्र पस्नै दिएन ।
यसले कति रोजगारी दियो भन्ने कुरा पनि अब कुनै रहस्यको विषय रहेन । आयरल्याण्डभर भएका सबै डेटा सेन्टर जोड्दा पनि जम्मा केही हजार मानिसले मात्र त्यहाँ प्रत्यक्ष रोजगारी पाएका छन् । यो एउटा यस्तो क्षेत्र हो, जसले देशको २० प्रतिशत (पाँच भागको एक भाग) बिजुली एक्लै सिध्याउँछ । यसका लागि बिजुली पुर्याउन प्रसारण लाइन बनाउँदा अर्बौँ लगानी खर्च भएको छ । यी डेटा सेन्टरले यति धेरै जग्गा ओगटेका छन्; त्यहाँ सर्वसाधारणका लागि थुप्रै घर बनाउन सकिन्थ्यो । त्यसको तुलनामा यो रोजगारी एकदमै झिनो र निराशाजनक प्रतिफल हो ।
आयरल्याण्डसँग त्यस्ता धेरै सुविधा थिए, जुन नेपालसँग छैनन् । आयरल्याण्ड युरोपियन युनियन (ईयू) को सदस्य राष्ट्र हो, यहाँ भरपर्दो कानुनी प्रणाली छ । त्यहीमाथि पहिलो भाषा नै अङ्ग्रेजी हो । यसका अतिरिक्त ठुला प्रविधि कम्पनीसँग सम्झौता गर्ने दशकौँ लामो अनुभव पनि यो देशसँग छ । यहाँको कर छुटको नीतिले डेटा सेन्टर मात्र ल्याएन, गुगल र मेटा जस्ता कम्पनीका ठुला कार्यालय पनि ल्यायो । जहाँ दशौँ हजार इन्जिनियरले काम पाए र सर्भर मसिनसँगै ‘ज्ञानमा आधारित अर्थतन्त्र’ को विकास भयो ।
तर नेपालको हकमा भने त्यस्तो नहुन सक्छ । नेपालले केवल सर्भरका र्याक मात्र पाउनेछ । तर मानिसले काम गर्ने डेस्क पाउने छैनन् । यति अनुकूल अवस्था हुँदाहुँदै पनि आयरल्याण्डमा डेटा सेन्टरले सार्वजनिक पूर्वाधार लथालिङ्ग बनायो, बिजुलीको अभाव गरायो र रोजगारीको नाममा एउटा फुटबल स्टेडियम पनि नभरिने जति मानिसलाई मात्र काम दियो । यस्तो अवस्थामा नेपालले झनै कमजोर धरातलमा उभिएर सम्झौता गर्नुपर्ने हुन्छ, जसको नतिजा आयरल्याण्डको भन्दा पनि खराब हुने निश्चित छ ।
मैले विगत एक दशकभन्दा बढी समयदेखि नेपालभित्रै बसेर यहाँको प्रविधि क्षेत्रको वास्तविक विकासलाई नजिकबाट नियालिरहेको छु । अनुमान गरिए अनुसार सन् २०२५ सम्ममा नेपालको आईटी सेवा निर्यात एक अर्ब डलर पुगेको छ, जुन पछिल्लो तीन वर्षमै दोब्बरभन्दा बढीको वृद्धि हो ।
अमेरिकाका एमआईटी र कार्नेगी मेलन जस्ता विश्व विख्यात विश्वविद्यालयमा पढेका नेपाली इन्जिनियर लगानी र अन्तर्राष्ट्रिय नेटवर्कसँगै स्वदेश फर्किरहेका छन् । नेपालले अहिले साँच्चिकै एउटा बलियो आधार खडा गरिरहेको छ । यो विकास विदेशीको आपूर्ति शृङ्खलामा ‘सस्तो कामदार’ बनेर होइन, नेपाली इन्जिनियर आफैँ कम्पनीको संस्थापक र मालिक बनेर भइरहेको छ ।
तर, यो तथाकथित ‘ग्रिन कम्प्युट’ (विदेशी डेटा सेन्टर) को योजना देशको वास्तविक प्रगतिसँग कतैबाट पनि मेल खाँदैन । यसले त नेपाललाई केवल पानी र बिजुली उपलब्ध गराउने गोठालो मात्र बनाउन खोजिरहेको छ । जहाँ यहीँको स्रोतसाधनको प्रयोग हुन्छ, तर वास्तविक नाफा भने अर्कैले लग्छ ।
नेपालमा राखिएको तर विदेशमा दर्ता भएको कम्पनीको डेटा माथि कसको कानुन लागु हुन्छ ? भोलि कुनै विदेशी सरकारले कानुनी दबाब दियो भने के गर्ने ? यस्ता प्रश्नमाथि सम्झौतामा हस्ताक्षर हुनुभन्दा अगाडि कहिल्यै गतिलो छलफल नै हुँदैन ।
