सौराहामा ३ दिने आवासीय ह्याकाथन आयोजना गर्दै इसेवा, बिजेतालाई ३ लाखसम्मको पुरस्कार
जेठ १४, २०८३ १३:३४
काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आगामी १५-१७ जेठसम्म पर्यटकीय नगर चितवनको सौराहामा 'इसेवा ह्याकाथन २०२६' आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इसेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो ।
इसेवाले विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्रको विस्तार र वित्तीय समावेशीकरण लगायतका क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले आफ्नो नियमित सेवा सञ्चालनका अतिरिक्त नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ ।
यसैअन्तर्गत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले यो ह्याकाथन आयोजना गर्न लागिएको इसेवाले जनाएको छ ।
ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले प्रतिस्पर्धा गर्नेछन् । इसेवाका सीईओ जगदीश खड्काले युवाहरूमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधानहरू निर्माण गर्न र दिगो विकासमा योगदान दिन ह्याकाथन प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, “इसेवा ह्याकाथनले डिजिटल प्रणालीको विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी प्रभावकारी समाधानहरू निर्माण गर्न डेभलपर, डिजाइनर तथा इनोभेटरहरूलाई एउटै मञ्चमा ल्याउनेछ । यस प्रकारका प्रयासहरूले युवाहरूमा नवप्रवर्तनात्मक सोच तथा सिर्जनशीलता बढाउनुका साथै सुरक्षित फिनटेक इकोसिस्टम र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ ।”
ह्याकाथनका प्रतिस्पर्धीहरूले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन र सोलुसनका प्रोटोटाइपहरू प्रस्तुत गर्नेछन् । यसले वातावरणीय र सामाजिक प्रभावमा सकारात्मक योगदान दिने डिजिटल प्रणाली निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
ह्याकाथन अवधिभर सहभागी टोलीहरूलाई उत्कृष्ट समाधान निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका लिडरहरूद्वारा प्रत्यक्ष मेन्टरशिप प्रदान गरिनेछ । मेन्टरहरूको सहयोगमा सहभागीहरूले आफ्ना आइडियाहरूलाई थप परिष्कृत बनाउने अवसर पाउनेछन् ।
तीन दिनसम्म चल्ने यस आवासीय प्रतियोगितामा उत्कृष्ट सोलुसन तथा प्रोटोटाइप प्रस्तुत गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । इसेवाका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद ३ लाख, द्वितीय स्थान हासिल गर्ने टोलीले २ लाख र तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ १३:३४
