भारतको सर्वम् एआईका सह-संस्थापक प्रत्यूष नेपाल आउँदै, सीटीओ रिट्रिटमा सवा २ घण्टाको प्रस्तुति दिने
जेठ २७, २०८३ ६:३४
काठमाडौँ । भारतको अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी सर्वम् एआईका सह-संस्थापक डा. प्रत्यूष कुमार नेपाल आउने भएका छन् । उनी फिनटेक अलायन्स नेपालले आयोजना गर्न लागेको सीटीओ रिट्रिट २०२६ मा सहभागी हुन काठमाडौँ आउन लागेका हुन् ।
प्रत्यूष कुमार र विवेक राघवनले अगस्ट २०२३ मा स्थापना गरेको सर्वम् एआई भारतको फुल-स्ट्याक सोभरेन एआई प्लेटफर्म हो । यो कम्पनीले जेनेरेटिभ एआई र फाउन्डेसनल एआई मोडेलहरूको विकासमा काम गर्दै आएको छ ।
विशेषगरी स्थानीय भाषा र आवश्यकतालाई सम्बोधन गर्ने गरी यसले Sarvam-30B र Sarvam-105B जस्ता आफ्नै एआई मोडेलहरू बनाएको छ । जसले २२ वटा भाषाहरूमा काम गर्न सक्छन् । कम्पनीले टेक्स्ट-टु-स्पिच, स्पिच-टु-टेक्स्ट, डकुमेन्ट डिजिटाइजेसन (Sarvam Vision) र अनुवाद जस्ता सुविधाहरू प्रदान गर्दछ ।
विश्वका प्रख्यात कम्पनीहरू एनभिडिया, एचसीएल टेक, लाइटस्पिड लगायतको ठुलो लगानी रहेको यो कम्पनी १.५ अर्ब डलर भ्यालुयसनसहित भारतको एआई युनिकर्न बन्ने दिशामा अग्रसर छ ।
चन्द्रागिरीमा हुनेछ सीटीओ रिट्रिट
फिनटेक अलायन्स नेपालले प्रविधि क्षेत्रका लिडरहरूलाई लक्षित गर्दै आयोजना गर्न लागेको सीटीओ रिट्रिट यही १२ देखि १४ जुन (३ दिन) सम्म सञ्चालन हुनेछ ।
काठमाडौंको चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना हुने यो कार्यक्रममा बैंक, वित्तीय संस्था, फिनटेक स्टार्टअप र डिजिटल रूपान्तरणको क्षेत्रमा काम गरिरहेका सीटीओ, सीईओ र एआई स्ट्राटेजी हेडहरू गरी ५० जना जतिको सहभागिता रहने बताइएको छ ।
रिट्रिटको पहिलो दिन अर्थात् १२ जुन, शुक्रबारका दिन प्रत्यूष कुमारले आफ्नो विशेष सत्र सञ्चालन गर्नेछन् । उनको प्रस्तुति दिउँसो ४:३० बजेदेखि साँझ ६:४५ बजेसम्म (सवा २ घण्टा) चल्नेछ ।
यसका साथै रिट्रिट अन्तर्गत प्रविधि, एआई र नेतृत्वसँग सम्बन्धित अन्य विभिन्न महत्त्वपूर्ण सेसनहरू पनि आयोजना हुनेछन् । जसमा रारा ल्याब्सका सह-संस्थापक तथा सीईओ मनोज घिमिरेको फिजिकल र क्यापिटल वनका साकिब हसनेन तथा चाइमका मनिष अग्रवालको भर्चुअल सेसन समेत रहेको छ ।
दोस्रो दिन जेनआई ल्याब्सका संस्थापक तथा सीईओ हिरा डंगोलको भर्चुअल सेसन, नामीका संस्थापक अध्यक्ष तथा अनुसन्धान वैज्ञानिक विशेष खनाल, भिलका संस्थापक तथा सीईओ दिलिप ढकाल र काठमाडौँ विश्वविद्यलयका प्राडा बालकृष्ण बलका छुट्टाछुट्टै फिजिकल सेसन रहेका छन् ।
कार्यक्रममा सहभागी हुनका लागि आयोजकले विभिन्न प्याकेजहरू तय गरेको छ । जसमा भ्याट बाहेक साधारण तर्फ प्रतिव्यक्ति ५० हजार, फिनटेक अलायन्सका सदस्यलाई प्रतिव्यक्ति ४० हजार र एउटै संस्थाका २ जना सहभागी हुँदा ८५,००० रुपैयाँ पर्नेछ ।
यो शुल्कमा कार्यक्रमको पूर्ण पहुँच, खाना, वर्कशप सेसन, नेटवर्किङ र प्रमाणपत्र समेत समावेश छन् ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्ति वा संस्थाहरूले सिधै यहाँ क्लिक गरी गुगल फाराम मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ ६:३४
