काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसको रोजगारी खोस्ने नभई उल्टै थप रोजगारी सिर्जना गर्ने बताएका छन् । पेरिसमा भएको एक कार्यक्रममा बेजोसले अत्यन्तै आशावादी अभिव्यक्ति दिँदै मानवताको भविष्यमा प्रविधिले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको रोयटर्सले उल्लेख गरेको छ ।
“एआईले मानिसलाई अनावश्यक बनाइदिनेछ भन्ने चिन्ता धेरै मानिसहरूमा छ, जसमा धेरै बुद्धिजीवीहरू पनि पर्छन्,” बेजोसले भने, “म यस दृष्टिकोणसँग पूर्ण रूपमा असहमत छु । बरु, मेरो विचारमा एआईले श्रमिक अभाव सिर्जना गर्नेछ।” विश्वव्यापी कम्पनीहरूले एआईमा ठुलो लगानी गरेपछि हजारौँ रोजगारी कटौती गरिरहेको समयमा बेजोसको यो अभिव्यक्ति आएको हो ।
विशेषगरी प्रविधि कम्पनीहरूले एआईलाई तीव्र रूपमा अपनाउन थालेपछि धमाधम कामदार कटौती गरिरहेका छन् । अमेरिकी रोजगारदाताहरूले गत मे महिनामा ९७ हजार बढी रोजगारी कटौतीको घोषणा गरेका थिए । जसमध्ये ४० प्रतिशत कटौती एआईसँग सम्बन्धित रहेको ग्लोबल आउटप्लेसमेन्ट फर्म च्यालेन्जर, ग्रे एण्ड क्रिसमसको प्रतिवेदनले जनाएको छ ।
बेजोसको कम्पनी अमेजनले नै सन् २०२५ को अक्टोबरमा १४ हजार र गत जनवरीमा १६ हजार गरी कूल ३० हजार कर्मचारी कटौती गरेको थियो । जसमध्ये करिब आधा रोजगारी एआईकै कारण कटौती गरेको रोयटर्सले उल्लेख गरेको छ । रोयटर्सको हालैको सर्वेक्षणले अमेरिकाको आधा जनसङ्ख्यालाई एआईको बढ्दो प्रभावले आफू वा आफ्नो परिवारका कसैको रोजगारी गुम्न सक्ने डर रहेको देखाएको थियो ।
करिब २५० अर्ब डलर सम्पत्तिका मालिक तथा विश्वको चौथो धनी व्यक्ति बेजोसले मानिससँग गर्नका लागि अनन्त कुराहरू रहेको तर अहिले विभिन्न अवरोधका कारण सीमित भएको बताएका छन् । तर ती अवरोधहरू अब एआईले कम गर्ने उनको तर्क छ । बेजोसले सकारात्मक दृष्टिकोण प्रस्तुत गरे पनि उनको कम्पनीका सीईओ एन्डी जेसीले भने एआई उपकरणहरूको बढ्दो स्वचालनका कारण कर्पोरेट रोजगारीहरू घट्ने बताएका थिए ।
पछिल्लो अध्यावधिक: असार ४, २०८३ ७:४२
