close

डिशहोमका पुराना सेट-टप बक्समा विश्वकप फुटबलको लाइभ नआउने, २ हजार तिरेर नयाँ लिनुपर्ने

टेकपाना टेकपाना

जेठ २४, २०८३ १७:३९

डिशहोमका पुराना सेट-टप बक्समा विश्वकप फुटबलको लाइभ नआउने, २ हजार तिरेर नयाँ लिनुपर्ने

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डिशहोमको डीटीएच प्रविधिमा केवल एचडी सेट-टप बक्स भएका ग्राहकले मात्र हेर्न पाउने भएका छन् । डिशहोमले हाल प्रयोगमा रहेका केही पुराना स्ट्यान्डर्ड डेफिनिसन (SD) सेट-टप बक्सहरूले विश्वकपको प्रसारण सपोर्ट नगर्ने जानकारी गराएको हो ।

यदि तपाईँको सेट-टप बक्सको पछाडिको भागमा DH-SD-0215 लेखिएको छ भने उक्त बक्समा विश्वकपको लाइभ प्रसारण आउने छैन । यसकारण पुराना बक्स भएका ग्राहकहरूले विश्वकप हेर्नका लागि आफ्नो सेट-टप बक्सलाई एचडीमा स्तरोन्नति (Upgrade) गर्नुपर्ने हुन्छ ।

कम्पनीले वारेन्टी अवधि बाँकी नभएका ग्राहकहरूका लागि दुई वटा विकल्प दिएको छ । कम्पनीको ग्राहक सेवा केन्द्रका अनुसार ग्राहकले ३,००० रुपैयाँ बराबरको रिचार्ज गर्दा नयाँ एचडी सेट-टप बक्स निःशुल्क प्राप्त गर्न सक्नेछन् । यदि रिचार्ज नगर्ने र केवल सेट-टप बक्स मात्रै रिप्लेस गर्ने हो भने १,९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने बताइएको छ ।

यस बाहेक ग्राहकले फिफा विश्वकप २०२६ हेर्नका लागि हिमालय स्पोर्ट्स् टेलिभिजनको ९९९ रुपैयाँ पर्ने छुट्टै सब्सक्रिप्सन समेत लिनुपर्नेछ । अर्थात् सेट-टप बक्स अपग्रेड गरेर मात्र पुग्दैन, विश्वकपका खेलहरू हेर्नका लागि तोकिएको थप शुल्क तिरेर च्यानल प्याकेज पनि खरिद गर्नुपर्ने हुन्छ ।

सेट-टप बक्स स्तरोन्नति र सब्सक्रिप्सन सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको डिशहोम डिलरसँग सम्पर्क गर्न वा टोल-फ्री नम्बर १६६०-०१-२२००० मा फोन गर्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ १८:२४