काठमाडौँ । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालमा सामाजिक सञ्जाल र अनलाइनका विभिन्न माध्यममा मालवेयरमार्फत डेटा चोरी गर्ने गिरोह सक्रिय भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यरोले सजग रहन आग्रह गरेको छ । प्रयोगकर्तालाई विभिन्न एपमार्फत विश्वकप निःशुल्क हेर्न सकिने लोभ देखाउँदै शङ्कास्पद लिङ्क क्लिक गर्न लगाउने गतिविधि बढेको ब्युरोले उल्लेख गरेको छ ।
“सामाजिक सञ्जाल तथा अनलाइनका विभिन्न माध्यमहरूमा विश्वकप (WorldCup 2026, Live TV) हेर्नुहोस् भन्ने बहानामा शंकास्पद apk file डाउनलोड गर्न लगाई मोबाइल बैंकिङ एप ह्याक गरी आर्थिक ठगी गर्ने प्रवृत्ति बढ्दो हुँदा सम्बन्धित प्रयोगकर्ताहरूलाई यसतर्फ सचेत रहन अनुरोध गरिन्छ,” ब्युरोले सूचनामा भनेको छ ।
ब्युरोका अनुसार स्क्यामरले ‘NB TV’ जस्ता एप नि:शुल्क डाउनलोड गर्न भन्दै शंकास्पद लिङ्कहरू पठाएर प्रयोगकर्तालाई .apk फाइल डाउनलोड गर्न लगाउने गरेका छन् । प्रयोगकर्ताले उक्त शंकास्पद एप आफ्नो मोबाइलमा डाउनलोड वा इन्स्टल गरेपछि ह्याकरहरूले प्रयोगकर्ताको मोबाइलमा अनधिकृत पहुँच प्राप्त गर्ने र अन्त्यमा मोबाइल बैंकिङ एप नै ह्याक हुने जोखिम रहेको ब्युरोले जनाएको छ ।
कहिल्यै पनि .apk बाट अन्त्य हुने एप आफ्नो डिभाइसमा डाउनलोड नगर्नसमेत ब्युरोले आग्रह गरेको छ ।
१२ जुनदेखि सुरु हुने फिफा विश्वकप २०२६ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार हिमालय स्पोर्टस् र डीगो एपले लिएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ १९:११
