close

एलन मस्कको स्वघोषणा: ‘म अब ट्रिलियनर रहिनँ, भूतपूर्व भएँ’

टेकपाना टेकपाना

साउन ९, २०८३ २२:०

एलन मस्कको स्वघोषणा: ‘म अब ट्रिलियनर रहिनँ, भूतपूर्व भएँ’

काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्कले आफ्नो ‘ट्रिलियनर’ (१० खर्ब डलरभन्दा बढी सम्पत्ति भएको व्यक्ति) को उपाधि गुमाएको स्वीकारेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै मस्ले आफू ट्रिलिनयर नभएको उल्लेख गरेका हुन् । 

शनिबार एक्स पोस्टमार्फत उनले ‘फर्मर ट्रिलिनियर’ भनेर पोस्ट राखेका छन् । ब्लुमबर्ग बिलियनियर्स इन्डेक्सको तथ्याङ्क अनुसार स्पेसएक्सको सार्वजनिक शेयर निष्कासनपछि विश्वकै पहिलो ट्रिलियनर बन्न सफल भएका मस्कले दुई हप्ताभन्दा कम समयमै उक्त ऐतिहासिक स्थान गुमाउनुपरेको हो । 

 

केही समयअघि मस्कको कुल सम्पत्ति १.४५ ट्रिलियन (१४ खर्ब ५० अर्ब) अमेरिकी डलरको उचाइमा पुगेको थियो, जुन हाल घटेर ७१९ अर्ब डलरमा खुम्चिएको छ ।

ब्लुमबर्गको दैनिक मूल्याङ्कन सूचकाङ्क अनुसार गत जुन महिनाको मध्यतिर १.११ ट्रिलियन डलर रहेको उनको सम्पत्ति पछिल्लो गिरावटपछि ७१९ अर्ब अमेरिकी डलरमा झरेको छ ।

यति ठुलो नोक्सानीका बाबजुद मस्क अझै पनि विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा शीर्ष स्थानमै कायम छन् र उनका निकटतम प्रतिस्पर्धीभन्दा उनी निकै अगाडि छन् ।

स्पेसएक्सको आईपीओ र सम्पत्तिको उतारचढाव

एलन मस्कले १२ जुनमा आफ्नो रकेट र स्याटलाइट निर्माण कम्पनी स्पेसएक्सलाई नास्डाक स्टक एक्सचेन्जमा सूचीकृत गराउँदै इतिहास रचेका थिए । बहुप्रतिक्षित यस आईपीओको प्रारम्भिक मूल्य प्रतिशेयर १३५ डलर तोकिएको थियो भने पहिलो दिनको कारोबार १५० डलरमा खुलेको थियो ।

यस सूचीकरणसँगै स्पेसएक्सको बजार मूल्याङ्कन १.७७ ट्रिलियन डलर नाघेको थियो । कम्पनीमा मस्कको स्वामित्व करिब ४२ प्रतिशत रहेकाले उनको कागजी सम्पत्ति तत्कालै १ ट्रिलियन डलरभन्दा माथि पुगेको थियो । लगानीकर्ताको तीव्र उत्साहका कारण जुन १६ सम्ममा स्पेसएक्सको शेयर मूल्य बढेर प्रतिशेयर २२५.६४ डलरको उच्च विन्दुमा पुग्यो, जसले मस्कको व्यक्तिगत सम्पत्तिलाई १.३२ ट्रिलियन डलरको उचाइ दियो ।

किन भयो गिरावट ? 

यो बजारवृद्धि लामो समय टिक्न सकेन । प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको दीर्घकालीन नाफा र उपयोगितालाई लिएर लगानीकर्तामा संशय उत्पन्न भयो । एआई पूर्वाधारमा भइरहेको ठुलो पूँजीगत खर्च र उच्च ब्याजदरका कारण अमेरिकी प्रविधि क्षेत्रका शेयरमा ठुलो गिरावट आयो । यसको धक्का एनभिडिया, इन्टेल र एएमडी जस्ता स्थापित प्रविधि कम्पनीलाई पनि पऱ्यो ।

तर, यसको सबैभन्दा ठुलो असर स्पेसएक्सको शेयरमा देखियो । जुनको मध्यको तुलनामा कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले घटेर ११५.०६ डलरको आसपासमा झऱ्यो ।

२२ जुनको एकै दिन स्पेसएक्सको शेयर १६ प्रतिशतले गिरावट आउँदा मस्कको व्यक्तिगत ब्यालेन्स शिटबाट करिब २४० अर्ब डलर गुमेको थियो । यसको भोलिपल्टै उनको इलेक्ट्रिक गाडी उत्पादक कम्पनी टेस्लाको शेयरमा पनि ६ प्रतिशतको गिरावट आयो । टेस्लामा मस्कको करिब १२ प्रतिशत हिस्सेदारी छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८३ २२:०