close

एमजी एस-६ को मूल्य २ लाखले बढ्यो, १ करोड ८० लाख पर्ने किया ईभी-९ को मूल्य भने स्थिर

टेकपाना टेकपाना

जेठ २५, २०८३ ८:४४

एमजी एस-६ को मूल्य २ लाखले बढ्यो, १ करोड ८० लाख पर्ने किया ईभी-९ को मूल्य भने स्थिर

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा लाग्ने करको संरचनामा परिवर्तन गरेसँगै नेपाली बजारमा ईभीको मूल्यमा उतारचढाव देखिन थालेको छ । नयाँ कर नीति अनुसार केही मोडेलको मूल्य बढ्न थालेको छ भने मौज्दातमा रहेका केही महँगा गाडीको मूल्य तत्कालका लागि यथावत् राखिएको छ ।

यसै क्रममा एमजी (मोरिस ग्यारेज) को आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी एस-६ मोडेलको मूल्य वृद्धि गरेको छ । बजेटअघि ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो मोडेलको मूल्य नयाँ बजेटपछि २ लाख रुपैयाँले बढेको हो । कम्पनीका अनुसार नयाँ भन्सार दर र स्वच्छ पूर्वाधार लगानी शुल्क लागु भएपछि आयातित एमजी एस-६ को बजार मूल्य ७१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

अर्कोतर्फ प्रिमियम ईभीको रूपमा परिचित कियाको ईभी-९ को मूल्य भने तत्काललाई नबढ्ने भएको छ । नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले १ करोड ७९ लाख ९० हजार रुपैयाँ मूल्य रहेको यो मोडेलको मूल्य स्थिर राखेको हो ।

कम्पनीका मार्केटिङ हेड विवेक लेखकका अनुसार बजेट आउनुअघि नै आयात गरिएको स्टक बाँकी रहेकाले तत्काल मूल्य नबढाइएको हो । "हामीसँग हाल ईभी-९ को पाँच वटा गाडी मात्र स्टकमा छन् र ती सबै पुरानो व्यवस्था अनुसार नै भित्रिएका हुन्," लेखकले भने, "नयाँ बजेटपछि हामीले नयाँ गाडी भित्र्याएका छैनौँ, त्यसैले मूल्य पुरानै कायम छ ।" कम्पनीले तत्कालै नयाँ ईभी भित्र्याउने योजना समेत नरहेको जनाएको छ ।

सरकारले यसअघि मोटर पावरका आधारमा लिँदै आएको करलाई प्रतिस्थापन गर्दै अब कारोबार मूल्य (सीआईएफ) का आधारमा भन्सार र सीआईआईएफ निर्धारण गरेको छ । नयाँ व्यवस्था अनुसार ईभीमा २० प्रतिशत भन्सार महसुल, २.५ देखि १३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार विकास शुल्क (सीआईआईएफ), ५ प्रतिशत सडक निर्माण दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ ।

५० लाख भन्दा मुनिका ईभीको मूल्य घट्ने र सोभन्दा बढी मूल्यका विलासी गाडीको मूल्य बढ्ने अनुमान गरिए पनि बजारमा स्टक र नयाँ आयातको आधारमा मूल्य समायोजन भइरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ ८:५१