नेपाल भारत र चीनजस्ता दुई ठुला देशको बीचमा छ । यी दुवै देशले आफ्नो छिमेकमा बन्ने डिजिटल पूर्वाधार (डेटा सेन्टर आदि) लाई सामान्य रूपमा मात्र लिँदैनन् । चीनको सीमाना (नेपाल) मा ल्याएर अमेरिकी कम्पनीको डेटा सेन्टर राख्नु वा भारतले सुरक्षा खतरा मान्ने दूरीमा चिनियाँ कम्पनीको डेटा सेन्टर खोल्न दिनु जस्तो कामलाई धेरै समयसम्म ‘यो त केवल व्यापारिक निर्णय हो’ भनेर मात्र पन्छिन सकिँदैन । यो चाँडै नै भूराजनीतिक तनावको विषय बन्न सक्छ ।
एक पटक यहाँ डेटा सेन्टरका ठुला भवन बनेर मसिन जोडिएपछि, नेपालको वार्ता गर्ने हैसियत झन् कमजोर हुन्छ । किनभने ती मसिनको मर्मत विदेशी विशेषज्ञले नै गर्नुपर्छ, तिनलाई चलाइराख्न चाहिने पाटपुर्जा पनि विदेशबाटै ल्याउनुपर्छ । यसरी नेपाल संरचनागत रूपमै विदेशीको भर पर्न बाध्य हुन्छ ।
यसको समर्थनमा सधैँ एउटा तर्क सुनिन्छ । त्यो के भने-अरू कुनै देशमा कोइला बालेर (प्रदूषण गरेर) डेटा सेन्टर चलाउनुभन्दा नेपालमै जलविद्युत् प्रयोग गरेर चलाउनु राम्रो होइन र ? तर, यो एउटा गलत विकल्प देखाएर पारिने भ्रम मात्र हो । यहाँ मुख्य प्रश्न कोइलाको सट्टा के प्रयोग गर्ने भन्ने होइन । मुख्य प्रश्न त नेपालले आफूसँग बढी भएको बिजुलीलाई कसरी प्रयोग गर्छ र आफ्नै सर्तमा फाइदा लिने यो छोटो अवसरलाई कसरी सदुपयोग गर्छ भन्ने हो ।
राम्रो मूल्यमा सिधै बिजुली विदेशलाई बेच्ने, देशमै उद्योगधन्दा खोल्ने र पहिलो प्राथमिकतामा नेपालीलाई नै फाइदा हुने गरी आफ्नै पूर्वाधारमा लगानी गर्ने । यी यस्ता विकल्प हुन्, जसले देशमा दिगो विकास ल्याउँछन् । तर, विदेशी डेटा सेन्टर भनेको यस्तो कुरा हो, जुन भोलि यहाँबाट उठेर गयो भने त्यसले लगभग सबै कुरा आफूसँगै लिएर जान्छ ।
यो सामग्री लेख्दै गर्दा थप लगानी भित्रिने चर्चा चलिरहेको छ । सुरुमा स्वीकृत हुने परियोजनालाई पाइलट प्रोजेक्ट भनिनेछ । दोस्रो परियोजना आउँदा त्यसलाई मोमेन्टम भनिनेछ । र, तेस्रो परियोजनासम्म पुग्दा त्यसैलाई नीतिको रूप दिइनेछ ।
आफूले कस्तो प्रकारको अर्थतन्त्र निर्माण गर्ने भनेर निर्णय गर्न नेपालसँग निकै छोटो समय मात्र बाँकी छ । यो अवसर गुम्नुअघि नै नेपालले स्पष्ट निर्णय लिनुपर्छ । नत्र विदेशी सल्लाहकार अनुकूल स्थिति भएको अर्को कुनै देशतिर लागिसक्नेछन् ।
(लेखक जोनाथन क्लार्क सन् २०१५ देखि नेपाल बस्दै आएका छन् । यो लेख उनको ब्लगको भावानुवाद हो । उनले ७ मे २०२६ मा ‘Who Actually Benefits When Nepal Sells Hydro to Silicon Valley’ शीर्षकको ब्लग आफ्नो वेबसाइटमा सार्वजनिक गरेका थिए । सन् २०१५ मा ‘कन्स’ (ConX) नामक सफ्टवेयर बनाएका उनले सन् २०२१ मा अमेरिकी कम्पनी ‘हाउस’ (Houzz) लाई बिक्री गरे । हाल जोनाथन त्यही कम्पनीमा ‘डाइरेक्टर अफ इन्जिनियरिङ’ को रूपमा कार्यरत छन् । प्रायः उनी ललितपुरमा बस्छन् ।)
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ ९:५१
