५२० किमि रेन्ज र ‘सेल्फ-हिलिङ’ प्रविधिसहित नेपालमा इलेक्ट्रिक एसयूभी ल्याउँदै जीडब्लूएम
जेठ २०, २०८३ २१:२८
काठमाडौं । अटोमोबाइल कम्पनी जीडब्लूएम (ग्रेट वाल मोटर्स) ले नेपाली बजारमा नयाँ जेनेरेसनको इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । विश्वका १७० बढी देशमा बजार विस्तार गरेको यस कम्पनीले नेपालमा आफ्नो पछिल्लो एसयूभी ल्याउन लागेको हो ।
कम्पनीले हालसम्म उक्त मोडेलको नाम औपचारिक रूपमा घोषणा नगरे पनि यसका केही विशेषता खुलाएको छ । प्राप्त जानकारी अनुसार उक्त एसयूभीले एक पटकको फुल चार्जमा ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्नेछ ।
गाडीको एउटा विशिष्ट विशेषता यसको ‘पेन्ट टेक्नोलोजी’ हुने बताइएको छ । गाडीको बाहिरी सतहमा बहु-तह सुरक्षात्मक कोटिङ प्रयोग गरिएको छ । जसले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित (सेल्फ-हिलिङ) गर्न सक्ने क्षमता राख्दछ । यसले गाडीको चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत पुग्ने दाबी गरिएको छ ।
सुरक्षाका दृष्टिकोणले यो एसयूभी निकै सुसज्जित रहने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । यसमा सातवटा एयरब्याग, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा र १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यू प्रविधि जडान गरिएको छ । जसका माध्यमबाट चालकले गाडीमुनिको दृश्य समेत स्पष्ट देख्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
साथै, यसमा दुर्घटना न्यूनीकरणका लागि एईबी र एमईबी सुरक्षा प्रविधि समावेश गरिएको छ । त्यसैगरी, गाडीमा २० भन्दा बढी एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स (ADAS) सुविधा रहेको कम्पनीले उल्लेख गरेको छ ।
गाडीभित्र ‘कफी ओएस ३.० एआई’ (Coffee OS 3.0 AI) सिस्टमबाट सञ्चालित स्मार्ट ककपिट रहनेछ । चालकको सहजताका लागि भेन्टिलेसन सुविधासहित ६-तरिकाले विद्युतीय रूपमा मिलाउन मिल्ने प्रिमियम सिट, वन-टच कन्ट्रोल र सहरदेखि राजमार्गसम्मका लागि चारवटा स्मार्ट ड्राइभिङ मोड उपलब्ध हुनेछन् ।
कम्पनीले यस मोडेलको आधिकारिक घोषणा र थप विवरण चाँडै नै सार्वजनिक गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ २१:४२
