close

फेसबुकमा एके-४७ को फोटो राख्दै बालेन-सुधनलाई गोली हान्ने धम्की दिएका ‘सानु भाइ’ दोषी ठहर

टेकपाना टेकपाना

बैशाख ३०, २०८३ २२:५५

फेसबुकमा एके-४७ को फोटो राख्दै बालेन-सुधनलाई गोली हान्ने धम्की दिएका ‘सानु भाइ’ दोषी ठहर

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पूर्वगृहमन्त्री सुदन गुरुङलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा २० वर्षीय एक युवक दोषी ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजलासले ‘सानु भाइ’ भनिने साजन बिष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ विरुद्धको कसुरमा बुधबार दोषी ठहर गरेको हो ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले बिष्टविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अभियोग दर्ता गरेको थियो ।

प्रहरीको अनुसन्धान अनुसार, साजन बिष्टले ‘सानु भाइ’ नामक फेसबुक एकाउन्टबाट ‘एके-४७’ जस्ता अत्याधुनिक हतियारको तस्बिर राखेर आपत्तिजनक स्टाटस लेखेका थिए । उनले आफ्नो पोस्टमा बहालवाला प्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई 'ट्यापे' भन्दै अपमानजनक शब्द प्रयोग गर्नुका साथै उनीहरूलाई गोली हान्ने धम्की दिएका थिए । त्यस्तै, उनले केपी शर्मा ओली, रमेश लेखक र दीपक खड्कालाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा देश अर्को युद्धमा जाने चेतावनी समेत दिएका थिए ।

उनले पोस्टमा लेखेका थिए, “AK-47 लिएर ठुला ठुला हतियार हरु भोली काठमाडौं पुग्छन दाई यता बाट हिड्यो सामान है आज । र पुर्व प्रधानमन्त्री केपी ओली पुर्व गृह मन्त्री रमेश लेखक पुर्व मन्त्री दिपक खड्कालाई तुरुन्त रिहा गर नालाएक सरकार होईन भने देश अर्को युद्ध मा जाने १००% देखेको छु सुदन बालेन ट्यापेलाई गोली हान्न मेरो टिम बाध्य हुनेछ ।”

 

यसरी सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध कार्य गरेको, समाजमा द्वेष तथा घृणा फैलाउन खोजेको र बहालवाला प्रधानमन्त्री बालेन्द्र साह (बालेन) तथा पूर्वगृहमन्त्री सुदन गुरुङको मानमर्दन गर्दै ज्यान मार्ने धम्की दिएको अभियोग उनीमाथि छ ।

धम्कीपूर्ण पोस्ट सार्वजनिक भएपछि अनुसन्धानमा खटिएको साइबर ब्युरोको टोलीले बिष्टलाई गत वैशाख ६ गते काठमाडौँको सिनामङ्गलबाट शंकास्पद अवस्थामा पक्राउ गरेको थियो । उनको शरीर खानतलासी गर्दा धम्कीपूर्ण स्टाटस लेखिएको फेसबुक एकाउन्ट लग-इन भएकै मोबाइल फोन प्रहरीले बरामद गरेको थियो ।

प्रहरी र सरकारी वकिलसमक्ष दिएको साविती बयानमा बिष्टले आफूले नै उक्त पोस्ट गरेको स्वीकार गरेका छन् । उनले भदौमा भएको जेन-जी आन्दोलनमा भीड उकासेको र अराजकता फैलाएको भन्दै बालेन-सुधनको कार्यशैलीप्रति आफू रुष्ट रहेको बताएका थिए । सोही आक्रोशमा मादक पदार्थ सेवन गरेको बेला आफूले उक्त धम्कीपूर्ण स्टाटस लेखेको उनले बयानमा उल्लेख गरेका छन् ।

सरकारी वकिल कार्यालयले बिष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ । यस दफाअनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

यसका साथै, अपराधमा प्रयोग भएको मोबाइल फोन जफत गर्न र अपराध पीडित संरक्षण ऐनअनुसार कसूरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्कसमेत जम्मा गराउन मागदाबी गरिएको छ ।

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार अदालतबाट कसुरदार ठहरिएका उनलाई सजाय निर्धारणका लागि छुट्टै पेशी तोकी आवश्यक सजाय ठहर गरिने छ । यो प्रक्रिया कसुरदार ठहरिएको ३० दिनभित्र सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८३ २२:५८