close

आफ्नो एन्ड्रोइड फोनलाई नै सेक्युरिटी की बनाएर पासवर्ड बिनै यसरी सुरक्षित राख्नुहोस् आफ्ना अकाउन्ट

टेकपाना टेकपाना

जेठ २०, २०८३ १३:४२

आफ्नो एन्ड्रोइड फोनलाई नै सेक्युरिटी की बनाएर पासवर्ड बिनै यसरी सुरक्षित राख्नुहोस् आफ्ना अकाउन्ट

काठमाडौँ । धेरैलाई थाहा नहुन सक्छ - एन्ड्रोइड फोन पहिले नै एउटा शक्तिशाली भौतिक सुरक्षा चाबी (Physical Security Key) को रूपमा काम गर्न सक्छ । तर अधिकांश प्रयोगकर्ताले यो फिचरलाई सक्रिय गरेका हुँदैनन् ।

अहिलेको समयमा पासवर्ड मात्रै अनलाइन अकाउन्टहरूको सुरक्षाका लागि पर्याप्त हुँदैन् । एउटा कमजोर पासवर्ड धेरै ठाउँमा प्रयोग गर्दा अकाउन्ट ह्याक हुने जोखिम रहन्छ ।

तर बलियो र जटिल पासवर्डहरू सम्झिन गाह्रो हुन्छ । यसैको समाधानको रूपमा पासकी (Passkeys) र FIDO2 प्रमाणीकरण आएको छ । जसले पासवर्डको झन्झटलाई हटाउँछ ।

यसले कसरी काम गर्छ ?

यो प्रविधि क्रिप्टोग्राफीमा आधारित छ । यसमा दुईवटा चाबी अर्थात् साँचोको जोडी हुन्छ । एउटा प्राइभेट की (Private Key) - जुन तपाईँको फोनको सुरक्षित चिप (जस्तै गुगल पिक्सेलमा टाइटन एम-२ अथवा सामसङमा नक्स भल्ट भित्र लुकेर बसेको हुन्छ ।

अनि अर्को - पब्लिक की (Public Key) । यो चाहिँ वेबसाइटसँग शेयर गरिन्छ । जब तपाईँ लगइन गर्ने प्रयास गर्नुहुन्छ, वेबसाइटले एउटा च्यालेन्ज पठाउँछ । जसलाई तपाईँको फोनमा रहेको प्राइभेट कीले मात्र प्रमाणित गर्न सक्छ ।

यो प्राइभेट की कहिल्यै पनि तपाईँको फोनबाट बाहिर जाँदैन । जसले गर्दा यो अत्यन्त सुरक्षित हुन्छ ।

एन्ड्रोइड फोनलाई सेक्युरिटी की बनाउने तरिका

आफ्नो एन्ड्रोइड फोनलाई गुगल अकाउन्टको लागि सेक्युरिटी कि अर्थात् सुरक्षित चाबी बनाउन सबैभन्दा पहिला वेबमा आफ्नो गुगल अकाउन्ट लगइन गर्नुहोस् ।

 

अब Manage your account मा जानुहोस् र त्यसपछि Security & sign-in विकल्प छनौट गर्नुहोस् । 

 

 

अब तल स्क्रोल गरेर Passkeys and security keys मा क्लिक गर्नुहोस् । यहाँ तपाइँले पुनः आफ्नो पासवर्ड वा पुरानो सुरक्षा विधिबाट लगइन गर्नुपर्ने हुन सक्छ ।

 

 

अब अलि तल रहेको निलो रङको Create a passkey बटनमा क्लिक गर्नुहोस् ।

 

 

 

त्यसपछि Use another device विकल्प छनौट गर्नुहोस् । 

 

 

स्क्रिनमा एउटा QR कोड देखिनेछ, जसलाई आफ्नो एन्ड्रोइड फोनबाट स्क्यान गर्नुहोस् र फोनलाई पेयर (Pair) गर्नुहोस् । 

त्यसपछि स्क्रिनमा दिइएका निर्देशनहरू पालना गर्नुहोस् । अब तपाइँको फोनको बायोमेट्रिक्स (औँठाछाप वा अनुहार) वा स्क्रिन लक नै तपाईँको अकाउन्ट खोल्ने चाबी/साँचो बन्नेछ ।

कहिले प्रयोग गर्ने ? 

तपाईँले कुनै पनि नयाँ डिभाइसमा आफ्नो गुगल अकाउन्ट लगइन गर्दा Try another way मा गएर Use your passkey रोज्न सक्नुहुन्छ । त्यसपछि देखिने QR कोडलाई आफ्नो फोनबाट स्क्यान गरी बायोमेट्रिक्स मार्फत प्रमाणित गरेपछि लगइन सफल हुन्छ ।

यद्यपि YubiKey जस्ता भौतिक USB सेक्युरिटी कीहरू धेरै सङ्ख्यामा अकाउन्टहरू सुरक्षित राख्न वा फोनबाट अलग राख्न उपयोगी हुन सक्छन् । तर सामान्य प्रयोगकर्ताका लागि स्मार्टफोन नै पर्याप्त र सुविधाजनक छ । 

यद्यपि, केही प्रयोगकर्ताहरूले फोन हराएमा वा ह्याक भएमा हुन सक्ने जोखिमबारे चिन्ता व्यक्त गरेका छन् । तर समग्रमा परम्परागत पासवर्ड भन्दा यो विधि धेरै गुणा सुरक्षित र आधुनिक मानिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ १४:३६