मेटाले ल्यायो एआई 'बिजनेस एजेन्ट', ग्राहक व्यवस्थापनदेखि उत्पादन बिक्रीसम्म सहयोग गर्ने
जेठ २१, २०८३ १०:५६
काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सले व्यवसायहरूलाई दैनिक कार्य सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यसहित एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले बुधबार 'मेटा बिजनेस एजेन्ट' सार्वजनिक गर्दै आफूलाई इन्टरप्राइज एआई बजारमा एक प्रमुख खेलाडीका रूपमा स्थापित गर्ने प्रयास गरेको हो ।
नयाँ उत्पादनले हालका व्यावसायिक मेसेजिङ सेवाहरूलाई थप विस्तार गर्दै “एजेन्टिक” क्षमताहरू प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ । मेटको एआई एजेन्टले व्यवसायको तर्फबाट क्यालेन्डर अपोइन्टमेन्ट बुक गर्ने र वस्तु तथा सेवाहरूको बिक्री पूरा गर्ने जस्ता कार्यहरू आफैँ गर्न सक्छ ।
मेटाका अनुसार ह्वाट्सएप र म्यासेन्जरमा १० लाखभन्दा बढी व्यवसायहरूले यसअघि नै यस्ता एजेन्टहरूका सुरुवाती च्याटबोट भर्सनहरू प्रयोग गरिरहेका छन् । यो नयाँ र शक्तिशाली भर्सन अब इन्स्टाग्राममा पनि थपिने र यसलाई विश्वभरका साना ठुला सबै आकारका व्यवसायहरूका लागि उपलब्ध गराइने मेटाले जानकारी गराएको छ ।
मेटाले एआई उपकरणहरूको इन्टरप्राइज मार्केटका लागि ओपनएआई, एन्थ्रोपिक र अल्फाबेटको गुगलसँग प्रतिस्पर्धा गर्ने महत्वाकाङ्क्षा राखेको देखिन्छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल एपहरूको व्यापक पहुँचलाई उपयोग गर्दै विज्ञापन तथा अन्य कार्यहरू एउटै प्रणालीमा केन्द्रित गर्न व्यवसायहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ ।
मेटाको एआई बिजनेस एजेन्टलाई व्यवसायहरूले सामाजिक सञ्जाल एपहरूमा आउने प्रश्नहरूको जवाफ दिन अनुकूलन बनाउन सक्नेछन् । एआई एजेन्टले व्यवसायको आफ्नै शैली (टोन) अपनाउँदै काम गर्ने र यसले प्रायः सोधिने प्रश्नहरूको उत्तर दिने, सम्भावित ग्राहक पहिचान गर्ने तथा आवश्यक परे जटिल प्रश्नहरूलाई मानव कर्मचारीतर्फ पठाउने जस्ता कार्यहरू गर्न सक्ने मेटाले जनाएको छ ।
साथै, एआई एजेन्टहरूले व्यवसायहरूको क्याटलगबाट उत्पादन सिफारिस गर्न र अपोइन्टमेन्ट बुक गर्न पनि सक्नेछन् । व्यवसायहरूले सुरुमा यो टुल निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन् भने आगामी महिनाहरूमा यसको लागि सशुल्क (पेड) सब्स्क्रिप्सन विकल्प पनि ल्याइने योजना रहेको मेटाले जानकारी गराएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८३ ११:६
