नेपाली इन्जिनियरले नेतृत्व गरेको सफ्टवेयरलाई करिब ७७ लाख रुपैयाँ बराबरको एनआईएच अवार्ड
जेठ ४, २०८३ ९:५३
काठमाडौँ । नेपाली इन्जिनियर सन्तोष अधिकारी सम्मिलित अनुसन्धान टोलीले अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) बाट ‘रेप्लिकेसन प्राइज’ प्राप्त गरेको छ । कन्डक्ट साइन्स कम्पनीको मेज इन्जिनियर्स सफ्टवेयरमार्फत न्युरो साइन्स र एआईको क्षेत्रमा पुर्याएको योगदानका लागि गत १३ मेमा उक्त पुरस्कार घोषणा गरिएको हो ।
अधिकारीको टिमले ट्रयाक टु अन्तर्गत ५० हजार अमेरिकी डलर (करिब ७६ लाख ६२ हजार रुपैयाँभन्दा बढी) राशिको पुरस्कार जितेको हो । विज्ञानको क्षेत्रमा कुनै एक वैज्ञानिक वा टोलीले गरेको अनुसन्धानलाई अर्को टोलीले फेरि दोहोर्याएर हेर्नु वा त्यसको सत्यता जाँच गर्नुलाई ‘रेप्लिकेसन’ भनिन्छ । यस वर्ष ‘रेप्लिकेसन प्राइज’ अन्तर्गत ‘ट्रयाक वन’ र ‘ट्रयाक टु’ गरेर दुई विधामा विभिन्न पुरस्कार प्रदान गरिएको थियो ।
‘ट्रयाक वन’ अन्तर्गत कन्सेप्टर र पेपर रिसर्चमा आधारित आइडिया पुरस्कृत भएका थिए । यो विधा अन्तर्गत पाँच हजार अमेरिकी डलरसम्म पुरस्कार राशि प्रदान गरिएको छ । ट्रयाक टुमा भने अनुसन्धानपछि तयार पारिएका र बजारमा प्रमाणित भइसकेका उत्पादनहरूलाई पुरस्कृत गरिएको हो ।
के हो मेज इन्जिनियर्स सफ्टवेयर ?
कम्पनीले सन् २०२३ देखि मेज इन्जिनियर्स सफ्टवेयर सुरु गरेको हो । उक्त सफ्टवेयरको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रमुखका रूपमा अधिकारी कार्यरत छन् । यो सफ्टवेयरले विशेषगरी औषधिको परीक्षण र न्युरो साइन्समा काम गर्ने उनले बताए ।
अधिकारीले भने, “कुनै पनि नयाँ औषधिको प्रभाव मानिसमा परीक्षण गर्नुअघि मुसा, माछा वा अन्य जीवहरूमा परीक्षण गरिन्छ । पहिले वैज्ञानिकहरूले ती जीवहरूको व्यवहार घण्टौँसम्म भिडिओ हेरेर म्यानुअल्ली रेकर्ड गर्नुपर्ने हुन्थ्यो ।”
अहिले अधिकारीको टिमले विकास गरेको एआई सफ्टवेयरले क्यामेराको माध्यमबाट ती जीवहरूको सूक्ष्म व्यवहारलाई स्वचालित रूपमा विश्लेषण गरी रिपोर्ट तयार पार्छ । औषधिको परीक्षणका क्रममा जीवहरूमा देखिने स्ट्रेस, हिँडडुलको शैली, हातखुट्टा रगड्ने जस्ता क्रियाकलाप विश्लेषण गर्छ ।
यो सफ्टवेयरको अनुसन्धानमा अधिकारीसहित आठ जना अनुसन्धानकर्ताहरू छन् । सन्तोषसहित यो टोलीमा सुहान हे, लुइस कोर्सक्याडेन, बोयु पेङ, यानिङ (एबी) जेङ, एनेलिस सिल्भा, आन्द्रेस डियाज, लरेन बोडिन संलग्न छन् । यो सफ्टवेयर हाल विश्वका ५० भन्दा बढी देशका २०० प्रयोगशालामा प्रयोग भइरहेको अधिकारी बताउँछन् ।

अनुसन्धानमा एआईको प्रयोग
सन् २०२३ मा कन्डक्ट साइन्समा आबद्ध भएपछि सन्तोष अधिकारीले नै यो कम्पनीमा एआईको सुरुवात गरेका थिए । अधिकारी भन्छन्, “पहिले वैज्ञानिकहरूले गरेका रिसर्चमा कतिपय प्राविधिक सीमाहरू थिए । हामीले पुरानो रिसर्चलाई एआईको माध्यमबाट फेरि रिफाइन र रिडिजाइन गर्यौँ । एनआईएचले हाम्रो यही रेप्लिकेसन र एआईको प्रभावकारी प्रयोगलाई कदर गर्दै यो अवार्ड दिएको हो ।”
उनका अनुसार पहिले म्यानुअल्ली गरिने कामलाई अहिले एआईले प्रतिस्थापन गर्दा नतिजा अझ बढी तथ्यपरक हुने देखिएको छ । यो सफ्टवेयरले मुसा, किरा फट्याङ्ग्रा र मानिसको व्यवहार विश्लेषणमा समेत सहयोग गर्छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याथफोर्ड कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक गरेका सन्तोष अधिकारी सन् २०२२ मा थप अध्ययनका लागि फ्रान्स गएका थिए ।
उनले फ्रान्समा ‘एआई इन हेल्थकेयर’ मा मास्टर्स गरेका छन् । हाल उनी फ्रान्समै बसेर कन्डक्ट साइन्सको अमेरिकी टिमसँग रिमोट्ली काम गरिरहेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ १०:२५
