close

पासवर्डको सट्टा सेल्फी भिडिओ पठाएर गुगल अकाउन्ट लगइन गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

साउन ९, २०८३ १४:२८

पासवर्डको सट्टा सेल्फी भिडिओ पठाएर गुगल अकाउन्ट लगइन गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । गुगलले आफ्ना प्रयोगकर्ताको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै नयाँ फिचर सार्वजनिक गरेको छ । यससँगै अब प्रयोगकर्ताले गुगल अकाउन्ट लगइन गर्न वा पासवर्ड बिर्सिएर अकाउन्ट लक भएको अवस्थामा ‘सेल्फी भिडिओ’ को प्रयोग गर्न सक्नेछन् ।

गुगल अकाउन्टमा रहेका महत्त्वपूर्ण तस्बिर, ईमेल र डकुमेन्टको सुरक्षाका लागि कम्पनीले नयाँ साइन-इन विकल्प थपेको हो । यदि प्रयोगकर्ता आफ्नो अकाउन्टबाट बाहिरिएको खण्डमा वा नियमित प्रयोग गर्ने फोन वा कम्प्युटर उपलब्ध नभएको अवस्थामा यो सेल्फी भिडिओ फिचर सहयोगी बन्ने कम्पनीले जनाएको छ ।

सेल्फी भिडिओ सेटअप गर्ने प्रक्रिया सरल छ । यसका लागि सबैभन्दा पहिले तपाईं यो फिचर प्रयोग गर्न योग्य हुनुहुहन्छ कि हुनुहुन्न भन्ने जाँच गर्नुपर्ने हुन्छ ।

त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । योग्य भएको खण्डमा प्रयोगकर्ताले आफ्नो डिभाइसको क्यामेरामा हेरेर स्क्रिनमा दिइएको निर्देशन अनुसार टाउकोलाई विभिन्न कोणमा घुमाउनुपर्ने हुन्छ ।

यसरी सेटअप गरिसकेपछि भविष्यमा लगइन गर्दा समस्या परेमा पुनः सेल्फी भिडिओ खिचेर अकाउन्टमा एक्सेस पाउन सकिन्छ । गुगलले नयाँ खिचिएको भिडिओलाई पहिले सुरक्षित गरिएको भिडिओसँग तुलना गरेर वास्तविक प्रयोगकर्ता पहिचान गर्नेछ ।

गुगलका अनुसार यो फिचर प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको हो । प्रयोगकर्ताको सहमतिमा मात्र यो सेल्फी भिडिओ रेकर्ड र सुरक्षित भण्डारण गरिनेछ । प्रयोगकर्ताले चाहेको समयमा आफ्नो गुगल अकाउन्टबाट यसलाई हटाउन सक्नेछन् ।

यो भिडिओ अकाउन्ट लगइन गर्ने प्रयोजनका लागि मात्र प्रयोग हुनेछ । यसका साथै यो भिडिओ डेटाबेसमा सुरक्षित रहँदा ‘इन्क्रिप्टेड’ अवस्थामा रहने भएकाले सुरक्षित हुने जनाइएको छ ।

यस फिचरको सुरक्षाका मल्टिफ्याक्टर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले नक्कली तस्बिर वा भिडिओ (जस्तै: डिपफेक) मार्फत हुनसक्ने अनाधिकृत पहुँचलाई रोक्न मद्दत गर्नेछ । लगइन गर्दा प्रयोगकर्तालाई लाइभ भिडिओ प्रमाणित गर्नका लागि सामान्य शारीरिक हलचल गर्न लगाइनेछ । शङ्कास्पद लगइन प्रयास पहिचान गर्न गुगलले आफ्ना नियमित सुरक्षा मापदण्ड पनि लागू गर्ने जनाएको छ ।

पासकी र रिकभरी कन्ट्याक्ट जस्ता सुरक्षित र लचिलो विकल्पकै निरन्तरताका रूपमा यो नयाँ फिचर ल्याइएको गुगलको भनाइ छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८३ १६:२४